एमालेले चुनावमा कति सिट प्रतिनिधि सभा सदस्य जित्ला

काठमाडौं, २ भाद्र । नेकपा एमाले सांगठनिक हिसाबले देशको सबैभन्दा बलियो पार्टी हो । एमालेको आधार भनेकै संगठित सदस्य हुन् जो प्रतिवद्ध भएर पार्टी नेतृत्वको निर्देशन बमोजिम चल्छन् । संगठित सदस्य नियमित लेबी पनि तिर्छन् ।

एमालेले २०४८ सालयताको चुनावमा हासिल गरेको नतिजाको मुख्य आधार संगठित सदस्य नै हो । उसले लोकप्रीय मुद्दा पनि उठाउने गरेको छ जसले चुनावमा असर पार्ने गरेको छ ।

बहुदल आएपछि देशमा अहिलेसम्म भएका ६ वटा संसदको चुनावमा एमाले दुईपटक पहिलो भएको छ । २०५१ र २०७४ मा उसको चुनावी परिणाम पक्षमा गयो । २०४८, २०५६ र २०७० को चुनावमा एमाले दोस्रो बन्यो । २०६५ सालको चुनावमा एमाले तेस्रो बन्यो ।

२०५१ मा एमाले संसदमा पहिलो दल बन्दा वामपन्थी तालमेल कतै कतै मात्र भएको थियो । एमाले एक्लै चुनाव लडेको जस्तो देखिन्थ्यो । २०७४ मा भने एमाले माओवादी र जनमोर्चा नेपालसँग तालमेल गरेर चुनाव लड्यो । हृदयश त्रिपाठीहरुको समूहसँग पनि तालमेल भएको थियो । एमालेले प्रत्यक्षतर्फ ८० सिट ल्याउन सक्यो ।

४ मंसिर २०७९ मा तय भएको संसदको चुनावमा एमालेलाई विगतभन्दा बढी चुनौती छ । यसअघि तालमेल गरेको माओवादी केन्द्र नेपाली काँग्रेससहितको चुनावी गठबन्धन बनाएर जाने तयारीमा छ । अर्कोतर्फ एमाले फुटेको छ । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम जस्ता हस्ती नेताहरु एमालेमा छैनन् ।

८० सिटमध्ये आधाभन्दा बढी सिटमा एमालेले तालमेलका कारण जितेको थियो । अब बाँकी ४० सिटमध्ये पनि २० सिट एमालेका लागि कठिन देखिन्छ । बाँकी २० सिट भने एमालेको पकड क्षेत्र मानिन्छ ।

एमालेलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती उत्तिकै छ । एमालेभित्रको भीम रावललगातका नेताहरुलाई पनि चित्त बुझाउनुपर्ने वाध्यता छ ।

यसकारण प्रत्यक्षतर्फ एमालेले विगतमा जस्तै ८० सिट जित्न फलामको चयुरा चपाउनु सरह हुने देखिन्छ । त्यसैले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजेन्द्र लिङ्देन, हृदयश त्रिपाठीलगायतसँग तालमेल गर्दैछन् । महन्थ ठाकुरलाई पनि समेटेर जाने प्रयासमा छन् । एमाले पूर्वपञ्चहरुसँग तालमेल गरेर जाँदा भने २० सिट जित्न सहज बन्न सक्छ । तर, बाँकी सिटहरुमा भने निकै कठिन बन्न सक्ने देखिन्छ ।