चन्द्रागिरी केवलकारमा डाउन सिन्ड्रोम बालबालिका

मदनकृष्ण सिलवाल
काठमाडौँ, कार्तिक २४ । पर्यटन वर्ष २०२० को पूर्वसध्यामा धार्मिक तथा पर्यटकीय क्षेत्र चन्द्रागिरीको अनुवान्सिक अवस्था डाउन सिण्ड्रोम भएका शारीरिक रुपमा अशक्त ३५ जना बालबालिकाहरु भ्रमण गरेका छन् ।

नेपाल डाउन सिन्ड्रोम संघको आयोजना तथा चिन्द्रागिरी हिल्स प्रा.लि.को सहकार्यमा ती बालबालिकालाई चन्द्रागिरी केवलकारमार्फत् भालेश्वर मन्दिरको दर्शन तथा दृश्यावलोकन गरेका हुन् । सो अवसरमा बालबालिकासहित उनीहरुका अभिभावकहरु, डाउन सिण्ड्रोम संघका अध्यक्ष डा. ललिता जोशी, महासचिव रोशन प्रधानाङ्ग लगायतको सहभागिता रहेको थियो ।
अनुवान्सिक अवस्था डाउन सिण्ड्रोम भएका शारीरिक रुपमा अशक्त बालबालिकाहरुलाई चन्द्रागिरी हिल्सको दृश्यावलोकन गराई मनोरञ्जन प्रदान गर्दै उनीहरुलाई थप हौसला र आत्मबल प्रदान गर्ने उद्देश्यका साथ भ्रमण कार्यक्रम आयोजना गरिएको डाउन सिण्ड्रोम संघका अध्यक्ष डा. ललिता जोशीले बताइन् ।

के हो डाउन सिन्ड्रोम ?
डाउन सिन्ड्रोम रोग नभई अवस्था हो । डाउन सिन्ड्रोम भएका बालबालिकामा क्रोमोजोम बढी हुन्छ । चिकित्सकका अनुसार मानव शरीरमा ४६ वटा क्रोमोजोम हुन्छन् । डाउन सिन्ड्रोम भएका बच्चामा ४७ वटा क्रोमोजोम हुन्छन् । नेपालमा वार्षिक १ हजार ३३ डाउन सिन्ड्रोम अवस्थाका बालबालिकाको जन्म हुने गरेको छ ।
डाउन सिन्ड्रोमको अवस्था अनुहारको विशेष लक्षण र शारीरिक एवं बौद्धिक कमजोरीबाट पहिचान हुन्छ भने रगतको जाँचबाट यसलाई पुष्टि गर्न सकिने डाउन सिन्ड्रोम संघकी अध्यक्ष डा. ललिता जोशीले बताइन् ।