गठबन्धनमा नयाँ ट्वीस्ट : मित्रवत् प्रतिस्पर्धा गर्ने कांग्रेसको प्रस्ताव

काठमाडौं – सिट बाँडफाँटकोलागि बसेको सत्तारुढ दलको बैठकमा नेपाली कांग्रेसले सत्तागठबन्धनका दलहरूबीच मित्रवत् प्रतिस्पर्दा गर्ने प्रस्ताव राखेको छ ।
कांग्रेसले स्थानीय तहकै मोडलमा सहमति गर्ने मनसायसहित नयाँ प्रस्ताव राखेपछि माओवादी केन्द्र र समाजवादी पार्टीमा तरंग पैदा भएको छ ।

बिहीबारको गठबन्धनको बैठकमा कांग्रेसले सहमति भएका निर्वाचन क्षेत्रबाहेक सहमति नजुटेका क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने प्रस्ताव राखेको थियो । मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेसको प्रस्तावमा जसपाका नेताहरूको मौन समर्थन छ । जनमोर्चाको पनि त्यसमा खास असहमति थिएन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालले भने यो प्रस्तावसँगै अतालिएका छन् । उनीहरूले १६५ वटै निर्वाचन क्षेत्रमा सहमति जुटाउनुपर्ने माग राखेका छन् । असहमति पछि कांग्रेसले थप केही दिन छलफल गरौँ भनेर प्रस्ताव गरेको छ ।

कांग्रेसको शेखर कोइराला समूह गठबन्धनको विपक्षमा रहेको छ । उस्ले गठबन्धन गरे पनि नगरे पनि पार्टीभित्र आफूहरूलाई ४० प्रतिशतको टिकट हिस्सा खोजिरहेको छ । आ–आफ्नै अडानबाट टसमस नगरेका माओवादी र समाजवादीलाई तह लगाउन मित्रवत् प्रस्ताव गरेको कांग्रेसले उक्त प्रस्तावपछिको रियाक्सन बुझ्न आज फेरी सत्ता गठबनधनको बैठक डाँकेको छ ।