मिसेस नेपाल यूके आस्था म्युजिक भिडियोमा

लण्डन । मिसेस नेपाल यूके आस्था जोशी अब म्युजिक भिडियोमा पनि देखिने भएकी छन् । पछिल्लो समय सफल म्युजिक भिडियो निर्देशकका रुपमा स्थापित लण्डनस्थित सञ्चारकर्मी कुशल श्रेष्ठले आस्थालाई म्युजिक भिडियोमा अभिनय गराउंदैछन् ।
चलचित्र प्रदर्शन हुनुअघि नै निकै लोकप्रिय बनेको चलचित्र शत्रुगतेको रुपै मोहनी गीतका गायक टंक बुढाथोकीको स्वर तथा संगीत रहेको किन हेर्यौ फर्किएर बोलको गीतमा बन्ने म्युजिक भिडियोमा आस्थाले अभिनय गर्न लागेकी हुन् ।
भिडियोमा आस्थासंगै सो गीतका गीतकार समेत रहेका सर्वेन्द्र अधिकारीले अभिनय गर्दैछन् । विगत १० वर्षदेखि बेलायतमै बस्दै आएका र अध्यापन पेशामा संलग्न अधिकारीको शब्दमा रेकर्ड भएको यो पहिलो गीत हो ।

लण्डन फेसन हाउसको आयोजनामा गत वर्ष आयोजित पहिलो मिसेस नेपाल यूकेकी विजेता आस्थाको पनि यो पहिलो म्युजिक भिडियो हुनेछ ।
हुन त यसअघि पनि केहि भिडियोहरुको लागि प्रस्ताव नआएका होइनन, आस्थाले नेपालीपत्रसंग भनिन्, तर यसपटक राम्रो प्रोजेक्ट आएपछि गरौं न भन्ने सोंच बनाएकी हुं ।
रुपै मोहनी गीतबाट चर्चा कमाएका गायक बुढाथोकीको गीतका लागि निर्देशक श्रेष्ठले प्रस्ताव गरेपछि आफु उत्साहित बनेको समेत आस्थाले सुनाइन् ।
सानैदेखि कला क्षेत्रसंग आकर्षित रहंदै आएकी आस्था नृत्यमा पनि पारंगत छन् ।
निर्देशक कुशल श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको यो म्युजिक भिडियोमा सहनिर्देशन विष्णु श्रेष्ठ तथा सहछायांकन विकेशराज बस्नेतको रहेको छ ।
भिडियोको केहि भाग छायांकन भइसकेको छ । बांकी छायांकन तथा सम्पादनको काम पूरा गरी छिट्टै भिडियो सार्वजनिक गरिने निर्देशक श्रेष्ठले बताएका छन् ।