‘बधाई लिने समय आएको छैन,सबै मिलेर विकासका काम गरौँ’ : रवि लामिछाने

नवनिर्वाचित सांसद लामिछानेले भने। “मलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउनुहोला, म तपाईँहरूको काममा अघि बढ्छु, मलाई साथ दिनुहोला”, उनले सबैलाई अनुरोध गर्दै भने।

अध्यक्ष लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इञ्जीनियर रञ्जन ठाकुरलाई काम गराउने प्रतिबद्धता गराए। ठेकेदार कम्पनीका व्यवस्थापक थपलियाले भने, “विभिन्न समस्याले सडक निर्माणमा ढिलाइ भएको हो, अब हामी ढिला नगरी भोलिबाटै काम अगाडि बढाउँछौँ”, उनले आइतबारदेखि निर्माण सामग्री ल्याउन सुरु गर्ने र पिच निर्माणको काम तत्काल अघि बढाइहाल्ने बताए। “यो मङ्सिरभित्र सबै काम सकिन्छ, निर्वाचनलगायतका विभिन्न कारणले ढिलाइ भएको हो, अब हुँदैन”, उनले भने।

यस्तै इञ्जीनियर ठाकुरले प्राविधिक कारणले सडक निर्माणको काम ढिलाइ भएको बताए। विद्युत्को पोल समयमै नसार्नु, ढल निर्माणको कामपछि मात्रै समावेश हुनाले कामलाई असर परेको बताए। अब सबै काम सकिएकाले निर्माण काम नरोकिने प्रतिबद्धता जनाए।

स्थानीय यमलाल कँडेलले भने, “यस्ता प्रतिबद्धता उहाँहरूले धेरै गर्नुभयो तर बाटो बनेन, अहिले फेरि प्रतिबद्धता जनाउनुभयो अबचाहिँ काम होस् ।”

करिब तीन हजार एक सय मिटर उक्त सडकखण्डमा दुई हजार छ सय मिटर कालोपत्र निर्माण सकिएको निर्माण कम्पनीले जनाएको छ। अब धर्मचोक क्षेत्रका पाँच सय मिटर सडक पक्की गर्न मात्र बाँकी भएकाले छिट्टै काम सकिने कम्पनीले जनाएको छ। सो क्रममा निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव लामिछानेले चितवनका कुनै पनि अधुरा निर्माणका काम तत्काल सक्ने गरी काम अघि बढेको बताए।