‘राष्ट्रिय झन्डा छातीमा राखेर खेल्न पाउँदा खुसी छु, ह्याट्रिकबारे शब्दमा भन्न सक्दिनँ’ – अञ्जन विष्ट

काठमाडौं । नेपालका फरवार्ड अञ्जन विष्टले लामो समयपछि राष्ट्रको झन्डा छातीमा राखेर खेल्न पाएको खुसी लागेको बताएका छन् । अञ्जनको ह्याट्रिकमा नेपालले मंगलबार मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ ले हराएको छ । अञ्जनले ह्याट्रिकको खुसी शब्दमा बर्णन गर्न नसक्ने बताए ।

‘‘धेरै पछि राष्ट्रको झण्डा छातीमा राखेर खेल्न पाएकोमा खुसी छु । मैले कहिल्यै आफ्नो स्वार्थका लागि खेलिन । आज पनि देशका लागि खेलेको थिए । गोल गर्न पनि सफल भए । यो जित म सम्पूर्ण नेपालीलाई विजय दशमीको शुभकामना दिँदै समर्पित गर्न चाहन्छु,’’ खेलपछि अञ्जनले भने, ‘‘म यो खुसी शब्दमा बर्णन गर्न सक्दिनँ ।’’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले १८ औँ मिनेटमा अञ्जन विष्टको गोलबाट अग्रता लिएको थियो । २७ औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाएका अञ्जनले ३८ औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । यससँगै अञ्जनको अन्तर्राष्ट्रिय गोल १० पुगेको छ । जुन नेपालबाट सबैभन्दा धेरै गोल गर्ने हरि खड्का र निराजन मल्लको भन्दा ३ गोलले पछाडि हो ।

राष्ट्रिय टिमबाट अञ्जनको यो पहिलो ह्याट्रिक हो । नेपालबाट ह्याट्रिक पूरा गर्ने अञ्जन छैटौँ खेलाडी हुन् । यससँगै अञ्जनको अन्तर्राष्ट्रिय गोल १० पुगेको छ । यसअघि नेपालबाट गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास, नवयुग श्रेष्ठले पनि ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुगले २०१६ मा माल्दिभ्सविरुद्ध बंगबन्धु गोल्डकपमा ह्याट्रिक गरेका थिए ।

अञ्जनले आफू धेरै गोल गर्ने कीर्तिमानका लागि नखेलेको बताए ।

‘‘धेरै गोल गर्छु भनेर भन्दा पनि टिमको जितका लागि खेल्ने हो । गोलको लागि मात्र सोचेर खेलेको भए आज पनि तीन गोल गरिसकेपछि अझै चढेर खेल्न सक्थेँ । तर, टिमको जितका लागि खेल्ने हो,’’ अञ्जनले थपे, ‘‘गोल गर्दा नै टिमले जित्ने हो । र त्यो गोल कहिले मैले गरेको हुन्छु त कहिले अरू साथीहरूले गर्नुहुन्छ ।’’

गत मार्चपछि अञ्जन राष्ट्रिय टिम परेका थिएनन् । खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप छनोट र त्यसको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा टिमका सिनियर खेलाडी मैदानबाहिर राखेका थिए ।

अहिले त्यतिबेलाका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले पद छाडेको घोषणा गरिसकेका छन् । यस विषयमा एन्फाले भने कुनै आधिकारिक धारणा सर्वजनिक गरेको छैन ।अल्मुताइरी हुँदा नै एन्फाले प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको थियो । कार्यवाहक प्रशिक्षक हुमागाईंले अल्मुताइरीले टिमबाट बाहिर राखेका सबै खेलाडीलाई समावेश गरेका थिए ।

‘‘विगतका गल्तीबाट मैले पाठ सिक्ने मौका पाएको छु । नेपालका लागि जस्तोसुकै अवस्थामा खेल्न तयार छु,’’ अञ्जनले भने, ‘‘म विगतमा के भयो भनेर सम्झन चाहन्न । नेपालबाट धेरै भन्दा धेरै खेल्न चाहन्छु । आज धेरै खुसी छु ।’’