दिदी गायत्री पोखरेलप्रति समर्पित कविता

सेताम्यै हिउँको हिमाल शिरझैं अग्ली बनेकी दिदी
यो नेपाल बचा युगौंयुग सखी हुन्छिन् भनेकी दिदी ।
हाँसेको मन बुद्ध नेत्र दुइटा टीका झनै सुन्दर
राम्रो भाग्य निधार हार छ गला औधी खुशीको घर ।।

गायत्री मनमा बसी सब जना हाँसून् खुशी भैकन
बोलून् लाग्छ सबै दिदीसित बसी पारेर सङ्लो मन ।
बोली मात्र सुनी सबै खुश रहून् आकाश उड्ने चरा
जम्मै छन्द मिली दिदी हजुरको यो नाम चम्कोस् धरा ।।

भेटें छन्द मिली रमी रससितै बग्दै गरेकी त्यता
फुल्ला फूल भनेर काव्य कविता लेख्दै छरेकी त्यता ।
चौतारी कविता थियो मिलनको बाटो अलंकारको
मीठो वाचन भेट्छु भाव रसिलो बोली छ झंकारको ।।

बोलिन् साँझ हुँदा पढेर कविता खोलेर आफ्नो मन
गायत्री हुँ म पोखरेल बुझ है लाग्यो तिमी सज्जन ।
मेरो प्रेरक हुन् बुझें अनि कुरा लामो भयो त्यो दिन
आशीर्वाद पिई नतिर्न सकिने बोक्दै छु मैले रिन ।।

छन्द : शार्दूलविक्रीडित
रचना मिति : वि.सं. २०७४/१०/२७ गते ।