प्रधानन्यायाधीश पत्नीको गुनासो – पारिवारिक संवेदनशीलतामा आघात पार्ने काम भइरहेको छ

१ माघ, काठमाडौं । डा. गोविन्द केसी भर्सेस सर्वोच्च अदालतको द्वन्द्व सतहमा आएपछि सामाजिक सञ्जालमा प्रधानन्यायाधीश गोपाल पराजुलीका चारवटी श्रीमतीहरु रहेको चर्चा एकाएक ‘भाइरल’ भयो । सामाजिक सञ्जाल र केही अनलाइनमा समेत आएका यस्ता समाचारप्रति प्रधानन्यायाधीश पराजुलीकी पत्नी बसन्ता पराजुली पनि बेखर रहिनन् ।

विगतमा युएनडीपीमा जागिर खाएकी र हाल गृहिणीका रुपमा रहेकी बसन्ता प्रधानन्यायाधीश पराजुलीकी धर्मपत्नी हुन् । सामाजिक सञ्जालमा आफ्ना श्रीमानमाथि लागेका व्यक्तिगत आरोपहरु बसन्ताले सुनेकीमात्रै छैनन्, तिनको प्रतिवादसमेत गर्ने प्रयास गरेकी छिन् ।

यो स्वाभाविकै पनि हो कि आफ्नो पतिलाई कसैले चारित्रिक प्रश्न उठाएको कुनै पनि स्त्रीलाई मन पर्दैन । बसन्तालाई अहिले यस्तै भएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको पारिवारिक स्रोतले अनलाइनखबरसँग भन्यो- ‘आफ्नो श्रीमानमाथि चारित्रिक आरोपहरु लागेपछि उनकी पत्नी बसन्ता विक्षिप्तजस्तै बनेकी छिन् । पराजुलीको व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउनेहरुले उनका श्रीमती र छोराछोरीहरु पनि छन् होला भन्ने विचारै गरेनन् ।’

प्रधानन्यायाधीश पराजुलीकी पत्नी बसन्ताले आफूहरुमाथि नितान्त व्यक्तिगत, चारित्रिक एवं नितान्त पारिवारिक संवेदनशीलतामा आघात पार्ने काम भइरहेको भन्दै गुनासो पोखेकी छिन् । तर, यस्ता आरोपहरुबाट अविचलित भई आफ्नो प्यारो परिवार ईश्वरका कृपाले सम्हालिएको बसन्ताले बताएकी छिन् ।-अनलाइनखबरबाट

प्रधानन्यायाधीश पत्नीको स्टटास