झापा ३ः राजेन्द्र लिङ्देनका लागि ठाउँ खाली गर्लान् दुर्गा प्रसाईंले?

झापा – नेकपा एमाले झापा जिल्ला कमिटीले गत मंगलबार राष्ट्रवादी शक्तिहरूलाई आफ्नो पार्टीमा गोलबन्द हुन आह्वान गर्यो ।

चुनाव नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल एमालेले यो आह्वान गर्नु स्वाभाविक पनि हो ।

गज्जबको कुरा के छ भने, त्यही पार्टीका एक नेताले एमालेसँग चुनावी तालमेलको संभावना रहेको एउटा पार्टीका अध्यक्षको नाम नै किटान गरेर एमालेले उक्त दललाई कुनै सहयोग नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनी एमालेका तर्फबाट झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दिने इच्छा राख्नेमध्येमा पर्छन् ।

मडिकल व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईं अहिले सामाजिक सञ्जालमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले सहयोग गर्दैन भनिरहेका छन् ।

एमाले जिल्ला कमिटीका अध्यक्ष दिपककुमार कार्कीले विज्ञप्ति जारी गर्दै चुनाव नजिकिएसँगै वर्तमान गठबन्धन सरकारको क्रियाकलापबाट वाक्कदिक्क भएका तथा वामपन्थी शक्तिहरूले अघि सारेको समाजवादी आन्दोलनका पक्षधरहरूलाई एक ठाउँमा उभिन आह्वान गरे ।

कार्कीले जारी गरेको विज्ञप्तिमा गठबन्धन सरकारले राष्ट्रियतामा गम्भीर संकट उत्पन्न गर्ने गरी नागरिकता विधेयक जारी गरेको, देश आर्थिक संकट तर्फ धकेलिँदै गएको, एमाले सरकारमा रहँदा जागृत गरेको नेपाली जनताका विकासका सपनाहरु मुर्झाएका कारण विकासप्रेमी राजनीतिक दललाई एक ठाउँमा उभिन आग्रह गरिएको छ ।

देश गम्भीर संकटमा गुज्रिरहेको अवस्थामा राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा वैदेशिक हस्तक्षेप पनि बढेको कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

भारतीय सीमा अतिक्रमण बढेको, कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको चुच्चे नक्सा एमालेकै अगुवाईमा कायम गरिएको भए पनि गठबन्धन सरकारले भूभाग फिर्ता गर्ने कुनै पहल नगरेको एमाले झापाका अध्यक्ष कार्कीले बताएका छन् ।

त्यतिमात्र होइन राजनीतिको मूल सिद्धान्त नमिल्ने दलसंग पनि चुनावी तालमेलको संभावना रहेको उनले बताए ।

झापामा राप्रपासँग तालमेलको संभावना पनि रहेको उनको भनाइ छ ।

तर एमालेको जिल्ला नेतृत्वको यो आह्वान र संभावनालाई एमालेकै केन्द्रीय सदस्य दुर्गा प्रसाईंले ठाडै अस्वीकार अस्वीकार गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भिडियो सन्देशमा भनेका छन्, ’झापामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेले सहयोग गर्दैन ।’

उनले झापा क्षेत्र नं ३ बाटै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने इच्छा राखेको पार्टीका नेता तथा कार्यकर्ताले बताउँदै आएका छन् । उनका अभिव्यक्तिबाट ती कुरालाई प्रष्ट्याउँछ ।

राप्रपाका अध्यक्ष तथा वर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले पनि झापा क्षेत्र नं ३ बाट आफू कतै नजाने स्पष्ट पारिसकेका छन् ।

यस अघि पनि एमालेकै समर्थनमा उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। आफ्ना देवी देउता त्यतै रहेकाले त्यहीँबाट चुनाव लड्ने उनले बताइसकेका छन् ।

एमालेको जिल्ला कमिटीको आह्वान र त्यही पार्टीका एक जना नेताको सार्वजनिक अभिव्यक्तिले झापा क्षेत्र नं ३ मा उम्मेदवारीको खेल निकै रोचक हुने संभावना देखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा ५ मा राप्रपाको भोट खसाउन पनि पार्टी नेतृत्व झापा ३ मा राप्रपासँगको तालमेलको संभावना देख्छन् एमालेका केही नेता तथा कार्यकर्ता ।

एमालेसँगको सहकार्य हुन नसके राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनावी भिडन्त धेरै महंगो हुने देखिन्छ नै।

तर एमाले झापाले भने कुनै एउटा निश्चित क्षेत्रलाई मात्र नभइ समग्र जिल्लाकै निर्वाचन क्षेत्रहरूमा सहकार्यको आह्वान गरिएको जनाएको छ।