हामी नेता भ्रष्ट होइन्, पैसा नपाए भोटै नदिने जनता भ्रष्ट होः बर्षमान पुन

काठमाडौं । माओवादी केन्द्रका नेता बर्षमान पुनले नेपालका नेता नभई जनता नै भ्रष्ट भएको जिकिर गरेका छन् । प्राइभ टिभीमा बिहीबार बोल्दै उनले पैसा नदिए भोटै नदिने प्रवृत्ति रहेको स्वीकार गरे ।

पुनले भने, ‘युवा क्लबले पैसा माग्छ ठाडै । आमा समूहले पैसा माग्छ । अर्को समूहले पैसा माग्छ । हामीसँग यति भोट छ भनेर बार्गेनिङ गर्छ । त्यसकारण हामी नेता होइन्, जनता मतदाता पो भ्रष्ट भएछन् त । पैसा मागेपछि ऋण धन गरेर दिनैपर्यो ।’

चुनाव महंगो भएको स्वीकार गर्दै उनले त्यसरी चुनावमा बाँडेको पैसा उठाउन र चन्दा मागेको मान्छेको काम गरिदिनु नेताको बाध्यता हुने बताए ।

नेता पुनले यस पटक खर्च कहाँबाट ल्याउने भनेर नेता सबै आत्तिएको बताउँदै यस्तो बेलामा उद्योगी व्यवसायी पुँजीपतिसँग पैसा माग्ने र पछि उनीहरुको काम गरिदिने, कि पहिला सत्तामा हुँदा जम्मा गरेको पैसा खर्च गर्ने कि आफूले घरखेत बेचेर भए पनि पैसा निकाल्नु बाध्यता रहेको बताए । यो हटाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने पुनको तर्क छ ।