सन्दिप लामिछानेको अबको लडाइँ कानुनी रुपमा !

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि लामिछाने पक्राउ परेका हुन् ।

कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।पक्राउ परेका सन्दीपले रुमालले हतकडी छोपेका थिए ।

सधै फूलमाला र खादाले स्वागत हुने विमानस्थलमा हातमा हत्कडी लागेपछी सन्दिपका आखा रसाएका थिए ।सेता परिहनमा रहेका उनले अनुहारमा कालो मास्क लगाएका छन् । सन्दीपले आफू कानुनी लडाइँ लड्न तयार भएकाले हतकडी नलगाइदिन प्रहरीसँग अनुरोध गरेका थिए ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार सन्दीपले प्रहरीलाई पत्र लेख्दै सुरक्षित र हतकडी नलगाइ प्रहरी कार्यालय लैजान आग्रह गरेका थिए ।तर प्रहरीले हतकडी नलगाउन गरिएको आग्रहलाई भने स्वीकार गरेन ।सन्दीपलाई विमानस्थलबाट ओर्लनासाथ नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा लिएर हतकडी लगाइएको थियो । लामिछानेले आज नेपाल आएर प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका थिए । उनले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै आफू बिहान १० बजे त्रिभुवन विमानस्थलमा उत्रिने र त्यहीँबाटै प्रहरीसमक्ष समर्पण हुने जानकारी दिएका थिए ।

आफू निर्दोश रहेको दाबी गर्दै सन्दीपले विमानस्थलमा आफ्ना कानुन व्यवसायीको उपस्थितिका लागि स्वीकृति मागेका थिए । उनले आफू ठूलो षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको र यसको प्रभावको असर अकल्पनीय रहेको उल्लेख गरेका छन् ।

उनले कानुनी प्रणालीमा निर्दोश साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा जोड दिएका छन् । आफूमाथि लागेको आरोपका विरुद्ध न्याय पाउनेमा विश्वस्त रहेको बताउँदै उनले छिट्टै क्रिकेट मैदानमा फर्केर देशको नाममा कीर्तिमान बनाउने विश्वास व्यक्त गरेका छन् ।