मङ्गल र शनि एउटै राशिमा – के हुन्छ यसको प्रभाव ?


आज म एउटा विशिष्ट ज्योतिषीय परिस्थितिको चर्चा गर्ने जमर्को गर्दैछु । फलित ज्योतिषमा खासगरी क्रूर ग्रहका रूपमा परिचित दुईवटा ग्रहहरू एउटै कोठामा यस पटक फाल्गुन २८ गतेदेखि आगामी वैशाख २६ गतेसम्म युतिसम्बन्ध बनाएर बस्दैछन् । ती दुईवटा ग्रहहरू हुन् मङ्गल र शनि । समयक्रममा प्रत्येक २ वा तीनवर्षको अन्तरालमा यस्तो संयोग भइरहेको हुन्छ । शनि कर्म, निष्ठा र न्याय सम्पादनका निमित्त प्रतिष्ठित ग्रह हो । शरीरमा शनिको श्रम, हड्डी, नसा, आन्तरिक ऊर्जा र जिम्मेबारीबोधमा अधिकार हुन्छ । शनिश्चर ग्रह गतवर्ष मंसिरदेखि नै धनुराशिको क्षेत्र वरपर भ्रमणशील छ । सामान्यतया एउटा राशिको क्षेत्रभित्र शनिश्चर ग्रहको ३० महिनाको अवधि (अढाइवर्ष) बसोबास हुने गर्दछ । त्यस्तै मङ्गल ग्रहले शरीरमा उत्साह, क्रोध, आत्मबल, स्वाभिमान, राष्ट्रभक्ति, अनुशासन, कम्मर, पिठ्युँ, दाँत आदिमा अधिकार जमाएको हुन्छ । यसको राशिचक्रको भ्रमण १८ महिनामा सकिन्छ र एउटा राशिमा यसको समय करिब ४५ दिनको हुने गर्दछ । धनुराशिमा अगाडिदेखि नै शनिको उपस्थिति त छँदैथियो, अहिले मङ्गल ग्रह पनि धनु राशिमा नै प्रवेश गरेको परिस्थिति छ । यी दुई ग्रहको महासंयोग हुनु फलितज्योतिषीहरूका नजरमा विशेष आकर्षणको समय मानिन्छ ।

फलित ज्योतिषमा गोचर कुण्डलीमा कुनै दुईवटा ग्रहको मिलन हुनुलाई विशेष अवस्थाका रूपमा वर्णन गरिएको पाइन्छ । उदाहरणका लागि शनि र राहुको मिलन हुनुलाई नागमणि योग भन्ने गरिन्छ । यस्तो परिस्थितिमा अन्तरिक्षमा पनि नकारात्मक प्रभाव पर्दछ, जसको प्रत्यक्ष र परोक्ष प्रभाव आमजनजीवनमा पनि हुने गर्दछ । ज्योतिषशास्त्रमा यस्तो परिस्थितिमा ग्रहयुद्ध, उल्कापात, वाहन दुर्घटना, विमान दुर्घटना, भूकम्प, भूस्खलन, शरीरमा चोटपटक आदि नराम्रो फल प्राप्त हुन्छ भनी उल्लेख गरिएको पाइन्छ । त्यस्तै शनि र केतुको युति सम्बन्ध हुँदा विस्फोट योगको सिर्जना हुन्छ, यस्तो परिस्थितिमा आँधीहुरी, ठूलठूला आगजनी, भयङ्कर बमबारी, युद्ध, आतंकवादी क्रियाकलापमा बृद्धि र बमविस्फोट हुन गई धेरै धनजनको क्षति हुने गर्दछ । यी दुबै परिस्थिति मङ्गल र शनिको मिलन हुँदा घटित हुन सक्ने आकलन ज्योतिषशास्त्रले गरेको पाइन्छ । मनुष्यहरूले दुर्घटनाजन्य प्रकोप र मृत्युतुल्य कष्ट सहनु पर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा कुनै ठूला व्यक्तित्वको निधन हुने, आतंकजन्य ठूलाठूला घटना हुन आदि योगको सिर्जना यस योगबाट उत्पन्न हुने गर्दछ । किनभने मङ्गल ग्रह आगोको कारक हो भने शनिश्चर पापकर्मको कारक हो । पाप र आगोको मिलन हुनु नै यस्ता विपरीत परिस्थितिको जनक बन्न पुग्दछ । आज म तपाईंलाई सावधान र सचेत बनाउन खोज्दैछु र मेष राशिदेखि मीन राशिसम्म भएका संसारभरिका मानिसहरूलाई यस संयोगले के दुस्प्रभाव प्रदान गर्न सक्दछ र त्यसबाट जोगिन के गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्ने जमर्को गर्दैछु । यसबाट आममानिसले सचेतता अपनाउने अवसर प्राप्त गर्नेछन् र यी विषयवस्तुहरू उपर विज्ञ ज्योतिषीहरूले आफ्ना अनुभव र दृष्टिकोणको सकारात्मक प्रयोग गरी यस विषयमा थप अनुसन्धान र विवेचना गर्नुहुनेछ भन्ने आशा लिएको छु । अब तपाईंको राशिअनुसार मङ्गल र शनिश्चरको यस युतिले तपाईंलाई कहाँ र जीवनको कुन आयाममा प्रभावित तुल्याउन सक्दछ ? यस विषयलाई ध्यानपूर्वक सुनेर त्यसलाई उपयोगसमेत गर्नुहुनेछ भन्ने विश्वास पनि गरेको छु । साथै मैले यहाँ बताएका कुरा तपाईंको जीवनमा घटित भएमा वा नभए पनि त्यसको जानकारी मैले प्राप्त गरेमा त्यसको थप अनुसन्धान र विश्लेषण गरी आम जनसमुदायको हितमा ज्योतिष विद्यालाई प्रयोग गर्न मलाई सघाउ पुग्ने आशा गरेको छु ।
म आज केही नकारात्मक सम्भाव्यतालाई मात्र बताउन गइरहेको छु । कतिपय व्यक्तिले ज्योतिषीहरूले डर र त्रास सिर्जना गरी व्यक्तिगत लाभ लिने गर्दछन् भन्ने गरेको पनि पाइन्छ । कतिपय ज्योतिषीले त्यसैलाई आफ्नो आजीविका र धनार्जनको विषय बनाई ठगी गरेका उदाहरण पनि भेटिन्छन्, पनि । तर म के अनुरोध गर्दछु भने ज्योतिष दैवी विषय हुँदाहुँदै पनि यो भौतिक जगतसँग सम्बद्ध विज्ञान पनि हो । त्यसैले फलादेश सुन्नुहोस्, जीवनमा ती घटना र अवसर आउँछन् वा आउँदैनन् विचार गर्नुहोस् र यदि तपाईंले कुनै लाभ वा हानि ब्यहोर्नु परेको छैन भने छलफल र चर्चाको विषय बनाउनु होस् ।
अब मङ्गल र शनिको मिलनबाट व्यक्तिव्यक्तिमा पर्ने प्रभावको चर्चाको क्रम मेष राशिबाट प्रारम्भ गरौ :-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
तपाईंको राशिस्वामी र अष्टम भावको मालिक मङ्गल ग्रह हो भने कर्म र लाभस्थानको मालिक शनिश्चर ग्रह हो । यी दुबै ग्रहको तपाईंको भाग्यस्थान मानिने धनु राशिमा मिलन हुँदैछन् । अष्टमेश र एकादशेशको युति तपाईंको भाग्यस्थानमा छ । यो घर पिताको घर हो । यस युतिले तपाईंको भाग्यलाई अवरोध गर्दैछ, तर भाग्यको स्वामी बृहस्पति पनि अहिले आठौं भावमा बक्री अवस्थामा रहने छ । त्यसैले यस युतिले तपाईंका पिता वा पितृतुल्य परिवारका पुरूष सदस्यको स्वास्थ्यस्थिति यस अवधिमा चिन्ताकारक बन्न सक्छ । उहाँलाई श्वासप्रश्वास, छाती वा दाँतका समस्या देखिनसक्छन् । लड्ने, चिप्लने वा दुर्घटनामा पर्ने सम्भावना पनि हुनेछ । ससुराली भाव पनि नवौं भाव नै भएकाले तपाईंले देवरजेठाजु वा सालाजेठानका बारेमा पनि अशुभ समाचार सुन्नुपर्ने हुनसक्छ । कतिपय हुनै पर्ने काममा अवरोध र बाधा सिर्जना हुनाले मानसिक तनाव र चिडचिडेपन आफैंमा पनि बढ्न सक्छ । आफू स्वयंले हातहतियार र चोटपटकको दुष्प्रभाव पनि सहनु पर्ने हुन्छ । त्यसबाहेक यस वेलामा मेष लग्न बनाएर जन्मिएका बच्चाहरूमा आमजीवनमा यी समस्या आइरहन सक्नेछन् । उसले पितृसुख र ससुरालीसुखबाट विमुख हुनुपर्ने परिस्थितिका साथमा जन्म लिएको मानिने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बृष राशि हुनेहरूका लागि यो संयोग आठौं भाव अर्थात मृत्युस्थानमा हुँदैछ । तपाईंको सातौं र बाह्रौं भावको मालिक मङ्गल ग्रह हो भने भाग्य र कर्मको मालिक शनिश्चर ग्रह हो । विगत एक वर्षदेखि शनिश्चर ग्रह आठौं भावमा बसेर अढैयाको प्रभाव देखाउँदै भाग्यका मार्गमा अवरोध गरि आएको थियो । अब मङ्गल ग्रह पनि यस भावमा आउनाले तपाईंका लागि यो समय अझ पेचिलो र अप्ठ्यारो बनाउने सङ्केत छ । यस प्रभावले तपाईं स्वयं चोटग्रस्त हुने, कम्मर र ढाडमा समस्या आउने, सवारीको दुर्घटनामा पर्ने, आत्मबलमा कमी आउने, गुदा (मलद्वार) का रोगव्याधि देखिने, शल्यक्रिया गर्नुपर्ने परिस्थिति आउने, आँखामा समस्या देखापर्ने र अप्ठ्यारामा पर्ने सम्भावना देखिन्छ । यस समयमा बृष लग्नमा जन्मिएका बालबालिकाको स्वास्थ्यपक्ष कमजोर बन्नेछ, आयुमा नै प्रश्नचिह्न लाग्नसक्छ, दीर्घजीवन भए पनि पारिवारिक सुखबाट वञ्चित हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मिथुन राशिबाट तपाईंको वैवाहिक सुख र दाम्पत्य जीवन प्रदान गर्ने घर सातौं भावमा यो महासंयोग हुँदैछ । घरपरिवारमा झैझगडा र किचलोको सङ्केत गर्दै यो युतिले साझेदारी र पार्टनरसिपमा पनि समस्या उत्पन्न गरेको देखिन्छ । पति वा पत्नीमा मानसिक समस्या वा रोगव्याधि देखिन सक्छन् वा पहिले देखि नै पतिपत्नीमा खटपट चलिरहेको छ भने यस अवधिमा पारपाचुके (डिभोर्स) हुने परिस्थिति पनि आउन सक्छ । साझेदारीमा कुनै काम गर्दै हुनुहुन्छ भने अचानक ठूलाठूला समस्या देखा पर्ने वा ठूलो ठगीमा पर्ने सम्भावना हुन्छ । त्यस्तै यस समयमा मिथुन लग्नमा जन्मिएका बालबालिकाको वैवाहिक सम्बन्धमा नकारात्मक असर पर्नेछ । छैंटौं भावको स्वामी मङ्गल र अष्टम भावको शनि दुबैको सातौं भावमा उपस्थिति भएकाले बहुविवाह गर्नु पर्ने बाध्यता सिर्जना हुनेछ । ती बच्चाहरू रिसाहा, चकचके, हिंस्रक, जिद्दी हुनेछन् । सातौं भावसमेत मारक स्थान भएकाले तिनको शरीरमा चोटपटकको भण्डार नै हुने गर्छ भन्ने फलादेश गर्न सकिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कर्कट राशि हुनेहरूका लागि यो योग छैंटौं भावमा सिर्जना हुँदैछ । कुण्डलीमा छैंटौं भावबाट ऋण, चोट र रोगव्याधिको आकलन गर्ने पद्धति छ । त्यसैले यस अवधिमा कुनै ऋण लिनुपर्ने परिस्थिति सिर्जना हुन सक्छ । शरीरमा कुनै दीर्घरोग देखा पर्नसक्छ । दादखाज, लुतो, चिलाउने, विफर, डण्डीफोर आदि छालाजन्य रोगव्याधिको प्रभाव शरीरमा देखापर्न सक्छ । आगोले पोल्ने र सानातिना चोटपटकको प्रकोपमा पर्न सक्नुहुन्छ । शत्रुपक्ष हाबी हुन्छन्, मुद्दामामिला सुरू हुने वा चलिरहेका मुद्दामामिलामा जोखिम बढ्ने सम्भावना हुन्छ । सन्ततिगृहको स्वामी मङ्गल र मृत्युस्थानको मालिक शनिश्चर छैंटौं भावमा रहेको हुँदा सन्तानका पक्षबाट पनि तपाईंले चिन्तित बन्नु पर्ने हुनसक्छ । यस अवधिमा कर्कट लग्नमा जन्मिएका बालबच्चालाई आगो र चोटपटकको भय हुनेछ । तिनले भविष्यमा सन्ततिको सुखमा बाधा ब्यहोर्नु पर्ने हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सिंह राशिबाट पाँचौं भावमा यो योगको सिर्जना भएको छ । यस भावबाट शरीरको पेट, पाचनप्रणली, गर्भ, प्रेमसम्बन्ध, पढाइलेखाइ आदिको विवेचना हुने गर्दछ । त्यसैले यस राशिका कुनै स्त्री गर्भवती छन् भने तिनले गर्भमा रहेको शिशु र आफ्नो व्यक्तिगत स्वास्थ्यप्रति सचेत हुनु अनिवार्य छ । प्रेम सम्बन्धमा दूरी बढ्ने वा प्रेमीप्रेमिकाको विछोड हुने परिस्थिति बन्नेछ । यस समयमा सिंह लग्नमा जन्मिएका बालबच्चाहरूको भविष्यमा सन्तान प्राप्तिमा कठिनाइ हुने छ, प्रेमजीवन सफल हुन सक्दैन र तिनमा निष्ठूरता र क्रूरता स्वभावका रूपमा देखा पर्नसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तपाईंको राशिबाट यो योग मातृसुख प्रदान गर्ने चतुर्थ भावमा सिर्जना भएको छ । त्यसैले आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्छ । घरैमा बस्ने कन्या राशिका जाततकहरूले किसिमकिसिमका समस्या र परिस्थिति ब्यहोर्नु पर्ने हुन्छ तर विदेश वा प्रवासमा एकाकी जीवन बिताइरहेका कन्या राशिका जातकहरूलाई खासै प्रभाव पर्नेछैन । कन्या राशिका व्यक्तिहरूले यस समयमा कुनै घरघडेरी वा जग्गाजमिनमा लगानी गर्नु राम्रो हुँदैन । त्यस्तै नयाँ वाहन वा मोटर खरिद गरेमा नोक्सान ब्यहोर्नु पर्ने हुन्छ । त्यसबाहेक अड्डाअदालत वा थानाकचहरी धाउनु पर्ने बाध्यता पनि सिर्जना हुनेछ । यस समयमा कन्या लग्नमा जन्मिएका बालबालिकाको मातृसुखमा बाधा हुने छ । जीवनको लामो कालखण्ड घरबाहिर बिताउनु पर्ने हुन्छ । धेरै ठाउँमा बसाइ सरिरहनु पर्ने बाध्यता सिर्जना भइरहन्छ वा यिनीहरूले अधिकतम समय डेरामा बिताउनु पर्ने हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तपाईंको राशिबाट यो योग तेस्रो भावमा बनेको छ । यो घरलाई पनि मारक स्थान भनी ज्योतिषशास्त्रमा व्याख्या गरिएको पाइन्छ । यो भावबाट दाजुभाइ र बन्धुबान्धवको सुखको आकलन हुने गर्दछ । त्यसैले यस योगले तपाईं स्वयंका अतिरिक्त दाजुभाइमा दुर्घटना र चोटपटकको सम्भावना देखिन्छ । दाजुभाइका बीचमा अंशमा वा पैतृक सम्पत्तिमा विवादको सम्भावना देखिने छ । सामाजिक अपजश वा अपमानको सम्भावना पनि हुनेछ । साथीभाइ टाढिन सक्छन् । तुला लग्नमा यस अवधिमा जन्मिने बालबच्चाहरूको स्वास्थ्यस्थिति कमजोर बन्नेछ । दाजुभाइको सुखमा कमी आउने छ । सामाजिक यश सम्मान र प्रतिष्ठा पाउन उसले निकै संघर्ष गर्नुपर्ने परिस्थितिको सम्भावना हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दोस्रो भाव अर्थात धनधान्य र करकुटुम्बको सुख दिने भावमा तपाईंको राशिबाट मङ्गल र शनिश्चरको मिलन हुँदैछ । त्यसैले यस अवधिमा तपाईंले सम्पत्ति परिचालनका क्रममा ठूलो नोक्सानी ब्यहोर्नु पर्ने हुनसक्छ । चोरी, डकैती हुनसक्ने र पैसा वा धनमाल हराउने सम्भावना पनि हुनेछ । चेलीबेटी र कुटुम्बजनका तर्फबाट पनि अशुभ समाचारको आगमन हुनेछ । आँखा पाक्ने वा आँखामा कुनै रोग देखा पर्नसक्छ । तेस्रो र छैटौं भावको मालिक धनस्थानमा भएकाले सम्पत्ति र साझेदारीमा विवाद र कलहको योग आउने गर्दछ । बृश्चिक लग्न बनाएर यस अवधिमा जन्मिने बालबच्चाले जीवनमा धनसम्पत्तिको अभाव ब्यहोर्नु पर्ने हुन्छ । चेलीबेटीको सुखमा कमी आउने छ । तिनको आँखामा गम्भीर समस्या उत्पन्न हुनसक्छ । ससुराली र मावलीको सुख पनि तिनले पाउने छैनन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धनु राशिका जातकहरूका लागि मध्य साढेसातीको प्रकोप त छँदैथियो, त्यसमाथि तपाईंको शिरमा बाह्रौं भावको मालिक मङ्गल ग्रहले समेत प्रवेश गरेको अवस्था देखा परेको छ । त्यसैले यस अवधिमा आर्थिक पक्ष कमजोर बन्ने सङ्केत छ । शरीरमा किसिमकिसिमका समस्या देखा पर्ने छन् । चोटपटक र दुर्घटनाको योग छ, खासगरी कम्मर, खुट्टा र हड्डीमा समस्या देखा पर्न सक्छन् । बाध्यताका खर्चमा बृद्धि हुनेछ । यस लग्नमा यस अवधिमा जन्मिएका बच्चाहरूले भविष्यमा दाम्पत्य सुखमा कमी पाउने छन्, तिनको जन्मपछि घरमा पैतृक सम्पत्तिको बेचबिखन वा नोक्सानीको सम्भावना हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मकर राशिको बाह्रौं भावमा मङ्गल र शनिको युति भएको छ । शनिश्चर तपाईंको राशिस्वामी भएकाले तपाईंले बन्धनमा पर्नु पर्ने, मुद्दामामिला चल्दैछ भने जेलयात्रा पनि हुनसक्ने सम्भावना हुन्छ । व्यवहारिक समस्यामा अनायासै खर्च बढ्ने सङ्केत छ । तपाईंको राशिमा केतु ग्रह र त्यसका छेउछाउमा क्रमशः दोस्रो भावमा सूर्य र बाह्रौं भावमा मङ्गल र शनि बसेको छ, त्यसैले स्वास्थ्यस्थितिमा पनि गम्भीर असर पर्नसक्छ, मानसिक समस्या र चिडचिडेपनाले नराम्ररी पिरोल्न सक्छ, तपाईं डिप्रेसनको शिकार बन्न सक्नुहुन्छ । आँखामा पनि समस्या उत्पन्न हुनसक्छ । यस अवधिमा यस लग्नमा जन्मिएका बालबालिकाले धनधान्यको अभाव र पारिवारिक सुखको कमी भोग्नु पर्ने हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
तपाईंको राशिको मालिक शनिश्चर ग्रह मङ्गल ग्रहसँग मिलन भई लाभस्थानमा उपस्थित भएको छ । तेस्रो भावको मालिक मङ्गल र बाह्रौं भावको मालिक शनिश्चर यसरी एकै ठाउँमा बसेको हुँदा तपाईंले यस अवधिमा सामाजिक साख र सम्मान गुमाउनु पर्ने हुनसक्छ । दाजु वा परिवारका ज्येष्ठ पुरूषको स्वास्थ्यस्थितिमा गम्भीर असर पर्नसक्छ, दुर्घटना वा चोटपटकको सम्भावना हुनेछ । हुनै लागेका काम वा मुखैमा आएको धनधान्यको नोक्सानी वा रोकछेक हुने सम्भावना देखिन्छ । यस राशिका गर्भवती स्त्रीले पनि सचेतता अपनाउनु राम्रो हुनेछ । तर भाग्यबलमा कमी आउने छैन, केही लाभमूलक सकारात्मक कामहरू पनि हुनेछन् । सामान्यतया यस लग्नमा यस अवधिमा जन्मिएका बालबच्चाहरूमा नकारात्मकताका तुलनामा सकारात्मक फलहरू नै बढी हुनेछन्, यद्यपि आगो र चोटपटकको सम्भावना भइरहने हुन्छ । यो प्रकोप उसको पिता वा दाजुमा समेत देखा पर्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कर्मक्षेत्रमा मङ्गल र शनिको युति भएको छ । तपाईंको राशिबाट एघारौं र बाह्रौं भावको मालिक शनिश्चर ग्रह र धनस्थान एवं भाग्यस्थानको मालिक मङ्गल ग्रह हो । त्यसैले पेसा, व्यवसाय र रोजगारीका क्षेत्रमा यस युतिले नकारात्मक प्रभाव पार्ने सम्भावना हुन्छ । पिताको वा पितृतुल्य व्यक्तित्वमा रोगव्याधिको सम्भावना हुन्छ । हाकिम र पितासँग वैमनस्य बढ्ने छ, पैतृक सम्पत्तिको बेचबिखन हुने वा विवाद र किचलोको सम्भावना पनि हुनेछ । यस लग्नमा यस राशिमा जन्मिएका बालबच्चाहरू परिश्रमी र मिहिनेती हुन्छन् । सानै उमेरमा तिनले व्यवहारिक दायित्व र जिम्मेबारी वहन गर्नुपर्ने हुन्छ । पिताको सुखमा कमी हुनेछ, पैतृक सम्पत्तिको योग कमजोर बन्ने देखिन्छ ।
आज मैले नराम्रो कुरा मात्र भनें भनेर नरिसाउनु होला । हाम्रो काम नै राम्रो र नराम्रोको विश्लेषण गर्ने भएकाले कहिले राम्राराम्रा कुरामात्र गर्नुपर्ने हुन्छ, भने कहिले नराम्रा र अप्रिय कुरा पनि बताउनु पर्ने हुन्छ । वास्तवमा दुई किसिमका क्रूर ग्रहहरूको मिलन हुँदा अधिकतम नराम्रो प्रभाव मात्र प्राप्त हुने सम्भावना हुन्छ । व्यक्तिमा मात्र होइन, आम जनजीवन र राजनीतिमा नै यस युतिले सकारात्मक फल दिन सक्दैन । तपाईंहरूले आगामी दिनहरूमा वाहन र विमान दुर्घटना, आगजनी, अप्रत्याशित प्राकृतिक प्रकोप आदि देख्न पाउनु हुनेछ । विश्वका र देशका अग्रज, दिग्गज वा उच्चपदस्थ व्यक्तिको अचानक मृत्यु हुने सम्भावना पनि हुन्छ ।
अब म यस युतिको प्रकोपबाट जोगिने केही उपायको वर्णन गर्दछु । पहिलो कुरा राशिको यो प्रभाव आम रूपमा वर्णन गरिएको हो । तपाईंले आफ्नो कुण्डलीसमेत देखाएर कुण्डलीमा समेत अशुभ ग्रहको प्रभाव छ भने उक्त ग्रहको स्वस्तिशान्तिका साथमा तलको उपाय अवलम्बन गर्नु राम्रो हुन्छ ।
१) तपाईंको मेष, कर्कट, सिंह, बृश्चिक, धनु र मीन राशि हो भने तपाईंले भगवान् गणेश, हनुमान जी वा माता दुर्गाको उपासना गर्नु, मन्त्रजाप गर्नु वा यन्त्र धारण गर्नु उपयुक्त हुन्छ । त्यसबाहेक तपाईं घरैमा हुनुहुन्छ भने योग्य ब्राह्मणको सहयोग लिई आगामी चैत्र शुक्लपक्षको दुर्गापक्षमा नौ आवृत्ति दुर्गासप्तशती चण्डीको पाठ गराई चलिरहेका महादशा र योगिनी दशाको स्वस्तिशान्ति गर्नु राम्रो हुन्छ ।
२) तपाईंको बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ राशि हो भने तपाईंले आशुतोष भगवान् शिवको उपासना गर्नु जायज हुन्छ । त्यसैले तपाईंले घरमा रूद्राभिषेक (रूद्री पूजा) को आयोजना गरी शिववास जुरेको कुनै दिन ग्रहशान्ति गर्नु बुद्धिमानी हुनेछ ।
३) पूजाआजा गर्ने परिस्थिति छैन भने निम्न उपाय सबै वा यथाशाक्ति र इच्छानुसार प्रयोग गर्नु राम्रो हुनेछ ।
क – हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रूखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रूखको फेदमा शुद्ध जल चढाउनु पर्दछ ।
ख –कुनै देवालयमा गई कम्तीमा दस जना भिखारी वा मगन्तेलाई पेटभरि भोजन गराउनु पर्छ ।
ग – दिनैपिच्छे शिव स्तोत्र व शनि स्तोत्रको पाठ गर्नु पर्छ । हनुमान् जीको उपासनाबाट पनि लाभ लिन सकिन्छ ।
घ – दिनैपिच्छे चराचुरूङ्गी वा माछालाई खानेकुरा प्रदान गर्नुपर्दछ र शनिबार मांसाहार गर्नुहुँदैन ।
ङ – प्रत्येक शनिबारका दिन कुनै नीच जाति वा जोगीलाई तोरी वा सर्स्युंको तेल दान गर्नुपर्दछ ।
च – शनिवारका दिन कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नुपर्दछ वा खान दिनुपर्छ ।
छ — कुनै देवालय वा तीर्थस्थलमा पुगेको वेला बाँदरलाई चना र गुड खुवाउनु पर्दछ ।
ज – हरेक मङ्गलवारका दिन गणेश वा हनुमानको मन्दिरमा गई मूर्तिको पाउमा रहेको सिन्दूरको टीका लगाउने बानीको विकास गर्नुपर्छ ।
झ – रातो कपडामा दुई मुठी मुसुरोको दाल बाँधेर सिधा र दक्षिणाका साथमा हरेक मङ्गलबारका दिन भिखारीलाई दान गर्दा पनि मङ्गल ग्रह प्रसन्न हुन्छन् ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com