काँग्रेसद्वारा नेपाली जनसम्पर्क समिति अमेरिकाको वर्तमान कार्यसमिति विघटन

फाल्गुन १५, २०७४,

स्थापनाकालदेखि सधैं विवादमा रहँदै आएको नेपाली जनसम्पर्क समिति अमेरिकाको वर्तमान कार्यसमितिको म्याद २०१७ को नोभेम्वर २२ देखि समाप्त भएकोले कांग्रेसले उक्त समिति भंग गरेको कुरा वर्तमान कार्यसमितिका एक पदाधिकारीले बताए । तीन वर्षअघि टेक्सासमा सम्पन्न भएको एकताको अधिवेशनपछि तदर्थ रुपमा चलिरहेको समितिले निर्वाचित कार्यसमिति पाएको थियो । उक्त अधिवेशन पछि मत्थर हुने भन्ने ठानिएको समितिको विवाद झन् चुलिएर गएको थियो । नेपालको महाभूकम्पको बेला भूकम्पपिडीतको नाममा उठाइएको चन्दा सभापति आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङ्गले एक-अर्कालाई अपचलन गरेको सार्वजनिक रुपमा आरोप प्रत्यारोप लगाएपछि समितिको विवादले सबैभन्दा नराम्रो रुप लिएको थियो ।

मात्रृपार्टी नेपाली कांग्रेसको महाधिवेशनको समयमा मात्र नेपाली जनसम्पर्क समितिको अधिवेशन हुने संभावना भएकोले अब लामो समय नेपाली जनसम्पर्क समिति अमेरिका फेरि तदर्थ रुपमा चल्ने देखिएको छ । काँग्रेसले एक तदर्थ समिति बनाउन लागेको थाहा हुन आएको छ । नयाँ बन्ने समितिको संयोजकमा निवर्तमान कार्यसमितिका उपसभापति सीपी पौडेल, मेरिल्यान्डका सुभास घिमिरे या न्यु योर्कका प्रमोद सिटौला मध्ये एक नियुक्त हुन लागेको कुरा सुत्र बताउँछ । नयाँ बन्ने संयोजकलाई सबैलाई मिलाएर अधिवेशन सफलतापूर्वक संपन्न गर्ने गंभीर दायित्व छ ।