गर्भपतनबारे अझै ढुक्क भएर कुरा गर्ने वातावरण छैन- उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपालमा गर्भपतनबारे अझै ढुक्क भएर कुरा गर्ने अवस्था नरहेको बताएकी छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उपमेयर डंगोलले गर्भपतनलाई पापका रुपमा हेरिँदा समस्या बढिरहेको बताएकी हुन्।

‘सुरक्षित गर्भपतन महिलाको प्रजनन् अधिकार हो। गर्भपतन सेवालाई सुरक्षित गुणस्तरीय, सर्वसुलभ बनाउनु जरुरी छ,’ उनले भनिन्।

यसबारे जनचेतना जगाउन र स्वास्थ्यकर्मीहरू को क्षमता अभिवृद्धिसमेत गर्न आबश्यक रहेको उनले औंल्याइन्। यसका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने समेत उनले उल्लेख गरिन्।

आठौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसका अवसरमा परिवार कल्याण महाशाखा, महिला कानुन र विकास मञ्च, आइपास नेपाललगायतले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन्। कार्यक्रममा आइपास नेपालले गर्भपतनको इतिहासदेखि वर्तमानसम्मका विभिन्न घटनाक्रमहरुलाई समेटेर बनाइएको वृत्तचित्र प्रदर्शन गरेको थियो।

महिला विकास र कानुन मञ्चका कार्यकरी निर्देशक अधिवक्ता सविन श्रेष्ठले नेपालमा सुरक्षित गर्भपतनको सुरूआतदेखि हालसम्मको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे। सो क्रममा उनले हालसम्म ४२ प्रतिशत महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको बारे जानकारी रहेको बताए। अझसम्म पनि ५८ प्रतिशतले महिलाले असुरक्षित गर्भपतन गराइरहेको तथ्यांक छ।