सेमिफाइनलमा भिड्न लागेको फ्रान्सलाई ठूलो झड्का, दुई मुख्य खेलाडी नखेल्ने !

काठमाडौं । विश्वकपअन्तर्गत बुधबार राती डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग फाइनल प्रवेशका लागि पहिलो पल्ट विश्वकपको सेमिफाइनल पुग्ने अफ्रिकी राष्ट्रको छवी बनाएको मोरक्कोको प्रतिस्पर्धा हुदैछ।

पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरिसकेको छ। यस्तो अवस्थामा आज फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल झन् रोचक बन्ने पक्का छ।

अहिले फ्रेञ्च टोलीको सबैभन्दा ठूलो चिन्ता चोटग्रस्त खेलाडीहरू हुन्। मोरक्कोका लागि इतिहास रच्ने सुनौलो मौका छ। तर, केलियन एमबाप्पे, ओलिभर जिरुड, आन्टोन ग्रेजमन र ओस्माने डेम्बेले जुन लयका साथ खेलिरहेका छन्, यसले मोरक्कोलाई गाह्रो पर्ने पक्का छ।

आजको खेलमा फ्रान्सका दुई प्रमुख खेलाडी डिफेन्डर डेयट अपमेकानो र मिडफिल्डर एड्रियन रेबियट मैदानमा उत्रिनेमा आशंका छ। उनीहरू बिरामी छन्। बुधबारको खेलका लागि भएको अभ्यासमा पनि उनीहरू देखा परेका थिएनन्।

यद्यपि लेस ब्लुज टोलीमा स्टार खेलाडीको कमि छैन। उनीहरूको ठाउँमा सेन्टर ब्याकमा इब्राहिमा कोनाते र मिडमा युसुफ फोफाना फर्किने सम्भावना प्रबल छ।

इंग्ल्याण्डविरूद्ध गोल गरेका औरेलियन चौउमेनीलाई पनि आज डिफेन्सिभ मिडफिल्डमा उतार्ने सम्भावना बलियो छ। यद्यपि उनी पनि देब्रे खुट्टामा समस्या भएपछि सोमबारको अभ्याससत्रमा देखिएका थिएनन्। तर, मंगलबार टोलीमा फर्किएको फ्रेञ्च फुटबल संघले जनाएको छ।

उनी जारी विश्वकपमा फ्रान्सबाट हरेक खेलमा प्लेइङ–११ मा समावेश खेलाडी हुन्। मोरक्कोलाई पनि चोटले नसताएको होइन। कप्तान रोमान साइस र वेस्ट हामबाट खेल्ने सेन्टर ब्याक नायफ अगेर्ड पनि चोटग्रस्त देखिन्छन्। तर, मोरक्को प्रशिक्षक वाइद रेग्रागीले बुधबारको खेलमा सबै खेलाडी उपलब्ध हुने बताएका छन्।

‘हामीसँग राम्रो चिकित्सक समावेश छन्। हरेक दिन हामीले शुभ समाचार सुन्न पाइरहेका छौं। कोही पनि टिमबाट बाहिरिसकेको अवस्था छैन। हामी राम्रो टोली मैदानमा उतार्ने छौं,’ उनले अन्तर्राष्ट्रिय मिडियाहरूसँग भनेका छन्।

फ्रान्सको आक्रामणको धार बुझेका रेग्रागी विपक्षी टोलीलाई रोक्न विशेष योजना नबनाएको बताउँछन्। तर, आजको खेलमा एकजुट भएर मैदानमा उत्रिने उनको भनाई छ।

केलियन एमबाप्पे विश्वकपको सर्वाधिक गोलकर्ता हुन्। उनले जारी विश्वकपमा सर्वाधिक ५ गोल गरेका छन्। उनीसँगै अर्जेन्टिनाका लिओनल मेसीले पनि पाँच गोल गरेका छन्।

आज उनलाई रोक्ने अभियानमा सबैभन्दा बढी भूमिका डिफेन्डर अचर्फ हाकिमीको काँधमा हुनेछ। हाकिमी र एमबाप्पे एउटै क्लबबाट व्यवसायिक फुटबल खेल्छन्। हाकिमी पनि पेरिस सेन्ट जर्मेन ९पीएसजी० का भरोसायोग्य डिफेन्डर हुन्। जारी विश्वकपमा उनको प्रदर्शन उत्कृष्ट छ।

पहिले फ्रान्सको शासन रहेको मोरक्कोका अगाडि आजको खेलमा कप्तान तथा गोलकिपर ह्युगो लोरिस सबैभन्दा ठूलो तगारो बन्ने पक्का छ। जारी विश्वकपमा लोरिसको प्रदर्शन पनि उच्च मानिन्छ।

मोरक्कोको पनि सबैभन्दा उत्कृष्ट पक्ष नै सशक्त डिफेन्सिभ लाइन–अप हो। उसले अहिलेसम्म विपक्षी टोलीबाट गोल खानु परेको छैन। एक मात्र गोल आत्मघाती भएको थियो। उसले विपक्षी टोलीको आक्रमणलाई निस्तेज पार्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो।

अहिले उ सेमिफाइनलमा विश्वको सबैभन्दा खतरनाक आक्रामक लाइन–अपसँग जुधिरहेको छ। यी दुईबीचको भिडन्तमा मोरक्कोको डिफेन्स हावी हुने हो कि, फ्रान्सको आक्रामक लाइन–अप, यसले नै खेल निर्धारण गर्नेछ।

फ्रान्सका लागि यसपालि लगातार दोस्रो पल्ट फाइनल पुगेर इतिहास रच्ने मौका छ। उसको मिडफिल्ड र अग्रपंक्ति हेर्दा त्यो सम्भव पनि देखिन्छ। तर, युवा खेलाडीले भरिएको र देशको लागि इतिहास रच्ने अभियानमा रहेको मोरक्को आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रिने पक्का छ।

किनभने आज मोरक्कोलाई केही गुमाउनु छैन। उसले सेमिफाइनल पुगेर आफूलाई विश्वको उत्कृष्ट फुटबल राष्ट्रको सूचीमा आफूलाई उभ्याइसकेको छ। -नेपाल लाइभ डटकम बाट साभार