गगन थापाबिरुद्ध पार्टीभित्रै गम्भीर उजुरी: स्वतन्त्र पार्टीसँग मिलेर गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात!

काठमाडौँ – कांग्रेस महामन्त्री एवं काठमाडौँ ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गगन थापाविरुद्ध कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध संगठित रुपमा असहयोग गरेको उजुरी परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर थापाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरेको उजुरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुगेको हो।

बालुवाटार स्रोतका अनुसार शनिबारसम्म कांग्रेसका तीन जना पराजित उम्मेदवारहरुले देउवासँग भेटेरै थापाले स्वतन्त्र पार्टीसँग मिलेर महामन्त्री थापाले अन्तर्घात गरेको भन्दै उजुरी गरेका हुन्।

देउवा निकट स्रोतले देशसञ्चारसँग भन्यो, ‘उहाँले चुनावमा स्वतन्त्र पार्टीसँग मिलेर संगठित रुपमा असहयोग गर्नुभयो भन्ने उजुरी ठाउँठाउँबाट आएको सत्य हो। उम्मेदवारहरुले सभापतिज्यूलाई नै भेटेर जानकारी गराउनुभएको छ।’

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेताहरुले पनि कांग्रेसको थापा समूह स्वतन्त्र पार्टीसँग मिलेको दाबी गरे पनि अहिलेसम्म खुलेर बोल्न सकेका छैनन्। काठमाडौँ २ मा माओवादीकी उम्मेदवार ओनसरी घर्तीलाई कांग्रेसको मत नखस्नुलाई थापासँग जोडेर माओवादीहरुले हेरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ६ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीमसेनदास प्रधानले सबैभन्दा पहिला देउवालाई भेटेर थापाले संगठित रुपमा असहयोग गर्दा आफूले पराजय भोग्नु परेको गुनासो गरेका छन्। अघिल्लोपटक त्यहीँबाट चुनाव जितेका प्रधान यसपटक तेस्रो भए भने स्वतन्त्र पार्टीका शिशिर खनालले चुनाव जितेका छन्।

चितवन २ बाट उम्मेदवारी दिएका उमेश श्रेष्ठले पनि थापा समूह स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिताउन लागेको जानकारी सभापति देउवालाई गराएका छन्।

त्यहाँ लामिछाने ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठ १४ हजार ९८८ सहित दोस्रो र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मतसहित तेस्रो भए।

राज्यमन्त्रीसमेत रहेका श्रेष्ठले सभापति देउवालाई थापाले असहयोग गरेको भन्दै सिकायत गरेको जानकारी उनका एक निकटस्थले दिए। नाम उल्लेख गर्न अस्वीकार गरेका ती व्यक्तिले भने, ‘सभापतिलाई हामीले उनको समूहबाट असयोग भयो। स्वतन्त्रसँग मिलेर भोट हाले भन्ने उजुरी दिएका छौँ।’

नवलपरासी पश्चिम १ बाट उम्मेदवार भई जितेका कांग्रेस उम्मेदवार विनोद चौधरीले पनि थापा समूहले स्वतन्त्र पार्टीसँग मिलेर अन्तर्घात गरेको दाबी सभापति देउवासँग गरेका छन्।

त्यहाँ स्वतन्त्र पार्टीले महेन्द्र सिंह ठकुरीलाई उम्मेदवार बनाएको थियो। उनी १२ हजार ४९९ मत ल्याएर तेस्रो भएका छन्। थापा समूहको सहयोगका कारण कांग्रेसको भोट ठकुरीलाई गएको गुनासो चौधरीले देउवासँग गरेका छन्। त्यहाँ चौधरी २९ हजार ५१९ मतसहित निर्वाचित हुँदा एमालेले समर्थन गरेको जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत पाएका छन्।

उजुरी गर्न पुगेका सबैले थापाको निर्वाचन क्षेत्र काठमाडौँ ४ मा स्वतन्त्र पार्टीको उम्मेदवार नहुनुलाई गम्भीरतापूर्वक उठाएका छन्।

देउवा निकट ती नेताले भने, ‘गगनजीकै क्षेत्रमा स्वतन्त्र पार्टीको उम्मेदवार नहुने अरु क्षेत्रमा भएका उम्मेदवारले कांग्रेससमेत उल्लेख भोट काट्ने अवस्था कसरी बन्यो? भन्ने उहाँहरुको भनाइ छ। गगनजीले अरु निर्वाचन क्षेत्रका चुनावीसभामा सम्बोधन गर्न पटक पटक आग्रह गर्दा पनि अस्वीकार गर्नुभएको रहेछ।’

गगनविरुद्ध उजुरी गर्न जानेहरुलाई देउवाले यसबारेमा पार्टीमा छलफल हुन्छ भनेर आश्वासन दिएका छन्।

काठमाडौँ १ मा कांग्रेसबाट जितेका प्रकाशमान सिंहले थापाकै सहयोगमा जितेको चर्चा कांग्रेसभित्र छ। सिंहले थापालाई संसदीय दलको नेतामा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि मात्रै उनले चुनावमा सहयोग गरेको दाबी विश्वस्त स्रोतले गर्‍यो।

काठमाडौँ १ को चुनावमा खटिएका कांग्रेसका एक कार्यकर्ताले भने, ‘गगनलाई दलको नेतामा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि मात्रै सिंहले जित्ने अवस्थामा बनेको हो। अन्यथा भन्न सकिँदैनथ्यो।’

काठमाडौँ १ मा सिंहले जम्मा १२५ भोटले राप्रपाका रविन्द्र मिश्रलाई जितेका हुन्। सिंहले ७ हजार १४३ मत ल्याउँदा मिश्रले ७ हजार १८ मत पाए। स्वतन्त्र पार्टीका पुकार बमले काठमाडौँ- १ मा ४ हजार ११५ मत ल्याएका छन्।