‘मैले सिंहदरबार पस्न नपाएर गेटबाटै फर्कनुपर्‍यो’ (भिडियो) : हर्क साम्पाङ

काठमाडौँ–

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आइतबार बिहानै काठमाडौँ आएर दिनभर राजनीतिक भेटघाटमा व्यस्त बने।

धरान उपमहानगरपालिकाका विकास निर्माणसँग सम्बन्धित विभिन्न माग संघीय सरकारलाई राख्ने उदेश्यका साथ आएका उनी दिनभर सिंहदरबारमा सम्बन्धित मन्त्रालयगत भेटघाटमा व्यस्त भए।

बिषेश गरी धरानको खानेपानी, सडक लगायतका समस्यामा केन्द्रित भएर सम्बन्धित मन्त्रालयमा उनले भेटघाट र छलफल गरे। भोलि सोमबार पनि उनी भेटघाटमै व्यस्त हुँदैछन्।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उठेर निर्वाचित भएका हर्कमाथि धरानबासीले विकास निर्माणका अपेक्षा राखेका छन्। हालसम्मको कार्यअनुभव, सिंहदरवारमा विभिन्न मन्त्रालयमा भेटघाटको उदेश्य र आगामी योजनाबारे देशसञ्चारकी ईश्वरी बरालले साम्पाङसँग गरेको कुराकानीको सम्पादित अंश।

काठमाडौँ किन आउनुभयो?
धरानका विकास निर्माणसँग सम्बन्धित समस्याहरु संघीय सरकारलाई सुनाउन आएको हुँ। आज दिनभर सम्बन्धित मन्त्रालयसँग छलफल भयो। भोलि पनि बाँकी कुरा गर्नु छ।

धर्ना पनि दिनुभयो कि छलफल मात्रै भएको हो?
धर्ना दिनु परेन, सौहाद्रपूर्ण वातावरणमा कुराकानी भयो। धर्ना दिनु पर्ने अवस्था आयो भने पनि दिन्छु।

स्वतन्त्रको हैसियतले धरान उपमहानगरको मेयर बनेको तपाईँलाई सिंहदरबार प्रवेशमा असहज त भएन नि?
भएन। अब त म आफै स्थानीय सरकार भएँ। मलाई अप्ठेरो हुने कुरा भएन। बरु म जनप्रतिनिधि नहुँदाखेरि सिंहदरबार प्रवेश गर्न नपाएर गेटबाटै फर्किनुपरेको नमिठो अनुभव थियो। हामीले एउटा गलत के बुझेका छौँ भने सरकार राजनीतिक दलको हुन्छ भनेर बुझेका छौँ तर सरकार जनताको हुन्छ भन्ने बुझ्नुपर्छ।

कुनै राजनीतिक दलबाट उठेको भए हुन्थ्यो पछुतो लागेको छैन तपाईलाई?
लागेको छैन। म स्वतन्त्र उठेर जितेकोमा मलाई कुनै किसिमको ग्लानि छैन। कुनै राजनीतिक दलमा नलागेको कारण आफूलाई सहज महसुस पनि गरिरहेको छु।

काठमाडौँमा आएपछि यहाँको फोहोरमैलाको बिषयमा बोल्नुभयो, जुन चर्चामा छ, काठमाडौँको फोहोर मैला व्यवस्थापनमा तपाईँले देखेको समाधान के हो?
महानगरपालिकाले संघीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ। यहाँ संघीय सरकार पनि छ जसले महानगरको समस्या समाधानमा ध्यान दिनुपर्छ। काठमाडौँमा फोहोर मैला झन् बढेछ। यो राम्रो देखिएन। फोहोर मैला व्यवस्थापनमा आएका अवरोधहरु हटाएर अघि बढ्न काठमाडौँ महानगरका मेयर बालेन शाहलाई मेरो सुझाव पनि छ।

संघ र प्रदेश चुनावमा उठ्न चाहने स्वतन्त्र उम्मेदवारहरुलाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ?
म सामान्य व्यक्ति हुँ। सुझाव त खासै मेरो केही पनि छैन। म आफूले सामान्य काम गरेजस्तो लाग्छ तर पनि खै किन हो धेरै चर्चा भएको छ मेरो। मैले खास केही गरेको छैन। गर्नुपर्ने काम गरेको छु। असल काम गर्नुस् जनताले चुन्छन् भन्न चाहन्छु।

पुराना नेता हटाएर नयाँलाई स्थापित गर्ने अभियानमा स्वतन्त्र उम्मेदवारहरु पनि छन्। त्यसमा तपाईँ सहभागी हुनुहुन्छ कि हुनुहुन्न? पुराना नेता हटाउने अभियान उपयुक्त हो कि हैन?
पुराना नेता हटाउने अभियानमा नै त म लागेको छैन। तर युवा पुस्ता र नयाँ नेतामा जोस हुन्छ तर्सथ नयाँलाई मौका दिनुपर्छ। पुराना नेता रिटायर्ड हुँदा राम्रो हुन्छ। पुराना नेतालाई सल्लाहकार राखेर नयाँलाई मौका दिनुपर्छ।

पुराना नेता हटाउँदैमा राष्ट्रिय राजनीति र मुलुकको विकास निर्माण हुन्छ भन्ने ग्यारेन्टी चाहिँ के हुन्छ?
ग्यारेन्टी नै त केही हुँदैन तर नयाँ पुस्ताले काम गर्छन्, उनीहरुमा जोस, जाँगर र क्षमता हुन्छ भन्ने हो। सबैभन्दा ठूलो कुरा इमान्दारी हो। पुराना नेताले काम गर्दा परिर्वतन आएन। जनतालाई विकासको स्वाद दिनुपर्छ।

तपाईँ धरानमा खानेपानी व्यवस्थापन, सडक निर्माण लगायतका माग राख्दै आवाज उठाउदै हिँडेको मान्छे आज माग सम्बोधन गर्ने ठाउँमा पुग्दा नीति नियम बनाउन, व्यवस्था बसाउन भन्दा पनि आफैँ काम गर्दै हिँड्नुभयो भन्ने आलोचना छ, यसमा के जवाफ दिनुहुन्छ?
काम ठूलो सानो हुँदैन। म नीति निर्माण पनि बनाउँछु, आफैँ काम पनि गर्छु, उपमहानगरपालिका सुधारको लागि म ढुंगा बोक्दै हिँडेको छु र मेरा पछि हजारौँ नगरबासी ढुंगा बोक्न आउनुभएको छ त, हैन र? म पदभार ग्रहण गरेको दोस्रो दिनमा झाडु बोकेर हिडेको छु। जनतासँग मैले ढुंगा बोकेको छु। मैले श्रम संस्कृतिको बिकास गरेको छु। आज धराने जनता आफैँ सकृय हुनुभएको छ। आफै पैसा पनि दिनुहुन्छ। खानेपानी आयोजनामा नगरबासीको सहयोग छ। मैले श्रम संस्कृतिको विकास गर्दा आलोचना नर्गनुस्। बरु म काठमाडौँका मेयर बालेन शाहलाई यो सुझाव दिन्छु कि तपाईँ फोहोर बोकेर आफै बन्चरेडाँडा पुग्नुस्। अन्य काठमाडौँ बासीले पनि साथ दिन्छन्।

स्वतन्त्र व्यक्तिमाथि राजनीतिकरण हावी भएको आरोप पनि छ, तपाईँलाई त्यस्तो महसुस भएको छ कि छैन?
मलाई समस्या भएको छैन। मलाई अप्ठेरोमा पार्दैमा अप्ठेरोमा पर्ने व्यक्ति पनि हैन। यदि राजनीतिक दलहरुले स्वतन्त्र उम्मेदवारलाई अप्ठेरोमा पारेको हो भने आगामी संघ र प्रदेशको निर्वाचनमा सबै राजनीतिक दलका उम्मेदवारले हारेर स्वतन्त्र व्यक्तिले जित्नुपर्छ।