इन्डोनेसिया प्रहरीद्वारा गोली हानि एक नेपालीको हत्या घटनाबारे थप बिबरण आउन बाँकी !

काठमाडौं, ३ माघ ।

इन्डोनेसिया प्रहरीले एक नेपालीको गोली हानेर हत्या गरेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । लागू औषध तस्करको आरोप लगाउदै इन्डोनेसिया प्रहरीले तामाङलाई गोली हानेर मारेको हो ।

सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुका अनुसार लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको थियो ।

प्रहरीका अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । फोन नम्बरका आधारमा उनको लोकेशन ट्राक गरेर ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले उनलाई ५२ ग्राम लागू औषधसहित समातेको थियो ।

सोधपुछका क्रममा उनले अन्य साथीहरु रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले बताएको छ । उनको होटलमा उनको कोठा सर्च गर्दा ३.४ किलो मेथ भेटिएको पनि प्रहरीले जनाएको छ । घटनाबारे थप बिबरण आउन बाँकी छ । (सञ्चारकेन्द्र डटकम)