छोराछोरीको आत्मविश्वास बढाउन आमाबाबुले यी उपाय अपनाउनुहोस्

सबै अभिभावकहरू आफ्ना छोराछोरीहरूले असाध्यै उन्नती गरेको र हरेक क्षेत्रमा आत्मविश्वासी भएको हेर्न चाहन्छन् । यही कारणले गर्दा आजको जमानामा आमाबुवाले बालबालिकालाई प्रारम्भिक समयमा धेरै कुरा सिकाउन थाल्छन् । तर सिकाउने कुरासँगै अभिभावकले बालबालिकाको आत्मविश्वास बढाउन अन्य उपायहरूमा पनि ध्यान दिनुपर्छ । हामीले धेरैजसो अवस्थामा के देख्छौँ भने बच्चाहरु सानोमा त धेरै आत्मविश्वासी हुन्छन् तर क्रमशः प्रतिस्पर्धा र अन्य कारणले उनीहरुमा आत्मविश्वासको कमी हुन थाल्छ । त्यसैले आमाबुवाले आफ्नो बच्चामा आत्मविश्वासको कमी हुन नदिन र सुरुवाती समयमा नै बच्चालाई आत्मविश्वासी हुन सिकाउन आवश्यक छ । यसका लागि तपाईंले केही तरिका अपनाउन सक्नुहुन्छ ।

बच्चाको प्रशंसा गर्नुहोस्

जब बच्चाले राम्रो गतिविधि गर्छ, उसको प्रशंसा गर्नुहोस् । यदि तपाईंले उसको प्रशंसा गर्नुभयो भने, उसले फेरि राम्रो गतिविधि गर्ने प्रयास गर्नेछ, जसले उसको आत्मविश्वास बढाउनेछ । यसले बच्चालाई आफूमाथि विश्वास लाग्न थाल्छ र उसको आत्मविश्वास पनि बढ्न थाल्छ । तपाईंले केही वाक्य प्रयोग गरेर पनि उनीहरुको आत्मविश्वास बढाउन सक्नुहुन्छ :

– मलाई तिमी माथि गर्व छ

– तिमीले सबैकुरा गर्न सक्छौ

– तिमी धेरै बलियो छौ

– तिमीले यस्तो गरेर देखायौ है

बच्चालाई माया गर्नुहोस्

तपाईंले आफ्ना छोराछोरीका लागि समय निकाल्नुपर्छ र उनीहरूसँग प्रेमपूर्वक कुरा गर्नुपर्छ । तपाईंको गलत टोन र भाषाको कारण तपाईंको बच्चाले नर्भस महसुस गर्न सक्छन् । सकेसम्म उनीहरूसँग कुरा गर्नुहोस् र उनीहरूका प्रश्नहरूको जवाफ दिनुहोस् । आफ्ना बच्चालाई निकै चासो दिएर सुन्नुहोस् । यसो गर्दा बच्चाहरू सधैं आत्मविश्वासी हुन्छन् । तपाईं यी वाक्यहरू पनि प्रयोग गर्न सक्नुहुन्छ –

– चाहे जे सुकै होस् हामी तिमीलाई असाध्यै माया गर्छौँ

– हिँड सँगै प्रयास गरौँ

– म तिमीलाई सहयोग गर्न सधै अग्रसर छु

बालबालिकालाई नकारात्मक सोचबाट टाढा राख्नुहोस्

बच्चाहरूले आफ्नो वरपरको वातावरणबाट सिक्छन् । त्यसैले बालबालिकालाई नकारात्मक वातावरणबाट टाढा राख्नुहोस् र उनीहरुको अगाडि नकारात्मक शब्द प्रयोग नगर्नुहोस् । तिमीले सक्दैनौ, तिमी लड्नेछौ, तिमीलाई चोट लाग्नेछ – यस्ता वाक्यांशको प्रयोग नगर्नुहोस् । यसले तपाईंको बच्चामा नकारात्मक प्रभाव पार्नेछ । तपाईंले यसको साटो यस्तो वाक्य प्रयोग गर्न सक्नुहुन्छ –

– मसँग भन कि तिमी यो गर्न सक्छौ

– पूरा कोसिस गर

– कोसिस गर्नेहरुको कहिल्यै हार हुँदैन

– आफ्नो शत प्रतिशत देउ

बालबालिकाको आत्मविश्वास बढाउन यी उपायहरू अपनाउन सक्नुहुन्छ । यसले तपाईंको बच्चाको सिक्ने इच्छा बढाउनेछ । जुन उसको भविष्यको लागि राम्रो हुन सक्छ ।