डा. बाबुराम भट्टराईले पटकपटक चुनाव जितेको ठाउँ गोरखा -२ मा किन जाँदैछन् प्रचण्ड ?

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन छाडेर गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने मनस्थिति बनाएका छन्।

निर्वाचनपछि पार्टी एकता नै गर्नेगरी माओवादीसँग चुनावी मोर्चाबन्दी गरेका बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नै चितवन ३ भन्दा सुरक्षित क्षेत्र गोरखा २ बाट प्रतिनिधि सभा चुनाव लड्न प्रस्ताव गरेपछि प्रचण्डले गोरखा जाने मनस्थिति बनाएका हुन्।

भट्टराई २०७४ मा गोरखा २ बाट निर्वाचित सांसद हुन् भने श्रेष्ठ सोही क्षेत्रबाट भट्टराईसँग पराजित भएपछि अहिले राष्ट्रिय सभाको सदस्य छन्। भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा रहेको गोरखा २ मा उनीहरू दुवैले प्रस्ताव गरेपछि प्रचण्डका लागि निर्णय गर्न सहज भएको छ। तर प्रचण्डले अन्तिम निर्णय लिइसकेका छैनन्।

‘बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले नै गोरखाबाट चुनाव लड्न अध्यक्षलाई प्रस्ताव गर्नु भएको छ, गोरखाका साथीहरूको पनि माग छ,’ प्रचण्ड निकट माओवादीका एक नेताले भने, ‘जाने मनस्थिति भए पनि अध्यक्षले निर्णय गरिसक्नु भएको छैन।’

चितवनका माओवादी नेताहरूले भने प्रचण्डलाई चितवन नछाड्न आग्रह गरेको उनले बताए।

सत्ता गठबन्धनमा कांग्रेसभित्रको विवादले गर्दा शेखर कोइराला पक्षको पकड रहेको चितवनमा जोखिम हुने देखेर प्रचण्डले विकल्प खोज्नु परे गोरखा जाने मनस्थिति बनाइरहेकै थिए। कांग्रेसमा समानुपातिकको सूचीमा देखिएको विवाद साम्य भएपनि प्रत्यक्ष उम्मेदवारको विवाद कायम छ।

माओवादीका अर्का एक नेताका अनुसार प्रचण्डले गोरखा जाने मनस्थिति बनाएपछि नै त्यस क्षेत्रबाट २०७४ मा चुनाव जितेका बाबुराम भट्टराईले यस पटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।

‘अध्यक्ष प्रचण्ड गोरखा जाने भन्नुहुन्छ, एक दुई दिनमा घोषणा होला,’ माओवादीका ती नेताले भने, ‘हामीले रोल्पा–रुकुम गएपनि हुन्छ भनेका हौँ, तर उहाँले गोरखा नै जाने मनस्थिति बनाउनु भएको छ।’

माओवादीकै चुनाव चिन्ह र एउटै घोषणा पत्र लिएर चुनावमा जान लागेको नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले सोमबार बिहान मात्र आफू यस पटक प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए। भट्टराईको घोषणासँगै माओवादीको प्रभाव क्षेत्र गोरखाबाट को उम्मेदवार हुन्छ त भन्ने चासो बढेको छ। तर आफ्नो घोषणासँगै भट्टराईले गोरखाबाट प्रचण्ड चुनाव लड्ने संकेत पनि गरेका छन्।

‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने सबैलाई विनम्र जानकारी गराउन चाहन्छु,’ भट्टराइले भनेका छन्, ‘म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु– मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीव्रता पाउनेछ। म त्यहाँ साथमा हुनेछु।’

माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि सुरुमा राष्ट्रिय सभाबाट राजीनामा दिएर गोरखामा चुनाव लड्ने मनस्थिति बनाएका थिए। श्रेष्ठ निकट एक नेताका अनुसार अहिले उनी चुनाव नलड्ने निर्णयमा पुगेका छन्।

‘नारायणकाजी यस पटक चुनाव लड्न गोरखा जानु हुन्न, बरु अध्यक्ष प्रचण्ड नै गोरखा जाने तयारी छ,’ ती नेताले भने।

एमालेसँग गठबन्धन हुँदा चितवन ३ बाट २०७४ को चुनाव जितेका प्रचण्डले आफ्नो क्षेत्रमा आर्थिक–सामाजिक विकासका धेरै आयोजनाहरू सञ्चालन गरेका छन्। छोरी रेनु दाहाल नै भरतपुरको मेयर हुँदा प्रचण्डलाई विकासका आयोजनाहरू सञ्चालन गर्न र पार्टीको प्रभाव विस्तार गर्न सहज भएको ठानिएको थियो।

यसअघि रोल्पा, काठमाडौं र सिरहाबाट चुनाव जितेका प्रचण्ड अब आफ्नै गृहजिल्ला चितवनमा स्थिर हुन चाहेका थिए। त्यसैले उनी मतदाताका प्रश्न सुन्न र उनीहरूसँग नजिकिन पटक पटक आफ्नो क्षेत्र गइरहेका थिए।

भरतपुर महानगरमा दोस्रो पटक पनि कांग्रेससँगको गठबन्धनमा रेनु मेयर बन्न सफल भइन। यसपालीको स्थानीय चुनावमा माओवादीले भरतपुरमा पहिले भन्दा बढी भोट पाउनुमा आर्थिक विकासका कार्यक्रमसँगै माओवादीको प्रभाव पनि बढेको ठानिएको थियो।

तर स्थानीय चुनावमा विद्रोही उम्मेदवार नै खडा हुने गरी कांग्रेसमा विवाद बढ्यो, जुन अहिले झन् गहिरिएको मानिन्छ। केन्द्रमा गठबन्धन भएपनि प्रचण्डविरुद्ध चितवन ३ मा कांग्रेसका विद्रोही उममेदवार बन्ने सम्भावना बढेपछि प्रचण्डले गोरखा जाने मनस्थिति बनाएको माओवादीका नेताहरूको भनाइ छ।

बारम्बार चितवनबाटै निर्वाचन लड्ने बताउँदै आएपनि अघिल्लो हप्ता भरतपुरको आफ्नो नयाँ घरमा तीन दिन बसेर फर्केपछि प्रचण्ड मौन छन्। कांग्रेसभित्रको विवाद बढ्दै गर्दा माओवादीका चितवन जिल्ला सहइन्चार्ज यमबहादुर परियारसहित केही कार्यकर्ता एमाले प्रवेश गरेपछि सायद प्रचण्डलाई गोरखा जाने टुंगोमा पुग्न बल मिल्यो। यद्यपी एमाले प्रवेश गरेका केही कार्यकर्ता एक हप्तापछि नै माओवादीमा फर्केर सक्रिय भएका छन्।

माओवादीका नेताहरूको भनाइमा चितवन ३ मा प्रचण्डलाई चुनाव जित्न समस्या छैन। एमालेले राप्रपासँगको तालमेलमा चितवन ३ राप्राका विक्रम पाण्डेलाई छाड्ने करिब निश्चित भएपनि त्यसबाट प्रचण्डको जित झन् सुनिश्चित हुने माओवादीका नेताहरूको दाबी छ।

‘स्थानीय चुनावमा आफ्नै पार्टीको मेयर उम्मेदवार हुँदा त एमालेबाट माओवादी उम्मेदवार रेनु दाहाललाई भोट आयो भने प्रतिनिधि सभामा राप्रपाका उम्मेदवार हुँदा त झन् बढी भोट आउने अवस्था छ,’ माओवादी चितवनका एक नेता भन्छन्, ‘तर गठबन्धनको मुख्य पार्टी कांग्रेसभित्रको विवादले चाहिँ अलि गम्भीर बनाएको हो।’

निर्वाचनपछि कांग्रेस वा एमालेसँग गठबन्धन सरकार बन्दा प्रचण्ड प्रधानमन्त्रीका आकांक्षी हुन्। त्यसैले पनि उनले जोखिमरहित क्षेत्रमा जानु पर्ने सल्लाह कार्यकर्ताले दिँदै आएका छन्।

माओवादीका केही नेता–कार्यकर्ताले प्रचण्डलाई गोरखाबाट चुनाव लड्न पहिलेदेखि नै सल्लाह दिँदै आएका थिए। र, प्रचण्डको सचिवालयले त्यसलाई सकारात्मक रुपमा लिएर चितवन र गोरखा दुवै क्षेत्रको अवस्था अध्ययन विश्लेषण गरिरहेको छ। गोरखाकै माओवादी नेता, प्रचण्डका पूर्व स्वकीय सचिव चुडामणि खड्काले यसमा प्रचण्डलाई सहयोग गरिरहेका छन्।

माओवादीको गोरखा जिल्ला समन्वय समितिका संयोजक विष्णुप्रसाद भट्टले उम्मेदवारीको विषयमा पार्टीले कुनै जानकारी नदिएपनि प्रचण्ड गोरखा आउने अपेक्षा रहेको बताए।

‘प्रचण्ड आउने हाम्रो अपेक्षा छ तर अहिले केही भन्नसक्ने स्थिति छैन,’ भट्टले भने, ‘गोरखा २ माओवादीको बलियो जनाधार भएको क्षेत्र हो, वडाको मतलाई मात्र आधार मान्दा माओवादी पहिलो छ, माओवादीले एक्लै पनि चुनाव जित्न सक्ने अवस्था छ।’

हुन त प्रचण्डलाई रोल्पा–रुकुमबाट चुनाव लड्न पनि त्यस क्षेत्रका नेताहरूले सल्लाह दिइरहेका छन्। तर प्रचण्ड र उनको सचिवालयको विश्लेषणमा अहिले गोरखा पहिलेका ‘आधार इलाका’ रोल्पा–रुकुमभन्दा पनि माओवादीका लागि सुरक्षित जिल्ला हो।

त्यसको बलियो आधार हो– स्थानीय चुनावमा गोरखामा माओवादीको ‘कमब्याक’। २०७४ को चुनावमा २ पालिकामा सिमित भएको माओवादी यसपटक २ नगरपालिकासहित ९ मा जित हात पार्न सफल भएको छ। २०७४ मा ९ पालिका प्रमुख जितेको कांग्रेस भने २ मा खुम्चिएको छ। गोरखामा एमाले भने वडामै खुम्चिएको छ।

माओवादीका लागि बाबुराम भट्टराईले चुनाव जितेको गोरखा २ र माओवादी आफैंले चुनाव जितेको १ दुवै क्षेत्र सुरक्षित मानिन्छन्। तर सत्ता गठबन्धनमा २०७४ मा माओवादीले जितेको गोरखा १ कांग्रेसलाई छोड्न प्रचण्ड सहमत भैसकेका छन्।

पहिलेभन्दा जिल्लामा माओवादी निकै बलियो भएको अवस्थामा पनि आफ्नै पार्टीले जितेको क्षेत्र कांग्रेसलाई छोड्न तयार हुनुको अर्थ प्रचण्ड गोरखा २ मा ढुक्क हुन खोजेको देखिन्छ।