किन भनिन सुष्माले “मेरो छोराले देखेको सुनको मुर्ती May 1“

“मेरो छोराले देखेको सुनको मुर्ती May 1“
मलाई जाने मन त पिटिक्कै थिएन, तर हामीले पहिल्यै गरेको बाचा पुरा गर्न गएकी थिए उनको बिहेमा..
उनी अर्थात मेरो बाल सखी ‘अर्पणा’,, हामी लगभग सङै जन्मेका फरक यती थियो मलाई घर पछाडिको खुल्ला माटोमा मेरी आमाले जन्माएकी थिइन भने उनी शहरको ठुलो अस्पतालको सुरक्षित कोठामा.. यो हिसाबले माटोमा सब्से पहिलो अधिकार मेरो हुनु पर्ने जन्मिदै मैले माटो छोएकी तर मेरो नाममा मेरो बुवा,आमाको नाममा एक टुक्रा माटो पनि थिएन.. अर्पणाले जन्मिदा माटो छोएन तर मेरो आँखाले देख्न सकेको माटो जती उस्कै थियो अर्थात उस्को बुवाको.. म पनि उनिहरुकै नामको माटोमा जन्मेकी थिए..
आर्थिक र सामाजिक हिसाबको साईनोमा हामी मालिकको छोरी र मजदुरको छोरी थियौ तर हाम्रो बालसुलभ साइनोमा केवल साथी मात्र बराबरी हाम्रो मित्रतामा कुनै तल-माथिको हैसियत थिएन एउटै माटोको र एउटै ढुङ्गाको भाडाकुटी खेल्दै हुर्क्यौ जब उनी पढ्नलाई बिदेस गइन र म त्यही माटोमा भाडाकुटिको सट्टा धान रोप्न थाले अनी आँफैले देखे हामी बिच हैसियतको कती ठुलो पर्खाल….

पढाई सकेर उनी लण्डन बाट भर्खरै बिहेको लागि फर्केकी थिइन.. गाउ छोड्ने बेलामा उनले नै एक-अर्काको बिहेमा चै जसरी पनि आउने भनेर बाचा प्रस्तव गरेकी थिइन र मैले पनि स्विकारेकी थिए तर मेरो बिहेमा उन्लाई बोलाउन सकिन उनी बिदेस भएको कारण, तर उनी यही नै भएको पनि के गर्न बोलाउने र? बुवा-आमाले आफ्नै हैसियतको केटा खोजेर दिनुभयो म चुपचाप गए.. हामी मनले श्रीमान-श्रिमती भएर बस्न थाल्यौ अरुलाई भोज नख्वाइ गरेको बिहेलाई बिहे गरेको भन्ने कि नभन्ने म सधैं दोधार हुन्छु…
उन्ले आफ्नो बाचा भुलेकी रहेनछिन आउने बित्तिकै मेरो घर पत्ता लगाएर एकजना मान्छेलाई निम्तो दिन पठाएछिन जसरी पनि आउनु भनेर.. यत्रो बर्ष बिदेशमा बसेर पनि याद गरेर आफ्नो बिहेमा बोलाँउदा नगएर उस्को अपमान गर्न चाहिन..
गाउमा इट्टाभट्टा खुलेको धेरै भएको छैन.. धेरै जसो मान्छेहरुले प्रदुषणको कारण देखाएर बन्द गराउने कोशीसमा छन तर हाम्रो लागि स्वास्थ्य भन्दा पेटको सवाल छ.. श्रीमान आजकाल त्यही काम गर्न पाएकोले टाढा शहरतिर काम खोज्न जानु परेको छैन… आज पनि श्रीमान त्येतै काममा गएको हुँदा ५ बर्षको छोरालाई पनि साथमा लानु पर्ने भयो..

अस्ती दसैंमा किनेको सुतिको सारी लाए खुम्चिएर गुजुमुज्ज भएको रहेछ हातले तानेर तन्काउने कोशीस गरे झनै अरठ्ठ भएर बेरिन्थ्यो त्यो बाहेक अरु लाउन लायक नयाँ लुगा थिएनन.. छोरालाई पनि त्यही सरकारी स्कुलको ड्रेस हाफ्पेनन्ट र सर्ट लाइदिए. सर्टको टाक खुस्किएको रहेछ हतार हतार सिलाइदिए…
आजकाल उनको परिवार बजारमा नै सरेकोले उतै उपहार किन्छु भनेर अस्ती आँफैले इटाभट्टामा काम गरेर कमाएको ज्याला ३०० पोल्टोमा बोकेर छोरा हातमा दोर्याउदै हिंडे..

ढिलो भईसकेको थियो बजार भरी आफ्नो प्यारि बाल सखिको लागि उपहार दिन लायक समान ३०० मा भेटउनै मुश्किल पर्‍यो.. बल्ल-बल्ल एउटा सानो चिटिक्कको गुडिया किने उस्लाई सानोमा सार्है मन पर्ने प्याजे रङको लुगा लाएको गुडिया..

घर बाहिर रोड देखिनै सजिसजावट गरिएको स्वर्ग जस्तै झिलिमिली जताततै फुलै-फुल घर भित्र सम्म रातो कार्पेट ओछ्याइेको रङ्गिचङ्गी बिजुलिको प्रकाश त्यो भन्दा पनि राम्रा सजिएका मान्छेहरु स्वर्गबाट झरेका परिहरु जस्तै मेरा आँखाहरु तिर्मिराइरहेका थिए.. भित्र जान पनि सङ्कोच लागिरहेको थियो मैलो खुट्टाले टेक्दा कार्पेट नै मैलिन्छ जस्तो त्य्ही बाट फर्कुम कि जस्तो पनि लाग्यो तर यहाँ सम्म अाइसके पछी एकचोटी बेहुलीलाइ भेटेर त जाउ भन्ने सोचेर बिस्तारै भित्र छिरे सबै मान्छेहरु आ-आफ्नै सुरमा थिए. कसैले पनि मलाई देखेन,हेरेर पनि देख्न चाहेन.. आगनमा पाल टागेर मान्छे बस्नलाई कुर्सी हरु प्रशस्त राखिदिएका थिए.. कङ्कोच् मान्दै एउटा कुर्सिमा बसे कोही कोइले मलाई देखेर हाँस्दै हेर्थे कसैले नाक खुम्चाउथे.. धेरै जसो चै अमेरिकाको ग्रिनकार्ड होल्डर वाला बेहुलाको चर्चा गर्नमा ब्यस्त थिए,म भने अर्पणा कतिबेला बाहिर निस्कान्छ भन्ने प्रतिक्षामा अरुतिर ध्यान नदीइ भित्र- भित्र सङ्कोज र लाजले पिल्सिदै बसिरहे.. मेरो छोरा पनि एकनासले रमिता हेरिरहेको थियो शायद उस्ले पनि यती राम्रा मान्छेहरु र झिलिमिली घर देख्न पाएको थिएन…
सुनको मुर्ती !! ममी उ त्य्हा हेर्नुस्न सुनको मुर्ती ममी! छिटो हेर्नुस्न मेरो कपिको खोलमा भाको सरस्वती माता जस्तै तर सुनै सुनको साच्चिकैको चल्ने मुर्ती!!!
एक्कासी मेरो छोराको चिच्चाहटले मेरो एकोहोरो ध्यान भङ्ग भयो.. उपस्थित मान्छेहरु हामीतिर क्वार्क्वार्ती हेरिरहेका थिए झन लाज लाग्यो छोरा अझै मेरो हात झट्काउदै कराइरहेको थियो,, उस्ले देखाएको तिर हेरे बेहुला बेहुली भित्र बाट निस्कदै रहेछन र बेहुली ले लगएको सुनै सुनको गहनाले पुरिएकी अनी मेकअपले गर्दा ट्याक्कै फोटोमा देखिने देबिहरु जस्तै देखिएकी रहेछ..
धानको एक बाला पनि नबोकेकी त्येस्तो शुख सयलमा हुर्केकी केटीले त्एतिको सुनको भारी कसरी बोक्न सकेकी होला? उस्को माया लाग्यो फेरी तुरुन्तै मनमा लाग्यो शायद यस्लाई पो बिहे भएको भनिन्छ लोग्ने स्वास्नि हुनु मात्र बिहे होइन रहेछ मेरो त अझै बिहे नै भएको रहेनछ… मनमा बिभिन्न कुराहरु खेलिरह्यो
बेहुली सङ्ग आँखा जुझ्यो तर उस्ले नचिनेको जस्तो हेयको नजर फ्याकी.. ठुल्ठुला राम्रा-राम्रा मान्छेहरु बाट घेरिएकी सुनले बेरिएकी बेहुलीलाइ मेरो प्यारि सखी भनेर अङ्गाल्न जान पनि सकिन..

बेहुली अली नजिक आएपछी मेरो छोरा झन उफ्रिदै कराउन थाल्यो सुनको मुर्ती हिड्यो मेरो कपिको खोलमा भाको सरस्वती माता चल्यो ममी हेर्नुन कस्तो राम्रो!!!
को हो यो कस्ले बोलाको? हाम्रो बारेमा खैला बैला हुन थाल्यो कसैले चिनेको आफन्त हो भन्न् सकेन म आँफै पनि चिनाउन सकिन सबैका आँखाहरुमा हामी आमाछोरा रमिता हुन थाल्यौ…
बिस्तारै कराइरहेको छोरालाई हातमा घिसार्र्दै तान्दै तान्दै पछाडि पाइलाहरु सारे… मजदुर एकता जिन्दाबद!! मजदुर दिवस जिन्दाबाद चर्को आवजले होस आयो बिहे घर देखी पछाडि सरेको पाइलाहरु कती चाडो मेन रोडमा पुगिसकेछौ..
एक हुल मान्छेहरु झन्डा ब्यानर पम्पेल्ट बोकेर नाराबाजी गर्दै हिडिरहेका थिए.. मजदुर दिवश जिन्दाबाद!!
भिड छेवैमा अाइपुगे पछी मनमा के जोस चल्यो हातमा बोकेको गुडिया फ्यात्त भिडको बिचमा फालिदिए.. नारा लाउन ब्यस्त कसैले देखेनन उनिहरुका खुट्टाहरु गुडिया माथि हिंड्न थाले हेर्दाहेर्दै किचिमिची भएर धुलो भयो.. मन केही हलुका भए जस्तो भो …..
शायद मजदुर दिवशमा एउटा मजदुरले मालिकलाई उपहार दिन शोभा दिदैन.. र मैले त्यो सुन्दर उपहार मजदुर दिवशलाई चढाएकि छु..
तर शायद अब त्यो ३०० रुपेको उपहार ले ३ छाक भोकै बस्नुपर्नेछ…
-शुष्मा रुपाबुङ
(May 1-2018)

पानी नचल्ने सार्कीको हात, चुनावमा औंठाछाप चाहिं चल्ने ? यो पनि पुरा पढ्नुहोस

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.