डेटिङ एप टिन्डर मार्फत डेटिङको बहानामा सेक्सको खोजी गर्दै नेपाली युवायुवती

हिजोआज न्यास्रो मेट्न सामाजिक सञ्जाल नै काफी छन् । उमेरदारले पार्टनर खोज्न मेला धाउनबाट मुक्ति पाएको वर्षौं भइसक्यो । हुँदाहुँदा अब मनसँगै तनको प्यास मेटाउनसमेत सामाजिक सञ्जाल सारथि बनिरहेका छन् । यही सेरोफेरोमा नेपालका सामाजिक सञ्जाल प्रयोगकर्तामाझ चढेको डेटिङ एप ‘टिन्डर’को बढ्दो ज्वरो र त्यसले निम्त्याएका सुखद्–दुःखद् पलबारे चियोचर्चो गरेका छन् अनिल यादवले ।

सेक्स पार्टनर खोज्न कहिले ठमेल, कहिले धरान त कहिलो पोखरा । जहाँ सम्भावना देख्थे काठमाडौं, बानेश्वरका रमेश पुडासैनी (नाम परिवर्तन) त्यहीँ पुग्थे । अकस्मात ६ महिनादेखि पार्टनरको खोजीमा उनको दौडधुप थामिएको छ । उनको बानी सुर्धिएको भने हैन । उस्तै छ । माध्यम भने फेरियो ।

पेसाले कपडा व्यापारी उनका लागि सहयोगी बन्यो प्रविधि । जसले प्रारम्भ ग¥यो उसले साथी खोज्न सरल होस् भनेर मोबाइल डेटिङ एप ‘टिन्डर’ बनाए तर उनले यसैलाई सेक्स पार्टनर खोज्ने सारथि बनाइदिए । मोबाइल चलाएकै आधारमा रोजेजस्तो खोजेजस्तो पार्टनर भेटिने गरेको अनुभव सुनाउँछन् उनी ।

सुजता अधिकारी (नाम परिवर्तन) ‘सिरियस’ होइन, ‘क्याजुअल’ रिलेसनको चाहनामा थिइन् । यौन तृष्णा मेट्न युवाहरु त लुकीछिपी अड्डामा जान्छन् । युवती पार्टनर खोज्दै कता जानु ? एक मिडिया कम्पनीको मार्केटिङ विभागमा काम गरिरहेकी उनको रोजाई अलि क्रिटिकल छ । प्रेम नहोस्, मित्रता झनै नहोस् तर मस्त रोमान्स होस् । उनले पनि सारथि बनाइन् उही ‘टिन्डर’लाई ।

सन् २०१३ मा ‘डेटिङ/हुक–अप’ को खोजीमा रहेकालाई सघाउन एक युवा समूहले स्वाइप प्रविधिमा आधारित मोबाइल एप निकाले टिन्डर । यसका प्रयोगकर्ताले भने यसैलाई ‘वन नाइट स्ट्यान्ड’को सारथि बनाइदिए । विश्वका अधिकांश देशमा लोकप्रिय बन्दै गइरहेको यो एप्सका प्रयोगकर्ताको प्रवृत्ति नेपालमा मात्रै यस्तो हैन । अधिकांश प्रयोगकर्ताको लक्ष्य एकै देखिन्छ ‘मिट, इन्जोए एन्ड फर्गेट ।’

नेपालमा भर्खरै लोकप्रिय बन्दै गएको यो एप्सको युरोपेली मुलुकमा बाक्लो प्रयोग भइरहेको छ । छिमेकी मुलुक भारतमै पनि ‘टिन्डर’ जस्ता डेटिङ एप्सबारे खुलेरै संवाद सुरु भइसक्यो । युट्युबमा यसका प्रशस्तै सामग्री भेटिन्छन् तर नेपालमा यस एपबारे खुलेर संवाद सुरु भइसकेको छैन । युवामाझ भने भुसको आगोझैँ फुसफुसमै लोकप्रिय बनिसक्यो । आखिर यसका नेपाली प्रयोगकर्ताहरु कस्ता छन् ? अनि उनीहरुको उद्देश्य के रहेछ भनेर शुक्रबारकर्मीले खोजी गर्दा पुडासैनी र अधिकारी फेला परेका हुन् ।

एक साता लामो अध्ययनमा ५० ‘टिन्डर’ प्रयोगकर्ता भेटिए । गोप्यताको ग्यारेन्टी गरेपछि उनीहरु यसबारे बोल्न राजी भए । डिजिटल डिभाइसको प्रयोग गरेर रोमान्स गर्ने तैपनि गोप्यता किन त ? धेरैको जवाफ थियो– ‘दिस इज अल अबाउट प्राइभेसी (यो सबै गोपनीयताको कुरा हो) ।’

के हो टिन्डर ?
लोकेसन बेस्ड सोसल सर्च मोबाइल एप हो टिन्डर, जसले प्रयोगकर्ताहरुलाई राइट र लेफ्ट स्वाइप गर्ने अप्सन दिन्छ । राइट स्वाइप गर्दा लाइक र लेफ्ट स्वाइप गर्दा डिस्लाइक । यही हो यसको जोडिने प्रक्रिया । एकअर्कासँग जोडिन चाहने दुवै जनाले राइट स्वाइप गरे संवादका लागि डिजिटल प्लेटफर्म तयार बन्छ ।

फेसबुकमा राखिएका तस्बिर र प्रयोगकर्ताले लेख्ने छोटो विवरणका आधारमा यसका प्रयोगकर्ताको सूचना पाइन्छ । फेसबुक अकाउन्ट या मोबाइल नम्बरका आधारबाट यस एपमा प्रवेश गर्न सकिन्छ । यसका लागि उमेरहद १८ वर्षभन्दा माथिको हुनुपर्छ ।

एकपटक यसलाई सुचारु गरेपछि पाँच सय क्यारेक्टरको व्यक्तिगत विवरण र ६ वटा फोटो सहितको प्रोफाइल तयार गर्न सकिन्छ । इच्छाअनुसार टिन्डर प्रोफाइललाई इन्स्टाग्राममा समेत लिङ्क गर्न सकिन्छ ।

कस्तालाई भेट्ने र अरु कस्ताले खोज्दा आफ्नो विवरण भेटियोस् भन्ने चाहने हो त्योे डिस्कभरी सेटिङमार्फत् मिलाउन सकिन्छ ।
सिन रड, जोनाथन बाडेन, जस्टिन मेटिन, जो मुुनोज, दिनेश मुरजानी र ह्विटेनी वुल्फको दिमागको कमाल हो टिन्डर । उनीहरुले संयुक्त रुपमा एप सुरु गरेका थिए ।

टिन्डरका सोसल मिडिया निर्देशक अलेक्जा माटिनले सन् २०१३ मा भनेका थिए, ‘यो एपको उद्देश्य ‘ती मान्छेसँग भेट गराउने हो जोसँग तपाईंको भेट जहाँतहीँ हुँदैन ।’

यो एप अहिले १ सय ९६ देशमा प्रयोग भइरहेको छ । सन् २०१२ मा लन्च भएको यो एप सन् २०१४ सम्म प्रतिदिन एक अर्बले स्वाइप गरिरहेको एउटा तथ्यांकले देखाएको छ । यसले देखाउँछ, यसको लोकप्रियता कति छ । यसले सन् २०१३ मा ‘बेस्ट न्यु स्टार्टअप’का रुपमा ‘टेक क्रन्च क्रन्ची अवार्ड’समेत जितेको छ । विकिपिडियाका अनुसार टिन्डरमा सन् २०१२ सम्म ८ खर्बभन्दा बढी ‘म्याचेच’ भइसकेको छ ।

प्रयोगकर्ता कस्ता–कस्ता ?
आधिकारिक अध्ययन नभएकाले नेपालमा यसका प्रयोगकर्ताको उमेर समूह र संख्या ठ्याक्कै भन्न मुस्किल छ । भेटिएका प्रयोगकर्ताहरुको दाबीअनुसार टिन्डरभित्र १८ देखि २१ उमेर समूहका प्रयोगकर्ता धेरै छन् ।

काठमाडौं, गौशाला बस्ने टिन्डर प्रयोगकर्ता सुनिताको अनुभवअनुसार टिन्डरमा उनकोे ५० बढी म्याचेच भइसक्यो । ६–७ जनासँग त भेट नै भइसक्यो । ‘मेरा पार्टनरहरु विदेशमा भएकाहरु धेरै छन्,’ उनी भन्छिन्, ‘ट्राभलरहरुले पनि यो एप धेरै चलाउँछन् । नजिकै भएका बेला उनीहरुसँग म्याच हुन्छ तर संवाद भइन्जेलसम्म कतै टाढा पुगिसकेका हुन्छन् । भेट हुन पाउँदैन ।’

काठमाडौँ, न्युरोडका टिन्डरका प्रयोगकर्ता एक व्यवसायीले आफ्नो अनुभव रमाइलो पारामा बताउँदै भने, ‘यहाँ जोसँग ‘म्याच’ हुन्छ ऊ मैदानमा खेल्न मानसिक रुपमा पहिल्यै तयार भइसकेको हुन्छन् । सेक्स मान्छेको बेसिक निड हो । मन मिलेपछि यो कुनै ठूलो कुरा होइन भन्नेहरु टिन्डरमा बढी भेटिन्छन् । चलाउन मज्जा आइराख्या छ ।’

‘टिन्डर’ चलाउने सबै सेक्स नै खोजिरहेका हुन्छन् भनेर दाबी गर्न भने सकिन्न । ‘ट्राइ गरी हेरौँ न कस्तो रहेछ’ भनेर एपको प्रयोग गर्नेहरु पनि नभएका हैनन् । नयाँ–नयाँ साथी बनाउने र स्वस्थ सम्बन्ध राख्न चाहने प्रयोगकर्ता पनि यहाँ भेटिन्छन् ।

‘फेसबुक/ट्विटरतिर चिनेका धेरै भेटिन्छन्, टिन्डरमा प्रायः अपरिचित भेटिन्छन् जोसँग खुलेर कुरा गर्न सकिन्छ,’ पोखराका प्रयोगकर्ता समीर मगरले भने, ‘यसमा त केटीहरु ओपन कुरा गर्छन् । वर्षाैंदेखिको साथीझैँ ।’

केहीले छोटो संवादपछि नै सेक्सबारे कुरा गर्ने गरेको अनुभव सुनाउँदै उनले नयाँ साथी बनाउन मात्रै यो एप चलाउने गरेको बताए । तर हामीले भेटेका सबै उनीझैँ सोचका मात्रै थिएनन् ।

एक रातको साथी
काठमाडौं, चाबहिलका एक प्रयोगकर्ता जसले आफूलाई आकाशको नाममा चिनाउन चाहे, उनको दाबीअनुसार एक महिनाको बीचमा तीन जनासँग एकै बेडमा रात बिताइसके । उनको १७ जनासँग म्याच भएको छ रे ! टिन्डरमार्फत उनले रोचकपाराका साथी भेटेछन् । एक थिइन्, जसलाई उनी ‘एक रातको साथी’ भन्न रुचाउँछन् ।

‘तिनको नाम टिन्डरमा रिया थियो । दुवैले एकअर्कालाई लाइक गरेपछि म्याचअप भयो । त्यसपछि हामी दुवै म्यासेजमा बोल्यौँ । आज कुरा भयो, भोलि भेट्ने सल्लाह भयो,’ आकाशले उनीसँगको भेटको अनुभव सुनाउन थाले, ‘मैले उनीसँग लोकेसन र नम्बर मागे । केही दिन चाहिनन् । टिन्डरमा गफ गर्दै आउनू, म त्यहीँ लोकेसन भन्छु भनिन् । टिन्डरबाटै रुम (सानेपा)सम्म पुगेँ । रातिसँगै बस्यौँ, ड्रिंक ग¥यौँ, रमाइलो ग¥यौँ अनि भोलिपल्ट बिहानै म निस्किएँ ।’

उनका अनुसार उनी अहिले पनि टिन्डरमा छिन् । उनलाई ‘अनम्याच’ पनि गरेकी छैनन् तर न उनले दोस्रो पटक भेट्ने प्रस्ताव राखेका छन् न युवतीले नै ।

कन्फ्युजनमा प्रयोगकर्ता
नेपालमा टिन्डर प्रयोगकर्ताको लक्ष्य के ? हुकअप, फ्रेन्डसिप एक्सप्लोर कि वान नाइट स्ट्यान्ड मात्रै ? भेटिएकाहरु अधिकांशले यही भन्न सकेनन् । यसले केही प्रयोगकर्ता निराशसमेत भइसकेको भेटियो ।

काठमाडौंको एक रेडियोमा कार्यरत ३० कटेकी अविवाहित आरजे शर्मिला (नाम परिवर्तन) टिन्डरबाट पूरै निराश भइसकेको भेटियो ।
‘टिन्डरमा मान्छेहरु एकदमै कन्फ्युज छन्,’ उनी भन्छिन्, ‘मेरो अहिलेसम्म थुप्रै म्याच भयो । अरुलाई मिंगल देखेपछि आफू सिंगल हुन मन लाग्दैन । त्यसैले आइ वान्टेड टु गेट इन्टु डेटिङ तर यहाँ ताल–तालका मान्छे भेटिन्छन् ।’

उनले आफ्नो अनुभव सुनाउँदै थपिन्, ‘एकजना यस्तो मान्छेसँग भेट भयो जो १ महिनापछि बिहे गर्दै थियो । तैपनि ऊ मलाई भेट्न आयो तर केही नगरी भेटेर मात्रै गयो । अनि मलाई ‘अनम्याच’ ग¥यो । म त हेरेको हे¥यै भएँ !’

अर्का प्रयोगकर्ता रितिक बन्जाडे (नाम परिवर्तन) पनि टिन्डरमा भेटिने प्रयोगकर्ताबाट आजित भएका रहेछन् । कारण खुलाउन उनले एक संवाद अंश सुनाए ।

‘टिन्डरमा आएर एकदमै फर्मल कुरा गरेपछि मैले ‘यो त सेक्स एप हो, किन यति फर्मल ?’ भनेर सोधेको थिएँ । उनले ‘आ–आफ्नो प्रयोग गर्ने तरिकामा भर पर्छ, म त्यसरी लिन्नँ’ भनिन् । त्यसपछि मैले ‘तिमीले अन्डरवेयरलाई टाउकोमा लगाएर लगाउने आ–आफ्नो तरिका हो भनेर जवाफ दिन मिल्दैन । समथिङ आर मिन्ट टु बि एक्जेट फर सेम थिङ’ भनेर जवाफ फर्काइदिएँ ।’

संवाद कम, प्रस्ताव ज्यादा
प्रयोगकर्ता रमितालाई त नेपालमा टिन्डरका प्रयोगकर्ता केही समयमै घट्ने महसुस भएछ । उनको अनुभवमा अपरिचितसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने नेपालीको ज्ञानको कमी यसको कारण हो ।

‘नेपालीहरु गफ गर्नै जान्दैनन् । हुक–अप एप भन्नेबित्तिकै सिधै सेक्स प्रस्ताव गर्नुपर्छ भन्ने सोच्छन्,’ उनले भनिन्, ‘कुराकानी राम्रोसँग गर्न सकिन्छ । मन मिल्यो भने र विश्वास बढ्यो भने जे पनि हुनसक्छ ।’

उनको अनुभवमा केटीहरुको म्याचेच धेरै हुने तर भेट कम हुनुको कारण नै यही हो । भौतिक रुपमा खुलेर कुरा गर्न भय हुँदा अधिकांश युवती यस्ता एप्सको प्रयोगकर्ता बन्ने गरे पनि अनुभव भने उस्तै हुने गरेको उनले बताइन् ।

‘केटीलाई कन्भरसेसन डिसेन्ट (सभ्य) होस् भन्ने लाग्छ तर केटाहरु डिरेक्ट्ली सेक्सकै कुरा गर्छन्,’ मेल टिन्डर प्रयोगकर्ताहरुसँग उनको गुनासो छ, ‘कोही कुरा गर्दा एकदमै ‘डिसेन्ट’ हुन्छन्, भेटेपछि बेडमा लैजान हतार गर्छन् ।’

केले लोभ्याउँछ प्रयोगकर्तालाई ?
के भयो भने टिन्डर प्रयोगकर्ताहरु ‘राइट स्वाइप’ गर्छन् ? प्रयोगकर्ताको के ले लोभ्याउँछ उनीहरुलाई ? शुक्रबारकर्मीसँगको कुराकानीमा कतिपयले प्रयोगकर्ताको तस्बिरलाई कारण दिए भने कतिपयले उसले लेखेको बायोलाई ।

‘मलाई त फस्टमा फोटो नै मन पर्नुपर्छ, त्यसपछि मात्र अरु कुरा हुन्छ,’ रितिकको भनाइ थियो । आरजे शर्मिलाको भनाइ पनि रितिकको जस्तै थियो तर रमिताको भनाइ अलि भिन्न थियो ।

‘म अनुहारसँग मतलब राख्दिनँ, फोटोभन्दा पनि मेरो प्राथमिकता बायो हो,’ उनले भनिन्, ‘युजरको बायोले मलाई लोभ्याउँछ । उसले कसरी बायो लेखेको छ भन्ने कुराले म उसलाई जज गर्छु । एकजना युजरले ‘इफ यु वान्ट टु नो मि, स्वाइप राइट’ मात्रै लेखेको थियो । त्यसकै भरमा मैले उसलाई स्वाइप राइट (लाइक) गरे र बोल्न थाल्यौं ।’

नक्कली पनि छन्
टिन्डरमा फेक प्रयोगकर्ताहरु पनि छन् । कोही आफ्नो वास्तविक परिचय लुकाएर चलाउँछन् भने कोही खुलाएर । प्राइभेसी चाहनेहरु नक्कली नाममा चलाउँछन्, नक्कली भएरै भेट्छन अनि फेक बनेरै रमाइलो गर्छन् ।

यस्तै एक पात्र भेटिए काठमाडौं बस्ने दाङका शरद केसी । उनलाई आफ्नै साथीहरुले फेक आइडी बनाएर झुक्याएछन् । ‘सुस्मिता नाम राखिएको थियो, फोटो पनि गाउँले टाइपकी केटीको थियो,’ उनले आफू झुक्किएको कथा सुनाए, ‘नम्बर माग्दा नम्बर दिइन तर भेटौँ भनेर आफैँ बोलाई । म्यासेजबाटै कुरा गर्दै कलंकीको एउटा खाजा पसलमा आउनू त्यतै भेटौँ भनी । होला नि त भनेर गइयो । त्यहाँ पुग्दा साथीहरु भेटिए । कसलाई भेट्न आ’को ? सुस्मितालाई ? भन्दै उल्लीबिल्ली पारे । म त ट्वाँ ।’

टिन्डरबाटै बिहे
जो टिन्डरलाई ‘हुक–अप’ एप मात्रै मान्छन्, रमाइलोको माध्यम मात्रै ठान्छन्, उनीहरुलाई विश्वास नलाग्न सक्छ तर टिन्डरबाटै थुप्रै जोडीको बिहे पनि भइरहेको छ ।

काठमाडौंमा मार्केटिङको काम गरिरहेका दाङका शरद केसी एक त्यस्तै पात्र हुन् । टिन्डरमा गाँसिएको सम्बन्धलाई उनी चाँडै विवाहमा परिणत गर्दैछन् ।

६ महिना भयो उनले टिन्डर चलाउन थालेको । साथीहरुबाट सुनेपछि ‘के रहेछ यसो हेरौँ न त, कस्तो हुने रहेछ ?’ भनेर उनले एप चलाउन सुरु गरेका थिए । ट्राइ मार्न टिन्डरमा छिरेका उनलाई यसैले जीवनसाथी नै भेट्टाइदियो ।

‘सुरुसुरुमा चलाउँदा त अप्ठेरो भयो, अहिले टाइमपास भइरहेको छ,’ उनले भने, ‘यही टिन्डरबाट टु« लभ प¥यो । चाँडै बिहे गर्ने तयारीमा छु ।’ टिन्डरमा भेटिएकी प्युठानकी युवतीसँग उनको लगनगाँठो कस्ने निश्चित भइसकेछ ।

‘हामी दुवै काठमाडौं बस्छौं, टिन्डरमा बोलेको एक महिनापछि मात्र भेट्यौँ,’ उनले भने, ‘सुरुमा त फेक मान्छे भन्ने लाग्थ्यो तर होइन रहेछ । राम्री रहिछन् । मन मिल्यो ।’

शरदले ती युवतीको घर गएर परिवारसँग भेटघाट पनि गरिसकेका रहेछन् । ‘अरुलाई अचम्म लाग्ला तर फूलको आँखामा फूलै संसार । उसलाई म मनपर्छ, मलाई ऊ मनपर्छ । हामीले एकअर्कालाई बुझेका छौं,’ उनले भने ।

०००

‘भर्चुअल सम्बन्धमा रमाउनु दुर्घटनालाई निम्त्याउनु हो’

डिएसपी प्रजित केसी
प्रमुख महानगरीय प्रहरी अपराध महाशाखा, साइबर क्राइम पिलर

पछिल्लो समय सामाजिक सञ्जालमार्फत सम्बन्ध विस्तार गरेर हुने आपराधिक घटनाको बढ्दै गएको छ । प्रारम्भमा साथी बन्दै निकट भएपछि दुरुपयोग गर्दैै झमेलामा पार्ने घटनाको उजुरी आउनेक्रम बढिरहेको बेला सामाजिक सञ्जालमा भेटिएकासँग निकट हुनु जोखिमपूर्ण व्यवहार हो । अहिले डेटिङ एप्समार्फत् भएका आपराधिक घटनाबारे उजुरी आएको छैन । प्रहरीमा आएका सामाजिक सञ्जालसम्बन्धी उजुरीमा अधिकांश फेसबुकसँग सम्बन्धित नै छ ।

यसमा नक्कली फेसबुक प्रोफाइल बनाएर नग्न तस्बिर राख्ने, निकट भएर व्यक्तिगत गोप्य कुराकानी गर्ने र पछि त्यसलाई सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गर्ने, ठगी गर्ने लगायतका घटना पर्छन् । सम्बन्ध विस्तार गरेर आपराधिक घटना भएका घटना पछिल्लो समय बढेका छन् । फेसबुक लगायतका भर्चुअल संसारमा चिनजान भएकै आधारमा निकट भएर निजी कुराकानी गर्नु खतरालाई निम्त्याउनु दिनु हो । अति निजी तस्बिर साटासाट गर्ने, कुराकानी गर्ने, भिडियो च्याट गर्नु खतरनाक व्यवहार हो ।

मौका पर्खेर बस्ने आपराधिक मानसिकताका व्यक्तिका लागि फसाउनका लागि यो बलियो हतियार बन्ने पक्का छ । भर्चुअल सम्बन्ध कसैका हकमा सुखद् हुनसक्छ तर अधिकांशको हकमा यसले दुर्घटना नै निम्त्याएको देखिन्छ ।

समाज प्रविधिमैत्री बन्दै जाँदा डिजिटल प्लेटफर्मका प्रयोगकर्ता बढ्दो छ । आर्थिक र साइबर सम्बन्धी अपराधका घटना प्रत्येक वर्ष बढ्दो क्रममा छ । अबको चुनौती साइबर क्राइम रहेको निष्कर्ष निकाल्दै प्रहरीले सोही अनुसारको क्षमता बढाइरहेको छ ।
छोटो समयमा घनिष्ट भएको सम्बन्ध कहिल्यै विश्वासयोग्य हुन सक्दैन । यसले त्यसैले ट्रेन्ड चल्यो भन्दैमा त्यसलाई पच्छ्याउनु आफैँले दुर्घटनालाई निमन्त्रणा दिनु हो । सूचना प्रविधिको प्रयोगकर्ताहरु यसमा जोगिएकै राम्रो ।

नागरिक शुक्रबारबाट

प्रकाशित मिति: २०७४ माघ १५ सोमबार