प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम

गोरखा- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चुनावी राजनीति नगर्ने मनस्थितिमा पुगेका छन् ।

केही दिनयता डा. भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुने मनसाय व्यक्त गर्न थालेका छन् ।

उनले पार्टी पंक्तिमा आफू प्रत्यक्ष चुनाव नलड्ने र समानुपातिकमा पनि नबस्ने योजना सुनाइरहेका छन् । ‘उहाँ (डा. भट्टराई) अब सत्ता राजनीतिबाट टाढा बस्ने र पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुनेगरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ’, एक नेता भन्छन्, ‘७० वर्ष पुग्ने बेलामा नयाँ पुस्तालाई छाडिदिनुपर्छ र हामीले राजनीतिक वैचारिक रूपमा नयाँ पुस्तालाई सघाउनुपर्छ भन्नुभएको छ ।’

शनिबार नेसपा, काठमाडौंले आयोजना गरेको चियापानमा अतिथि बनेर गएका प्रचण्डले आफू र बाबुराम भटट्राई अब सँगै उभिने र यसको ठूलो अर्थ हुने बताएका थिए ।

समृद्धि र विकासको नयाँ मोडल दिनुपर्ने भन्दै प्रचण्डले उमेरको हिसाब गर्दै भनेका थिए, ‘हाम्रो जीवनको धेरै वर्ष बाँकी छैन । हामीले हिसाब गरेका छौं । बढी भए एक दशक । एक दशक विकासको नयाँ मोडल दिएर खुशीसाथ संसारबाट विदा हुने सपना बनाएका छौं ।’

प्रचण्ड र भट्टराई एकै उमेरका हुन् । माओवादीका एक नेताका अनुसार चुनावपछि नेताद्वयबीच डा. भट्टराई वैचारिक राजनीतिक काममा केन्द्रित हुने सहमति छ ।

‘प्रचण्डजीले सत्ता राजनीति र डा. भट्टराईले राजनीतिक वैचारिक काममा केन्द्रित हुने गरी नेताद्वयले समझदारी बनाएका रहेछन्,’ ती नेताले भने, ‘भट्टराई प्रत्यक्ष वा समानुपातिकबाट संघीय सांसदमा निर्वाचित हुँदा प्रधानमन्त्रीका दावेदार प्रचण्डले असुरक्षा महसुस गर्ने र नेताद्वयबीच असमझदारी बढ्ने सम्भावना नरहोस् भन्नका लागि प्रचण्ड पनि भट्टराई सांसद भएको देख्न चाहँदैनन् ।’

तर भट्टराई निकट नेताहरुले भने चुनाव नलड्ने निर्णय नगर्न दबाव दिइरहेका छन् । एक नेता भन्छन्, ‘यो उहाँको मात्र निजी विषय होइन, हामीसँग पनि जोडिएकाले यो चुनावमा दायाँबायाँ गर्न पाउनुहुन्न भनेका छौं । उहाँ मान्नुभएको छैन ।’

नेताहरुका अनुसार प्रचण्ड र भट्टराईबीच आजभोलि हुने छलफलले यसबारे निर्णय गर्नेछ ।

माओवादी केन्द्र र नेसपाबीच एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने र चुनावपछि पार्टी एकता गर्ने सहमति भएको छ । नेकपा एकीकृत समाजवादी पनि त्यसका लागि तयार छ र एउटै घोषणापत्रमा चुनाव लड्ने नेताहरुले बताएका छन् ।