“बान्नोमा” नव दम्पतिको बिछोडको कथा (भिडियो )

सन् ९० को दशकको झझल्को दिने आफ्नो पहिलो म्युजिक भिडियो “ तिम्रो रुपले ” बाट सोर्ता र दर्शकको राम्रो प्रतिक्रिया र चर्चा कमाउन सफल गायक सम्राट न्यौपानेले आफ्नो दोस्रो म्युजिक भिडियो “ बान्नोमा ” सार्वजनिक गरेका छन । नेपाल आइडल सिजन २ मा टप २० सम्म आफ्नो स्थान बनाउन सफल गायक न्यौपानेले उक्त रियालिटी शोमा आफ्नो गायन कलाले धेरैको मन जितेका थिए ।

बान्नो शब्द नेपालको पश्चिम भेग तिर बोलिने बोलीचालीको शब्द हो जसको अर्थ पर्खाल हुन्छ । थिम्याटिक भर्सनको “ बान्नोमा “ बोलको गीत बाध्यताले बिदेशिनु परेका लाखौ नेपालीहरुमा समर्पित छ । म्युजिक भिडियोमा भर्खरै बिवाह गरेका एक मायालु नव विवाहित दम्पतिको कथा देख्न पाइन्छ । विवाह पश्चात जिम्मेवारी र दायित्व बढ्ने हुदा श्रीमतीको दिमागले श्रीमान विदेश गए हुन्थ्यो भन्ने लाग्छ । उनले तेस्मा भोलिको सुन्दर भविश्य देख्छिन । तर दिलले भन्छ श्रीमान विदेश नगए हुन्थ्यो । विदेश जाने दिन निश्चित भए पछि तेसअघिको रात जुन श्रीमान श्रीमतीले छट्पटि ,अनिदो र रोएर बिताउछन त्यो दृश्य भिडियोमा एकदम कारुणिक तरिकाले प्रस्तुत गरिएको छ । विदेश जानको लागि गरगहना बेच्नु पर्ने अवस्था , श्रीमतीले श्रीमानलाई एयर पोर्टमा बिदाई गर्दाकोअवस्थाका दृश्य सबै मन छुने छ । छुट्टिए पश्चात दुबैले संगै बिताएका सुन्दर पलहरु श्रीमतीले घरको बान्नोमा र श्रीमानले प्लेनको सिटमा बसेर सम्झना गरिएको देख्न सकिन्छ । साईली गीत पछिको यो म्युजिक भिडियोलाई एक उत्कृस्ट गीत मान्न सकिन्छ ।

गीतमा स्वर र संगीत सम्राट न्यौपानेको रहेको छ भने सम्राट स्वयमले गीतको संगीत संयोजन गरेका हुन । गीतका मनछुने शब्द सरोज केसीले लेखेका हुन । भिडियोमा सम्राटका आफ्नै दाजु सौरभ न्यौपाने र भावना उप्रेतीको जिवन्त अभिनय देख्न सकिन्छ । पवन सुस्लिङ्गले छायांकन गरेको भिडियोलाई पवन स्वयमले सम्पादन गरेका हुन । सौरभ न्यौपानेको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो । गीत र भिडियो बाट आफु निकै आशावादी रहेको र दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको दुई दाजुभाई सौरभ र सम्राटले बताएका छन ।