६ जना मध्ये एक जना पूर्वप्रधानमन्त्रीले गरे संसदीय चुनाव नै नलड्ने घोषणा, आफ्नो क्षेत्रबाट युवालाई अघि सार्ने !

२६ साउन, काठमाडौं

अहिले नेपालका ६ पूर्वप्रधानमन्त्रीलाई संसदमा छिर्न नदिन नो नट अगेन अभियान चलिरहेको छ । यही अभियानकाबीच ६ मध्ये एकजना पूर्वप्रधानमन्त्रीले आसन्न चुनाव नलड्ने घोषणा सार्वजनिक रुपमै गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ बाट संघीय संसदको चुनाव नलड्ने युवालाई अघि सार्ने बताएका हुन् । बुधबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले आफ्नो भित्री चाहना गोरखाबाट चुनाव नलड्ने भएको बताए ।

मेरो भित्री चाहना गोरखा–२ बाट चुनाव नलड्ने छ, भट्टराईले भने, कोही युवालाई अवसर दिने चाहना छ । मनले खाएको उम्मेदवार पाए मात्रै आफू गोरखाबाट नउठ्ने उनले बताए ।

आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा कांग्रेससहितको गठबन्धन बनिसकेको छ। अर्कोतिर एमाले एक्लै चुनावी मैदानमा छ। एमाले पनि गठबन्धनको कसरतमा छ।

तर भट्टराई कुनै गठबन्धनमा पनि छैनन् । मंगलबार (२४ साउन) मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरि गठबन्धनमा आफ्नो हक लाग्ने बताउँदै उनले आफूहरु अहिले गठबन्धननै रहेको भट्टराईले बताएका थिए। गठबन्धनमा सहभागी हुन नसके गोरखाबाट चुनाव जित्न मुश्किल पर्ने देखेर भट्टराईले प्रत्यक्ष चुनाव नलड्न खोजेको विश्लेषण हुन थालेको छ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा भट्टराईले काङ्ग्रेससँग मिलेर एमाले(माओवादी केन्द्रका गठबन्धन उम्मेदवार नारायणकाजी श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका थिए।

गोरखा–२ मा ६० हजार ११७ मत खस्दा डा. भट्टराईले ३१ हजार ८०७ मत ल्याई विजयी हुँदा श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका थिए । डा. भट्टराई र श्रेष्ठबीचको मतान्तर ६ हजार ८७४ थियो।

डा. भट्टराई वि.सं. २०६४ को संविधानसभा निर्वाचनमा गोरखा २ र २०७० को मा १ बाट निर्वाचित भएका थिए। उसो त यता नेपाली कांग्रेस गोरखाले समेत यसपालि क्षेत्र नम्बर २ अरू पार्टीलाई छाड्न नसकिने प्रष्टाएको छ।

गोरखा पुगेर केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले यसपालि गोरखा क्षेत्र नम्बर २ अरूलाई छाड्न नसकिने बताए। पाँच वर्षअघि २०७४ मा गोरखा २ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई कांग्रेसले समर्थन गरेको थियो।

यसपालि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन गर्ने र गोरखामा एक(एक क्षेत्र बाँड्ने तयारी गरिएको पाण्डे बताउँछन्।

यो पनि हेर्नुहोस, आगामी निर्वाचनका लागि एमालेले बनायो विभिन्न समिति, भदौ पहिलो साता तीन तहको बैठक आह्वान

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको घोषणापत्र निर्माण र चुनावी परिचालन समिति गठन गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले ८ सदस्यीय चुनावी घोषणापत्र निर्माण समिति बनाएको छ । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनेको उनले बताए ।

परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहने गुरुङले बताए । यस्तै बैठकले एमालेले पार्टीका विभिन्न विभाग सचिव मनोनित गरेको छ ।

यता बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ ।

गुरुङका अनुसार स्थायी कमिटी बैठक भदौ सात गतेका लागि बोलाउने निर्णय गरेको छ भने ९ गते पार्टीको पोलिटब्युरो बैठक बस्ने छ । यस्तै केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने गुरुङले बताए ।