बारा बस दुर्घटना : मृत्यु हुनेको संख्या १६ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जस्थित यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु बाराका प्रहरी प्रबक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये थप दुई जनाको हेटौँडाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे उनले बताए ।

मृतक मध्ये १० जना पुरुष र ६ जना महिलाहरू रहेका छन् । दुर्घटनामा परी घाइते भएका १३ जनाको हेटौँडाकै विभिन्न अस्पतालमा उपचार भइ रहेको थापाले बताए ।

बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटनामा परेको थियो ।

३५ जना यात्रु सवार भएको बस बिहान साढे १० बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलबाट तल खोलामा खसेको थियो।