११ वर्षीय भाइरल बनेकी कमला को हुन् रु यसरी भएकी थिइन् भाइरल (भिडियो सहित)

काठमाडौँ
नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ । छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन् । सानै उमेर भएपनी देश तथा विदेशमा नाम चलेका ख्याति प्राप्त गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता देखेर सबै लोकपारखी दर्शक तथा स्रोता अचम्ममा परेका छन । सुमधुर स्वर र नम्र स्वभावकी बाल गायिका कमला घिमिरेको स्वरको देश विदेशका कार्यक्रममा पनी पस्कनको लागी आयोजकहरुलाई भ्याई नभ्याई भएको छ ।

बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा करिव ११ बर्ष पहिले विपन्न परिवारमा भएको थियो । ९ वर्षको उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन उनी । सानै उमेर भएपनी गहन शब्द लाई सरल भाषामा टुक्का जोडेर गाउन सक्ने क्षमताबाट त्यो बेला पनी गाउँमा सनसनी नै फैलिएको थियो ।

विद्यालयमा आयोजना गरिने अतिरिक्त प्रतियोगीतामा भाग लिई सबैको प्रशंसा हौसला र पोजिसन जित्ने उनको कला नै थियो । गाउँमा हुने चाडपर्व, विवाह लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन्।

परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन् तर पनी कमला नेपाली गीत संगीत त्यसमा पनी लोक गीतमा दोहोरी गाउन आफना अग्रजका अगाडि तम्तयार भै हाल्छिन ।

सामान्य ज्याला मजदुरी र घरायसी काम गरेरै बिहान बेलुकाको छाक टार्दै आइरहेको कमलाका आमा देवकी घिमिरेले छोरीले दुःख र संघर्षको गीत गुन्गुनाइ रहने बताइन ्। ‘छोरीको प्रगति देखेर खुसी लागेको छ’, खुसीको आशु निकाल्दै उनले भने, ‘भगवानले छोरीको प्रतिभालाई चिन्यो।’ अवको दिनमा सहयोगी हरुको साथ पाउनेमा आफु आशावादी रहेको उनले बताईन ।

कमला गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुन्छिन् ।मध्यमस्तरको परिवारमा जन्मिएकी कमला दुखैले हुर्किइन्। बिहे गरेको तीन वर्षमा श्रीमान सम्पर्क बिहीन हुनु र परिवारको आर्थिक भार आफ्नो काँधमा आउनुको पीडा कमलाकी आमा देवकी जिन्दगीभर भुल्न चाहदिनन् ।गरिवीको चपेटा त परिवारमा थियो नै आफुलाई जिवनभर साहरा दिने श्रीमानले पनी छोडेर गएपछी जिवन देखी हरेश नखाइ आफनी छोरीको मुख हेरेर सुन्दर सपना सजाउने दृड संकल्पका साथ अगाडि बढेको उनकी आमा बताउछिन ।

ार्थिक अवस्था धान्न धौँ धौँ परिरहेको बेला श्रीमानको अत्तोपत्तोले दिनहरु आशुको सहारामा गुजारिन् । सासुससुरा, नन्दआमाजु छरछिमेकीको हेला, छिमेकीको तिखो बाण सहदै पाँच वर्ष गुजारिन् । एक वर्षको काखे छोरीलाई जेनतेन दुःख गरेर हुकाईन् । घरको पाँचवर्षपछि सम्पर्कमा आएका श्रीमानले अर्को श्रीमती ल्याए ।

सासु ससुरासँग छुट्टै बस्दै आइरहेका देवकीले उनकी आमाले २०७२ बैशाखमा गएको भूकम्पपछि अनुदानको रकमले घर बनाइन्। अहिले छोरा र छोरीसँगै बस्दै आइरहेकी छन्। आमाको माया र साथले उनलाई निरन्तर प्रगति पथमा लम्काइरहेको छ ।

नीलकण्ठ नगरपालिकाको वडा नं १२ स्थित पशुपति माद्यमिक विद्यालयमा अध्ययनरत छिन्। भविष्यमा के बन्ने भने खास लक्ष्य छैन। उनले अहिलेका चर्चित कलाकार प्रकाश सपुत, अन्जु पन्तको नाम सुनेको बताइन । सानैदेखि आमाको संघर्ष नियालिरहेकी उनले गीतका टुक्काहरु पनि त्यस्तै खाले बनाउने गर्छिन् ।

यसरी बनिन भाइरल कमला

भदौ ७ गतेको दिन। नीलकण्ठ नगरपालिका वडा नं १२ रिजालडाँडामा तीज विशेष कार्यक्रम तथा प्रतियोगीताको रौनक थियो ।गाउँ आसपासबाट तिज मनाउनको लागी नारीहरुको ठुलो जमघट रहेको थियो । प्रगतिशील महिला समूहले आयोजना गरेको तीज गीत प्रतियोगीता हेर्न गाउँभरिका मानिसहरु भेला भएका थिए । प्रतियोगीता सुरु भयो, कार्यक्रममा दोहोरीका भाकाहरु गुन्जन थाल्यो । केही बेरमा प्रतियोगिता सकियो र निर्णय पनि सुनाइयो। कार्यक्रमको अन्तिम भइसकेको थियो।

कार्यक्रममा निर्णायकको भूमिका निर्बाह गरिरहेका रेडियो धादिङ १०६ मेगाहर्जमा कार्यरत संचारकर्मी तथा गायक अमृत सापकोटा समक्ष कसैले दोहोरी गीत गाउने प्रस्ताव राखे। सापकोटाले सहजै स्वीकार गरे । एकैछिनमा रातो र गुलाबी रंग मिसिएको लेहेङ्गा लगाएकी सानी बहिनी स्टेजमा पुगिन्। माइक समातिन् र दोहोरी गीत गाउन थालिन ।

‘आकाशमा चिल घुम्यो फनन, कान्छा तिम्रो नाम के हो भनन, गलबन्दी च्यातियो तिम्ले तानेर‘’ ११ वर्षीय कमला घिमिरेको यो प्रस्तुतिले कार्यक्रममा सहभागी सबैको ध्यान तान्यो । सहभागीले आफूसँग भएको मोबाइल निकालेर फोटो, भिडियो खिच्दै गीतमा रम्न थाले। करिब १६ मिनेट जति कमला र अमृतको दोहोरी चल्यो ।

गीतमा माया प्रिती, दुःखसुख तथा सामाजिक परिवेश झल्केको थियो। बालिकासँग दोहोरी खेलेका सापकोटालाई गीतमा उत्तर दिन हम्मे हम्मे परेको थियो।

कार्यक्रम सकियो, सबै आ–आफ्नो घर लागे। सानी बहिनीले दमदार प्रस्तुति दिएपछि संचारकर्मी सापकोटाले आफ्नो मोबाइल खिचेको भिडियो, फोटो हेरे। भोलिपल्ट आफ्नै युटुब च्यानलमा अपलोड गरिदिए र सामाजिक संजालमा सेयर गरे । अतः सानै उमेरमा दमदार र मार्मिक शब्दहरुले सबैको मन जित्यो। केही दिनमै उनले गायकको गीत युटुबको टेन्डिङमा पर्यो। चारैतिर कमलाको खोजी हुन पुगेको सापकोटाले बताए।

सामाजिक संजाल फेसबुक, युटुबमा कमला भाइरल भएकी छन्। उनको गीतको प्रशंसा गर्नेहरु धेरै भेटिएको संचारकर्मी सापकोटाले बताए। ‘सानै उमेरमा दोहोरी खेलेर सबैलाई टक्कर दिने क्षमता बहिनीमा छ’, उनले भने, ‘अवसर पाए उनको भविष्य सुन्दर छ।’ आफूले राखेको भिडियोले कमला बहिनीको प्रतिभालाई चिनाउन पाउँदा खुसी र हर्षित भएको उनले सुनाए। अहिले कमलाको लाइभ दोहोरी भिडियो हेर्ने लाखौं दर्शक छन्। उनको कला हेर्न काठमाडौँदेखि नै कलाकारहरु धादिङका आउने गरेका छन् ।

हेर्नुहोस भिडियो ।