बालेनविरुद्ध खनिए वडाध्यक्ष, भने : बरु फोहोर बागमतीमा बगाइदिऔं

२६ साउन, काठमाडौं । फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै वडाध्यक्षहरुले काठमाडौं महानगगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको चर्को आलोचना गरेका छन् ।

बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले मेयर बालेन एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापन सम्बन्धी कामबारे जानकारी नदिएको भन्दै आलोचना गरेका हुन् । बिहीबारको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुले फोहोरको विषयमा मात्र छलफल गरेका थिए ।

वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले मेयरले एक्लै हिँड्न खोज्दा समस्या समाधान हुन नसकेको बताए । ‘मेयर साब मन्त्रालय जानुहुन्छ, सिसडोल जानुहुन्छ, कुन कुन ठाउँ जानुहुन्छ फोहोर सम्बन्धी कुरा गरिरहनुभएको छ’ उनले भने, ‘त्यो गर्दा आफ्नो टिमलाई लिएर जानुभएको छ ? हामीलाई मात्र होइन, फोहोर मैलाको टिमलाई सोध्दा पनि थाहा छैन भन्छन् ।’

उनले एक्लै हिँड्न भन्दा टिमसँग सहकार्य गर्न मेयर बालेनलाई आग्रह गरे । एक्लै जाँदा भन्दा टिमसहित जाँदा प्रेसर पर्छ’ उनले भने ।

मेयर असफल भए सिंगो महानगरपालिकाका जनप्रतिनिधि असफल हुने भन्दै स्वतन्त्र निर्वाचित भए पनि आफूहरु मेयरको साथमा रहेको केसीले बताए ।

पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि समिति बनाए पनि अहिलेसम्म त्यसको बैठक नबोलाइएकामा पनि उनले गुनासो गरे । निर्वाचित भएपछि फोहोर व्यवस्थापन नहुँदासम्म माला खादा लगाउँदिन भने पनि ७० दिनसम्म समस्या समाधान हुन नसकेको भन्दै केसीले मेयरको आलोचना गरे ।

‘उहाँले फोहोर व्यवस्थापन नहुँदासम्म माला खादा लाउँदिन भन्दा हामी खुशी थियौं, फोहोर व्यवस्थापन राम्रोसँग हुन्छ भन्ने लागेको थियो’ वडाध्यक्ष केसीले भने, ‘यत्रो दिन हुँदा पनि हुँदैछ हुँदैछ मात्र । के कारणले भयो ?’

कार्यपालिका सदस्यहरुले फोहोरले गर्दा काठमाडौंबासीले सुत्न पनि नसक्ने स्थिति आएको बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापन गर्न प्लान ए, बी र सी बनाएर काम गर्नुपर्ने बताए । महानगरपालिका कार्यपालिका सदस्यहरुले गाईजात्रा, इन्द्रजात्राजस्ता पर्व आइसकेकाले रातारात फोहोर नउठाए इज्जत जाने बताएका थिए ।

उपमेयर सुनीता डंगोलले पनि भोलि गाईजात्रा रहेकाले फोहोर मैलाको विषय गम्भीर रहेको बताएकी थिइन् । उनले फोहोर मैला व्यवस्थापनको लागि मेयरले निर्देशन दिन आवश्यक रहेको बताइन् ।

‘बागमतीमा बगाइदिऔं’

काठमाडौं महानगरपालिका ३० नम्बर वडाध्यक्ष दलबहादुर कार्कीले काठमाडौंबासी अब केन्द्र सरकारविरुद्ध लाग्न बाध्य भएको बताए । सरकारले नै महानगरलाई सहयोग गर्दैन भने फोहोर बागमतीमा बगाइदिनुपर्ने बताए । ‘मेयर साब अहिले गाडी निकाल्नुुस्, अहिले ट्रक लिएर त्यो युन पार्कबाट बागमतीमा फोहोर खन्याइदिउँ’ उनले भने, ‘काठमाडौंको मुख्य सडकमा फोहोर थुपार्ने कि टुँडिखेलमा लगेर राख्ने हो राखौं । तर फोहोर व्यवस्थापन तत्काल हुनपर्छ ।’

फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको वडाध्यक्ष कार्कीले बताए । ‘यहाँको सेना के हेरिराछ, प्रहरी के हेरिराछ । हामीलाई चैं असहयोग गर्ने ? अब अरु विकल्प छैन, काठमाडौंबासी सरकारविरुद्ध लाग्नुपर्छ ।’ उनलाई कार्यपालिकाका सदस्यहरुले धेरै नबोल्न अनुरोध गरेपछि मात्रै शान्त भएका थिए ।

फोहोर व्यवस्थापन गर्न आजै बैठक

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि बनाएको कार्यदलको बैठक बिहीबार नै बस्ने भएको छ । उपप्रमुख सुनीता डंगोलले कार्यपालिका वैठकमा फोहोरको विषय गम्भीर भएको भन्दै बैठक बस्नुपर्ने बताएका थिइन् ।

यस्तै अधिकांश कार्यपालिका सदस्यहरुले पनि समितिको बैठकबारे सबैलाई जानकारी गराउनुपर्ने बताएपछि मेयर बालेनले समितिको वैठक बिहीबार नै बस्नेगरी कार्यपालिका वैठक टुंग्याएका हुन् ।