एउटा कारुणिक सत्य घटना जुन सुन्दा कसको मन अमिलो नहोला !

लिला निरौला /खोटाङ ।
छिमेकीले विदेशबाट फर्किएर घडेरी किनेको देखेपछि चुडामणी पौडेल श्रीमती कुमारीलाई भन्नुहुन्थ्यो ‘एक चोटी विदेश गएर आएपछि मधेसतिरै घडेरी किनेर उतै जानुपर्छ अनि छोराछोरी उतै पढाउनुपर्छ ।’
कुमारीसँगै चुडामणीको पनि त्यो भन्दा मिठो सपना अरु कुनै थिएन त्यतिबेला । त्यही सपना बोकेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका – ९ सल्लेका चुणामणी २०५९ सालमा कतार जानुभयो ।
उहाँलाई कतार पठाउने एजेण्ट काठमाडौंका थिए तर चुडामणीका चिनजानका । विदेश जाने बेलामा उहाँले के काम हो अनि कति तलब हुन्छ भन्ने जस्ता सामान्य कुरा पनि सोध्नुभएन एजेण्टसँग । उहाँलाई ७५ हजार तिरेपछि विदेश जान पाइन्छ भनेका थिए एजेण्टले । चुडामणीले विदेश पुगेपछि त कमाइहालिन्छ नी भन्नुहुन्थ्यो घरमा । एजेण्टलाई ७५ हजार बुुझाएर चुडामणी कतार पुग्नुभयो । कतार पुगेपछि मात्रै चुडामणीले आफू क्लिनरको काममा आएको रहेछ भन्ने पत्तो पाउनुभयो । उहाँले महिनाको
१८ हजार रुपैयाँ हुने रहेछ भनेर फोन गर्नुभएको थियो कुमारीलाई ।

त्यतिबेला उहाँले आफ्ना योजना पनि सुनाउनुभएको थियो श्रीमतीलाई । ‘केही महिनामा ऋण तिरेर सकिन्छ होला भन्नुभएको थियो ।’ कुमारी भन्नुहुन्छ । तर पैसा पठाउनुभएन् ।
एक पटक पनि पैसा पठाउन नपाएका चुडामणी ३ महिनामै नेपाल फर्किनुभयो । श्रीमान फर्किंदैछन भन्ने कुमारीलाई थाहा थिएन् । आफू फर्किंदैछु भन्ने चुडामणीलाई पनि थाहा थिएन सायद । किनकी कतारबाट फर्किंदा उहाँले मानसिक सन्तुलन गुमाउनुभएको थियो ।
तीन महिना अघिसम्म विरामी भएर एउटा सिटोमोल पनि खुवाउनु नपरेका श्रीमान्ले के कारणले त्यस्तो भए भन्ने कुमारीले अनुमान पनि लगाउन सक्नुभएन् । केही आफन्त कतारमा थिए । उनीहरुले नै चुडामणीलाई नेपाल फर्काएका हुन् । उनीहरुलाई पनि चुडामणीको मानसिक सन्तुलन गुम्नुको कारण थाहा छैन ।
‘उनीहरुले पनि यस्तै अवस्थामा देखेपछि नेपाल पठाइदिएका रहेछन ।’ श्रीमानको मानसिक सन्तुलन गुम्नुको कारण बारे थाहा नपाएकी कुमारीले भन्नुभयो, ‘मैले उहाँलाई नै सोधें उहाँले काम चाहिँ कहिले कता कहिले कता गइरहनुपथ्र्यो भन्नुभयो तर कुनै टुङगो थिएन । के भयो भनेर कसरी बुझ्नु ।’

परिवारकै सपना बोकेर कतार गएका श्रीमान उनीहरुलाई नै नचिन्ने भएर फर्किएपछि कुमारीसँगै ३ जना छोराछोरीको बिचल्ली भयो । आफूसँग बिरामी छु भनेर पनि नभनेका श्रीमान मानसिक सुन्तलन गुमाएर फर्किंदा कुमारीलाई आफैं माथि बज्र परे जस्तै भयो ।
कतार जाने बेलामा मधेशमा घर बनाएर छोराछोरीलाई पढाउनका लागि लानुपर्छ भनेका चुडामणी फर्किंदा छोराछोरी काखमा बस्न गयो कि रिसाउन र झर्किन थाल्नुभयो । ‘साँझ पर्ने बेलामा विष किनेर खान्छु भन्दै पनि हिँड्नुहुन्थ्यो ।’ कुमारीलाई श्रीमानको अवस्था सुनाउन सकस भयो ।
कतारबाट घर आएको पाँच दिनमा चुडामणी बेपत्ता हुनुभयो । राती सुतेकै ठाउँबाट श्रीमान उठेर हिँडेको कुमारीले पत्तै पाउनुभएन् । गाउँमै कतै जानुभएको होला भनेर कुमारीले खोज्नुभयो । चुडामणी गाउँमा भेटिनुभएन् ।
हराएको एक दिन, दुई दिन गर्दै हप्ता नाघेपछि उहाँले चिने जाने जति सबै ठाउँमा खबर गर्नुभयो । आफूले सके जति खोज्नुभयो तर श्रीमानलाई भेट्नुभएन् । पाँच महिना बितिसक्दा पनि श्रीमानलाई फेला पार्न नसकेकी कुमारी अब त श्रीमान आउहुन्छ त होला नी भनेर चित्त बुझाइरहनुभएको छ ।
कुमारीलाई श्रीमानले देखेको सपनाले नै उहाँलाई त्यो स्थितीमा पुर्यायो भन्ने लाग्छ कहिले काहिँ । ‘ठूला सपना थिए उहाँसँग तर त्यो पुरा हुँदैन भन्ने कुराले चिन्तामा पर्दा त्यस्तो भयो जस्तो लाग्छ ’ कुमारी भन्नुहुन्छ ‘विदेश नजानु भएको भए यस्तो हुँदैन थियो ।’
घरमा चुडामणीका आमा पनि हुनुहुन्थ्यो उहाँ जाने बेलामा । एउटा मात्रै छोरा विदेशबाट मानसिक सन्तुलन गुमाएर फर्किए । उहाँ पनि छोरा आउने बाटो हेरिरहनुहुन्थ्यो । तर छोरा फर्किन नपाउँदै आमाको पनि निधन भयो ।

अहिले त कुमारीको सहारा १५ र ६ वर्षका छोराहरु गोपीकृष्ण र श्रीकृष्ण अनि १० वर्षकी छोरी पवित्रा मात्रै हुन् । कुमारीलाई तिनै सहाराको भविष्य के हुने हो भन्ने चिन्ताले सताइहन्छ ।
विदेशबाट फर्किएका कोही देख्ता उनीहरुले आफ्ना बुवा खोज्छन् । त्यतिबेला कुमारीलाई छोराछोरीको चित्त बुझाउन मुस्किल पर्छ । फेरि आफ्नै मन पनि त बुझ्दैन उहाँको । त्यसमाथि साहुको ७५ हजार रुपैयाँको ऋणको सावाँ ब्याज जस्ताको तस्तै छ ।

उज्यालोअनलाइन बाट साभार : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.