छोरालाई अन्तिम श्रद्धाञ्जली दिँदा आँशु थाम्न सकेनन् प्रचण्डले : मार्मिक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहानै आकस्मिक हृदयघातका कारण निधन भएका छोरा प्रकाशप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत प्रकाश दाहाल ‘साकार’लाई पार्टीको झण्डा ओढाएर प्रचण्डले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।


प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । आँखाभरी आँशु लिएका प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएका थिए ।

२०५७ देखि नै नेकपा माओवादीमा पूर्णकालिन भएर सचिवालयमा काम गरेका प्रकाशको ३६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा पनि प्रकाशले नै सचिवालयको जिम्मा निर्वाह गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

“युद्धकालको दिनमा समेत कहिले पनि बिचलित नभई काम गर्नुभयो,” भुसालले भनिन्, “यसले हाम्रो पार्टी र आन्दोलनमा क्षति पुगेको छ । प्रकाशका २ श्रीमति र २ छोरा छन् ।”

प्रकाशको पार्थिव शरीरमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, वर्षमान पुन, कांग्रेस नेता एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठ लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । (शिखरन्युज बाट)