मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’को उपाधी विजेता नेपाली चेली शिलास्मा हमाललाई फेसियल हाउसले गर्यो स्वागत

काठमाडौं – ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’को उपाधी विजेता नेपाली चेली शिलास्मा हमाललाई फेसियल हाउसले स्वागत गरेको छ । मलेशियाको कोटाकिनाबालोमा शनिबार सम्पन्न ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’ की विजेता हमाललाई मंगलबार सीटिसि मलमा अवस्थित फेसियल हाउसमा एक कार्यक्रमका बीच स्वागत गरिएको हो ।

शनिबार सम्पन्न ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’ प्रतिस्पर्धामा विभिन्न १८ मुलुकका २१ जना विवाहित महिलाहरुको सहभागिता रहेको थियो । विभिन्न चरणपछि फाईनलमा पुगेकी शिलास्माले ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’को उपाधीसँगै ‘उत्कृष्ट पहिरन’, ‘उत्कृष्ट प्रस्तुती’ र ‘सुन्दर मुस्कान’को उपाधी समेत हात पारेकी छिन् ।

फेसियल हाउसकी पूर्वा विद्यार्थी समेत रहेकी शिलास्मा हमाललाई फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहले स्वागत तथा बधाई ज्ञापन गरेकी थिइन् । कार्यक्रममा आफ्नो मन्तब्य राख्दैं महराले ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’को उपाधी शिलास्मा हमालले मात्र जितेको नभएर सम्पूर्ण विवाहित नेपाली महिलाले जितेको बताइन् । उनले एउटा विवाहित महिलाका लागि घरबाट बाहिर निस्कनु कठिन रहेको प्रसंग जोड्दैं अन्तर्राष्ट्रिय स्तरमा भएको प्रतिस्पर्धामा गएर उपाधी हात पार्नु सम्पूर्ण नेपालीका लागि गर्वको कुरा रहेको बताइन् ।

कार्यक्रममा उपाधी विजेता हमालले परिवारको साथ र सहयोगबिना विवाहित महिलाका लागि व्युटी प्रेजेन्ट भाग लिन सहज नहुने बताइन् । उनले यसमा अगाडी बढ्न प्रेत्साहन दिने आफ्नो परिवार, आफुलाई सधै साथ र हौसला प्रदान गर्ने सुष्मा महरा साथै आफुलाई तालिम दिने दिक्पाल कार्कीलाई समेत धन्यवाद ज्ञापन गरेकी थिइन् ।

फरक प्रसंगमा हमालले नेपालमा ‘भ्रमण बर्ष २०२०’ चलिरहेको र आफुले यहि अन्तर्गत रहेर उपाधी जितेकाले नेपालको प्रचार प्रसार गर्ने काम गरिरहेको र आगामी दिनमा पनि गर्ने बताइन् । उनले सरकारले भ्रमण बर्षको प्रचारप्रसार गरिरहेको भएता पनि प्रचारप्रसार अझै प्रभावकारी रुपमा गर्नुपर्ने धारणा राखिन् । साथै उनले अन्तर्राष्ट्रिय स्तरमा भएको प्रतियोगिताको उपाधी हात पारेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पाएकोमा खुसी व्यक्त गरिन् ।

विजेता हमालले अन्तर्राष्ट्रिय स्तरमा हुने व्युटी प्रेजेन्टमा भाग लिने प्रतियोगीले व्यक्तिगत रुपमा सम्पूर्ण काम गर्नु पर्ने बाध्यता रहेको बताउदैं यसका लागि सम्बन्धित सरकारी निकायबाट साथ र सहयोग भएमा नेपाली चेली अझै अगाडी बढ्न सक्ने धारणा राखिन् ।

विगत लामो समयदेखि मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही व्युटी पेजेन्टमा पनि यस अघि ताज जितिसकेकी छिन् । उनले यस अघि ‘ब्यूटिसियन नेपाल २०१८’ को ताज जितेकी थिइन् । यसका साथै उनी म्युजिक भिडियोमा समेत व्यस्त मोडलका रुपमा चिनिएकी छिन् ।

दुई छोराकी आमा समेत रहेकी हमाल सामाजिक सेवामा पनि सक्रिय छिन् । उनले चार जना अनाथ बालबालिका तथा एक बृद्ध आमालाई पालन पोषण गर्दै आएकी छिन् । उनले आर्थिक अवस्था कमजोर भएमा महिला दिदी बहिनीलाई व्यक्तिगत खर्चमा ब्यूटिसियन तालिम पनि प्रदान गर्ने गर्दछिन् ।