भेटिएन नक्शा विमानस्थलभित्र बालेनको डोजर छिराउदै !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको जोडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भद्रगोल गरिरहेका छन् ।

अधिकारी र श्रेष्ठले नेपाल पर्यटन बोर्डको राजस्व कार्यालय बन्द गराइदिएका छन् । त्यही विमानस्थलभित्र डलर तस्करी काण्डमा पक्राउ परेर छुटेका विवादित व्यापारी सुवास श्रेष्ठले करीव १५ वर्षदेखि कौडीको भाउमा क्याफे अर्थात पसल सञ्चालन गरिरहेका छन् । सुवासलाई प्रदीपले कौडीको भाउमा पसल सञ्चालन गर्न दिएर राज्यलाई ठूलो नोक्सानी पु¥याइरहेको आरोप छ ।

प्रदीप र जीवनरामको मिलोमतोमा बोर्डको राजस्व उठाउने कार्याल बन्द गरिदिएका छन् । त्यस्तै भयो भने सेटिङमा मन्त्री र महानिर्देशक मिलेर आफ्नो मान्छेलाई व्यापार गर्न दिन सक्ने सम्भावना पनि छ ।

विवादास्पद व्यापारी सुवास डलर तस्करीको आरोपमा पक्राउ परेर छुटेका हुन् । सुरुवाती दिनमा सुवासको आर्थिक हैसियत खासै राम्रो थिएन । विमानस्थलभित्र छिरेपछि उनको आर्थिक हैसियत १५ वर्षमा कुनै ‘माडे’को भन्दा कम छैन । सुवासको आर्थिक आम्दान र सम्पत्तिमाथि छानविन गर्न पनि बेलाबेला माग उठ्ने गरेको छ ।

सुवासले करीव १५ वर्षदेखि अदालतका नाममा कौडीको भाउमा क्याफे र पसल सञ्चालन गरेपछि विरोध पनि भइरहेका छन् ।
स्रोतका अनुसार चलखेल गरेर प्राधिकरणका महानिर्देशक अधिकारीले सुवासलाई अहिले पनि पसल सञ्चालन गर्न दिएको आरोप छ ।

महानिर्देशक अधिकारीमा हिम्मत छभने टेण्डर निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय डिपाचारको कक्षमा रहेको सुवासको क्याफे र पसलको टेण्डर निकाल्नुपर्छ । त्यो टेण्डरमा जसको धेरै दररेट पर्छ त्यसलाई दिनुपर्छ । तर, प्रदीपले त्यो हिम्मत गर्न सक्दैनन् । किन भने प्राधिकरणका उच्च कर्मचारी र विवादास्पद व्यापारी सुवासबीच दुषित कुरामा मन मिलेको छ ।

थोरै भाडा तिरेर पाएको पसललाई सुवासले गुमाउन चाहँदैनन् । सुवासले विमानस्थललाई दुहुनो गाई बनाएका छन् ।

क्याफे अर्थात पसल नगुमोस् भनेर सुवासले अदालतमा मुद्दा हाल्न पुगिहाल्छन् । अदालतबाट अन्तरिम आदेश ल्याएर करीव १५ वर्षदेखि विमानस्थल कब्जा गरेर बसेका छन् । सुवासको दादागिरी तोड्न न्यायालयले पनि सकेको छैन । न्यायालयले बोल्ड निर्णय गरिदिने हो भने विमानस्थलभित्र सुवास जस्ता व्यापारीको दादागिरी अन्त्य हुने थियो । राज्यलाई करोडौंको आम्दानी हुने थियो ।

सुवासले प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलविरुद्ध सर्वोच्च अदालतमा ४४ वटा मुद्दा हालेर झमेला र हैरान बनाएका छन् ।

सुवासकै कारण मुद्दा मामिलामा प्राधिकरणले वर्षमा लाखौं रुपियाँ र करोडौं कर गुमाइरहेको छ ।

सुवासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र पनि कौडीको भाउमा क्याफे र पसल सञ्चालन गर्दै आएको आरोप छ ।

तल्लो तहका कर्मचारीहरूले सुवास र प्राधिकरणबीचको मुद्दामा न्यायालयले छिटो फैसला गरिदिए ठीक ढंगले अगाडि बढ्न सकिन्थ्यो कि ? भन्ने धारणा राखेका छन् ।

विगत १५ वर्षदेखि एकलौटी रुपमा सुवासले किन र कसरी टि, कफी एण्ड कन्फेक्सनरी सप चलाए ? भनेर प्रश्न उठेको छ । सुवासले त्यो पसलमा महँगामो सामान बिक्री गर्दै आएको आरोप पनि छ । सुवासले अदालतको आदेशका भरमा पसल सञ्चालन गरेका छन् भने प्राधिकरणले त्यसकै छेउमा अर्को पसल सञ्चालन गर्न किन दिँदैन ? प्रश्न उठेको छ । कुनै पनि व्यापारीले सरकारी सम्पत्तिमाथि १५ वर्षदेखि उच्च तहका कर्मचारी र बिचौलियाको सेटिङविना सञ्चालन गर्न सक्छ ? पक्कै पनि सक्दैन । सुवासले पुरानै दर रेटमा पसलमा थप स्पेस पनि लिएर चलाएको आरोप छ । सुवासले त्यो पसल चलाए पनि प्राधिकरणले नयाँ टेण्डर निकालेर दररेट बढाएर दिनुपर्छ । प्रतिस्पर्धा गरेर व्यापार गर्ने छुट सुवासलाई पनि छ ।

प्राधिकरणलाई आजित बनाएका विवादित व्यापारी सुवास प्राधिकरणका तल्लो तहका कर्मचारीहरू डराउँछन् । महानिर्देशक अधिकारी र मन्त्री श्रेष्ठलाई गोजीमा हाले हिँड्ने हैसियत बनाएका सुवासले पार्किङको छेउमा कान्तिपुर क्याफेको नाममा सञ्चालनमा लिइएको सटरमा आफ्ना सबै कारोबार त्यहिँबाट गर्दै आएका छन् । स्टोरका रुपमा लिइएको सटरलाई सुवासले काठमाडौं उपत्यकाभित्र आफ्ना व्यापारको उत्पादनस्थल बनाएको आरोप कर्मचारीहरूको छ । उनले स्टोरका नाममा भाडामा लिइएको सो ठाउँमा कान्तिपुर क्याफे समेत सञ्चालनमा ल्याएका छन् । यो कुरामा पनि कर्मचारीहरू रिसाएका छन् ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा व्यापारी सुवाससँग सम्पर्क हुन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले सार्वजनिक खरिद ऐनअनुसार सुवास श्रेष्ठलाई क्याफे र पसल सञ्चालन गर्न दिइएको बताए । उनले सम्झौताअनुसार नै काम गर्न दिइएको बताएका छन् । प्रक्रिया लिन फोन गर्दा प्राधिकरणका महानिर्देशक अधिकारीले फोन उठाएनन् ।

प्राधिकरण र विमानस्थलका कर्मचारीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को आवश्यक्ता महशुस गरिरहेका छन् । बालेनको डोजर ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको विवादित व्यापारी सुवासको क्याफेसहितका सेटिङमा दिइएका अबैध संरचनालाई भत्काइदिनुपर्ने चर्चा हुने गरेको छ । प्राधिकरणभित्रको बेथिति र सुवास जस्ता व्यापारीका संरचना भत्काउन बालेन जस्तो हिम्मत भएको व्यक्ति आवश्यक रहेको चर्चा प्राधिकरण र मन्त्रालयमा हुने गरेको छ ।