छोरी चेलीलाई घरभित्रै थुनेर ३३ प्रतिशत आरक्षण कसका लागि ?

–कामना न्यौपाने

‘तपाईले किन यस्तो सानो कुराहरुलाई पनि विषयवस्तु बनाएर उठाउनुहुन्छ ?’

मैले लैंगिक समानता सम्बन्धि लेखेका कुराहरु पढ्ने अधिकांशको प्रश्न हुन्छ यो । रुखको बाहिरी भाग ठूलो हुन्छ र त्यसको जराहरु मसिनो हुन्छ । बनमारा जस्तै कुनै पनि बोटलाई काटेर, त्यो नाश भएको मान्न सक्छौं र ? त्यसको मसिनो जराहरु जमिनमुनी रहन्छन् र खतरनाक भनेका तिनै जराहरु हुन् जसले फैलिएर त्यस्ता अनेकौं बोटहरु उमार्न सक्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम जाँदा, किन अपवित्र भएसरी चोख्याइयो ? महिला प्रधानन्यायधिशले सर्वोच्च अदालतमा न्यायको छिनोफानो गर्दै गर्दा किन छ वर्षे बालिका बलात्कृत भएकी छिन् ? महिला अधिकारका विधेयक पास गर्ने संसदमा महिला सभामुख हुँदा किन अछामकी किशोरी छाउपडी गोठमा मरिन् ? समानता कानुनमा आयो, कोटाले सहभागिता बढायो तर विचार र संस्कार उही छन् । वर्षौंदेखि गडेर बसेका यी जराहरु तिनै सानो, उठाउनै नपर्ने मानिएका मुद्दाहरु हुन् । तिनले महिलाको सुरक्षा, सशक्तिकरण, व्यक्तित्व विकासमा पनि प्रभाव पारिरहेका हुन्छन् ।

केटी मान्छेले धेरै बोल्न हुन्न भनेर सिकाइएका छोरीहरु पछि कसरी मान्छेको भिंडमा, मन्चमा उक्लिएर सहज रुपमा बोल्न सक्छन् ? सधै सानो स्वरमा बोल्नुपर्छ, वादविवाद गर्न हुन्न, जवाफ फर्काउन हुन्न, शीर ठाडो गर्न हुन्न भन्ने सिकाएर हुर्काइएकी छोरीले कसरी तेत्तिस प्रतिशत कोटामा ठाउँ पाएको राजनीतिमा गएर खरो तर्क राख्न सक्छे ? कसरी अरु पुरुष नेता सरह आफूलाई दह्रो रुपमा उभ्याउन सक्छे ?

छोरी भएर जन्मेपछि घरको काम गर्न जान्नैपर्छ, घरको काम गर्नैपर्छ भन्ने कुरा जब बुझाउन थालिन्छ, उसले घरको कामलाई आफ्नो प्राथमिकतामा राख्छे । त्यसैले याद गर्नुहोस् त, अधिकांश कार्यक्रमहरु, सभा–सम्मेलनहरुमा महिलाहरुको उपस्थिति कति न्यून हुन्छ । जसले गर्दा बाहिरी दुनियाँको खबरसंग ऊ अनभिज्ञ हुन्छे र उसको त्यो अनभिज्ञतालाई पछि त्यही समाजद्धारा गिज्याइन्छ । घरमा हुने आर्थिक व्यवहारका कुराहरुमा छोरीलाई सहभागी नगराइने संस्कारले ऊ आर्थिक व्यवहारिक ज्ञान सिक्ने मौकाबाट बन्चित हुन्छे ।

दाजुभाइ उसको सुरक्षाको निम्ति हुन् भन्ने संस्कारमा हुर्किएकी ऊ आफ्नो सुरक्षाको लागि सधै परनिर्भर बन्छे । घरका बाबा, दाजु–भाइले नै उसलाई केटाहरुको भर पर्न हुन्न, केटाहरुसंग नजिक बन्नु हुन्न भनेर सिकाउँछन् । केटी मान्छे टाढा जानु हुन्न, साँझ परेपछि बाहिर निस्कन हुन्न भन्ने सिकेपछि उसले आफ्नै खुट्टामा संग्लो बाँध्न थाल्छे । केटी मान्छेको भाग्य भनेको लोग्ने हो, यसको बिहे गरिदिन पाए ढुक्क हुन्थ्यो, केटी मान्छेले बेलैमा प्रायः २५ वर्षसम्ममा बिहे गर्नुपर्छ आदि कुराहरु सुनेर हुर्किएकी ऊ, बिहे गर्नु,राम्रो घर र लोग्ने पर्नुलाई नै आफ्नो जीवनको प्राप्ति सम्झिन्छे ।

केटी मान्छे चर्को स्वरले हाँस्नु हुन्न, अरुले भनेको मान्नुपर्छ भन्ने सिकेकी ऊ, विस्तारै आफ्ना भावनाहरु गुम्साउन सिक्छे । जसले गर्दा मानसिक रुपमा कमजोर बन्छे । केटीमान्छे भनेको त राम्रो हुनुपर्छ भन्ने संस्कारले उसले आफ्नो सुन्दरतालाई नै सक्षमताको मापक ठान्छे र अधिकतम समय श्रृंगार सम्बन्धी अनुत्पादनशील काममा खर्चिन्छे ।

केटी भएर यसरी बोल्नुहुन्न, यसरी हिड्नुहुन्न, यो गर्नुहुन्न, त्यो गर्नुहुन्न भन्ने सिक्दा सिक्दै केटी आफू एउटा निश्चित विचार र संस्कारको बन्दि बन्छन् । उच्च शिक्षा हासिल गर्ने अवसर पाएका धेरै केटीहरु समेत त्यसबाट निस्कन सक्दैनन् जसले गर्दा आफूलाई बलियो रुपमा प्रस्तुत गर्न सकिरहेका छैनन् ।

असमानताका जराहरु हाम्रो दिमागमा, हाम्रो सोंचाईमा, हाम्रो व्यवहारमा छन् । जबसम्म जराहरु उखेलिन्नन् तबसम्म असमानताका वनमाराहरु हुर्किरहन्छन्, चाहे जतिसुकै महिला हकका कानून बनुन् ।

महिला सशक्तिकरणको नाममा कोटा छुट्टाएर महिलालाई पद सम्हाल्न दिने होइन कि आफ्ना छोरी र चेलीहरुलाई सशक्त बनाउन संस्कार र आफ्नो विचारमा परिवर्तन गरौँ । उसलाई “ म सक्षम छु, आत्मनिर्भर बन्न सक्छु “ भन्ने बनाउने वातावरणको निर्माण गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.