एक महिना तेलमा डुबाएको सियो ४६ बर्षिए श्रेष्ठको जिब्रोमा छैटौं पटक रोपियो (भिडियो सहित)

भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाउनुभएको छ ।
मध्यपुर थिमी ८ बोडेका ४६ वर्षीय श्रेष्ठले आइतबार छैठौं पटक जिब्रो छेडाउनुभएको हो । यसअघि २०६२ देखि ०६५ सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका श्रेष्ठले २०७४ सालमा पनि जिब्रो छेडाउनुभएको थियो । जिब्रो छेडाउका लागी बुद्धकृष्ण बाग श्रेष्ठ तीन दिन भोकै बस्नुभएको थियो भने करिब १ फिट लामो सियोलाई एक महिना देखि तेलमा डुबाइ राखिएको थियो । जिब्रँे छेड्नु अघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी लगाई जिब्रो छेड्नु अघि शक्ति पिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती बोकी बोडे नगर परिक्रमा गरिएको थियो ।
दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक,धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ । किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो । भीमदत्तले अब उप्रान्त बोडेमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भने झैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंवदन्ती छ ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.