केपी ओलीलाई घमण्डीको संज्ञा दिए माधव नेपालले

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डीको संज्ञा दिएका छन् । बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीप्रति इंगित गर्दै घमण्डीको संज्ञा दिएका हुन् ।

उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै घमण्ड नरहेको उल्लेख गर्दै कोही भने धेरै घमण्डी भएको बताए । उनले मान्छेहरु पैसा, बल, ज्ञान, सत्ता वा कुनै कुराले घमण्डी बन्ने गरेको बताए ।उनले भने, ‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन, तर कोहीमा बढो अहंकार हुँदो रहेछ । त्यो घमण्डी नभएर अहंकार नभएर सरल जीवन बतिाउने कुरा ठूलो कुरा हो । मान्छेहरु पैसाको अहंकारले मात्तिएका हुन्छन्, कि सत्ताको अहंकारले मात्तिएका हुन्छन् ।

उनले थपे, ‘कि बलको अहंकारले मात्तिएका हुन्छन् । कि ज्ञानको अहंकारले मात्तिएका हुन्छन् । केही चिजले मात्तिएका हुन्छन् । क्वालिट भएर पनि विनम्र छ भने त्यो मान्छे नै सबैको पूज्य हुन्छ । स्व. थापा पनि त्यस्तै विनम्र हुनुहुन्थ्यो ।’अध्यक्ष नेपालले स्व. थापामा विद्वतासँगै विनम्रताको उदाहरण रहेको बताए ।