घरघरमा पाइप लाइन, हावाबाट विजुली, आफ्नै पानीजहाजलाई अहिलेलाई थाँती राख्न ओलीलाई रविको सुझाब

मुलुकले आज नयाँ प्रधानमन्त्री पाएको छ । यस अघि पनि ९ महिना प्रधानमन्त्री बनिसकेका एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्रीत्व कस्तो होला त्यो आज भनन सकिदैन ।

तर केही आज भन्न सकिने कुरा नम्रतापुर्वक प्रधानमन्त्री केपी ओली समक्ष राख्न चाहान्छु । तपाई प्रधानमन्त्री हुनुभएको खबर सुनेर तपाईका कार्यकता रमाएका छन् ।

तपाईसँगै सोझैँ साँठगाँठ राख्ने व्यापारीहरु रमाएका छन् । तपाई र तपाइको परिवार नरमाउने त कुरै भएन । तर तपाईले चाहनुभयो भने सर्वसाधारण जनता पनि रमाउन पाउने छन् ।

तपाईलाई सल्लाह दिने मानिसको त के कमी होला र ? झन् प्रधानमन्त्री नै भैसकेपछि त गोरु बेचेकै साइनो लगाएर भएपनि सल्लाहकारको लाइन लाग्ला । केही सल्लाह हाम्रो पनि सुनाईदिनु होला ।

तपाइको स्वास्थ्य जटिल छ ,आफ्नै सन्तान छैनन् यी दुई बिषयले तपाईलाई पिरोल्छ, पिरोल्दैन थाहा छैन तर यी दुई बिषय तपाईका कमजोरी पक्ष नभई सबल पक्ष बन्न सक्दछन् ।

सन्तान नभएकाले तपाईले कसैका लागि अकुत कमाइदिनु पर्दैन । यस अर्थमा भ्रष्टाचार निर्मुल गर्ने कानुनको लबिङ गर्न तपाइलाई अरुलाई भन्दा सजिलो छ । दोस्रो कुरा, हुन त कसैको जीवनको लम्बाई बताउन सकिने कुरा होईन तर आफ्नो यो जीवनलाई बोनस पाएको भनेर तपाईले नै स्वकार गरेको परिप्रेक्षमा अरुसंग जति समय तपाईसँगै छैन होला कि ?

त्यसो हो भने १०० दिन भित्र गर्न सकिने केही काम गरेर देखाइदिनु होला । कमिशनको चक्करमा कमजोर बाटो घाटो बनाउनेहरुलाई कारबाही गर्न २४ घण्टा पनि लाग्दैन ।

बिना कारण कसैको फाइल अड्काएर घुस खान खोज्नेहरु को बिगबिगी छ । फाइल अड्काउनुको कारण लिखित रुपमा दिनुपर्ने निर्देशन दिन २४ घण्टापनि लाग्दैन ।

अस्पताल स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिहरु पठाउन २४ घण्टा पनि लाग्दैन । हरेक कार्यालयलाई स्मार्ट कार्यालयको रुपमा रुपान्तरीत गरी सेवाग्राहीलाई चुस्त सेवा दिन सकिने प्लानिङको भ्यलु प्रिन्ट माग्न २४ घण्टा लाग्दैन ।

बन्द भएका कलकारखाना खोल्ने निर्देशन दिन र राष्ट्रिय गौरवको एउटा ठुलो आयोजनाको उद्घाटन गर्न र निरन्तर कार्य गर्ने निर्देशन दिन २४ घण्टा पनि लाग्दैन ।

प्रत्येक दिन देशका होनहार युवाशक्ति हजार, बाह्र सयको संख्यामा देश छोड्छन् तर अवसर देशमै छ आनुहोस् म ग्यारेन्टी दिन्छु भनेर दिनमा १०÷१२ जनालाई देशमै बोलाउन २४ घण्टा पनि लाग्दैन ।

यस्ता धेरै चिज छन् जसलाई इच्छाशक्ति बोहक केहीले पनि अड्काउँदैन । देशको समस्या थाहा नभएको मानिस प्रधानमन्त्री हुनुभएको होईन तपाई । हिजो गर्न दिएनन् भन्ने छुट आज छैन ।

प्रत्यक दिन दिनभरी आफ्ना मन्त्रीहरुले के के गरे त्यसको रिपोर्ट हेर्नुहोस्, विहान ५ बजेदेखी राती १२ बजेसम्म निवासदेखि अफिस सम्म मान्छे भेटेको भेट्यै गरेर देशको समय बर्र्बाद पार्नुहुने छैन होला ।

घर घरमा ग्यास पाइप लाइन, हावाबाट विजुली, आफ्नै पानीजहाज जस्ता सपना अहिलेलाई थाती राखौ । बस् गरेर खाने वातावरण बनाइदिनुस । भ्रष्टाचार र कमिशन खोरीको नाङ्गो नाच हेर्न मन भए भेष बदलेर हामीसँग हिड्नुहोस्, तपाईले छानेकै मन्त्रालय अन्तर्गतका विभाग कार्यालयहरुको हविगत तपाईले हेर्न चाहेको समयमा देखाइदिने छौ ।

तपाईसँग गुड सेन्सअफ ह्युमर छ तर यो कार्यकाल जोक नबनोस् । कार्यकर्ता होइन जनता मोटाउन् शुभकामना ।

न्युजट्वान्टीफोरबाट