अघिलो चलचित्र भन्दा फरक कथामा चौलागाईं को अन्तरे

निर्देशक सत्यराज चौलागाईँले नयाँ फिल्म बनाउने भएका छन् । यसअघि ‘अनुराग’ को क्याप्टेनसिप सम्हालेका उनले ‘अन्तरे’ नामक फिल्म बनाउने भएका हुन् । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । समसामयिक कथामा फिल्म बन्नेछ ।

निर्देशक सत्यराज अहिले फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् । चौलागाईँ भन्छन्, ‘स्क्रिप्ट तयार भएर केही कलाकारहरु अनुबन्ध भइसकेका छन् । तर, मुख्य पात्रहरु छनौट भइसकेका छैनन् । यो अलिक चरित्रात्मक फिल्म भएकोले त्यही किसिमको चरित्र निर्वाह गर्ने कलाकारसँग छलफल भइरहेको छ’ ।

निर्देशक सत्यराज विगत १२ बर्षदेखि निरन्तर नेपाली फिल्ममा सक्रिय छन् । उनले दर्जनौँ फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका छन् । उनले निर्देशनमा डेब्यू गरेको फिल्म ‘अनुराग’ गत वर्षको असोजमा प्रदर्शनमा आएको थियो । ‘अन्तरे’ लाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाड्ने उनले प्रतिवद्धता जनाएका छन् ।