बलात्कारबाट गर्भवती भएकी महिलाको झुण्डाएर हत्या प्रयास गरे !

धरान-  बलात्कारबाट गर्भवती भएकी एक महिलालाई दुई युवकले झुण्ड्याएर हत्या गर्ने प्रयास गरेका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुति विभागमा उपचार भइरहेको छ ।

वेहोस अवस्थामा प्रतिष्ठानको प्रसुति विभागमा फागुन २८ गते पुर्‍याइएकी ति महिलाको गर्भबाट चिकित्सकले करिव नौ महिनाको मृत बच्चा निकालेका थिए । बच्चा जम्मा एक किलो चार सय ग्रामको रहेको बताइएको छ ।

उनी फागुन २५ गते प्रकाशपुरबाट हराएकी थिइन् । उनी हराएको दुई दिनपछि मोरङको भाउन्नेस्थित जंगलमा घाँस दाउराका लागि जंगलमा आएका स्थानीय महिलाले वेहोस अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेर उद्धार गरिएको थियो । प्रहरीले बलात्कारमा संलग्न दुई युवकको नाम सार्वजनिक गरेको छैन । उनीहरुको खोजतलास भइरहेकाले नाम सार्वजनिक नगरेको जनाइएको छ ।

सलको पासो बनाएर जंगलमा घिसार्दै फलामको रडले घाँटी र हातमा प्रहार गरेपछि रुखमा झु्ण्याउने बेलामा घाँसदाउराका लागि जंगल पुगेका महिलाले देखेपछि हत्या गर्न खोज्ने दुवै जना भागेका थिए ।

मोरङको बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी कट्वालका अनुसार जंगल गएका स्थानीय महिलाले वेहोस अवस्थामा गर्भवती महिला देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । तत्कालै प्रहरी पुगेर एम्बुलेन्समा राखेर धरान ल्याइएको थियो । सलले बाँधेर घिसार्दा घाँटीमा चोट लागेको छ । रडले घुच्चुकमा प्रहार गरेकाले टाउको सिधा हुँदैन ।

मुस्किलले बोल्न सक्छिन् । चिकित्सकहरुले पीडित महिलाको प्रसुति समस्या ठीक भएपनि घाँटी र हातको उपचार जारी रहेकाले थप केही दिन अस्पतालमै राखिने जनाएको छ ।

पीडित महिलाले करिव आठ महिना अघि बलात्कार गरेपछि पनि पटकपटक बलात्कार गरिएको बताएकी छिन् । उनको १४ र ४ बर्षकी छोरी र ९ बर्षका छोरा छन् । उनको पति छ बर्षदेखि सम्पर्कमा छैनन् । पीडित तीन सन्तानसहित बाबुआमासंगै माइतमा बस्दै आएकी छन् ।

‘म अर्काको होटलमा भाँडा वर्तन माझेर परिवारको पालन पोषण गर्दै आएकी थिएँ । उनीहरुले मलाई जवजस्ती बलात्कार गरे । उनीहरुले त्यसपछि फेरिफेरि पनि बलात्कार गरे । बलात्कार गरेको विषयमा अरुलाई भनेमा हत्या गरिदिने धम्की दिएपछि मैले डर त्रासको कारण कसैलाई भन्न सकिन’ पीडित महिलाले भनिन् ।

मोरङको बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी कट्वालले ज्यान मार्ने उद्योग र पेटको गर्भ मारेको अभियोगमा अपराधीहरुलाई पक्राउ गरेर मुद्दा चलाइने बताए । प्रहरीको अनुरोधमा प्रतिष्ठानले उपचार निशुल्क गरिदिएपनि औषधीमा खर्च भएको १९ हजार रुपैयाँ तिर्न सकेका छैनन् ।

साभार:कान्तिपुर