समीक्षाको प्रश्न– मलाई गाली गर्ने अधिकार तिमीहरूलाई कसले दियो ?

काठमाडौं । गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूमाथि हुने नाकारात्मक आलोचनाको खरो आलोचना गर्दै आएकी छन् । आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै हुने गरेका आलोचना गर्ने अधिकारी कसैलाई नरहेको पनि उनले बताउँने गरेकी छन् ।

आत्मसम्मानमा चोट पुग्नेगरी सामाजिक सञ्जालमा कमेन्ट गरे कानुनी उपचारको खोजी गर्ने उनले चेतावनी दिने गरेकी छन् । साइबर क्राइम अन्तर्गतको कानुनी उपचार खोज्ने उनले बताएकी बताएकी छन् ।

अरुका कमजोरी नदेख्नेहरूले आफ्ना कमजोरी पहिल्याउने गरेको भन्दै उनले असन्तुष्टि जनाएकी छन् । “मान्छे हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन् । एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन,” समीक्षा सामाजिक सञ्जालमा लेख्छिन्, “नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।”

कानुनी उपचार खोज्ने उनको चेतावनीसहितको पोष्टमा समेत गाली गरेपछि समीक्षाले फेरि असन्तुष्टि जनाउँदै आफू नबोलेकै कारण आफू हेपिएको बताएकी छन् ।

“उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ ब्यक्तिको होइन ब्यक्तित्वको कुरा गर्छ । मध्यमस्तरका ति हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ,” मान्छे तीन किसिमको हुने गरेको भन्दै उनी अगाडि लेख्छिन्, “यी रुख होइनन्, फल र फूल पनि होइनन् । पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने ।”

उमेरका कारण धेरै कुरा नबुझ्ने नाबालिकालाई बाटो देखाउने काम समाज र अभिभावकको भएको भन्दै त्यसलाई भुलेर उल्टै कुरा काट्ने गरेको भन्दै उनले असन्तुष्टि पोखेकी छन् । “सानो उमेरमा छोरी मान्छे बहकिन्छन् । राम्रो/नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्तो कानुनमा जेलिएको छ भन्ने उनीहरूलाइ थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ,” समीक्षा अगाडि लेख्छिन्, “म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस्, म एक्लै कोठामा गाउँछु । एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ । कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?”