शेरबहादुरको गन्तव्य मेडम साहेब, प्रचण्डको सुपुत्री, माधवको गन्तव्य नै छैन: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन्।

आफ्नो पार्टीले सो निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको जिकिर थियो।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए।

सत्तारूढ गठबन्धन र यसका नेताहरूले देशलाई दुर्गतिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्‍याए।

उनले सत्तारूढ गठबन्धनका आबद्ध नेताहरूले आ–आफ्ना स्वार्थका लागि देशविरूद्ध जस्तोसुकै कुकर्म गर्न पनि पछि नपर्ने आरोप लगाए।

उनले भने, ‘मुख्य फोकस चाहिँ निर्वाचनको तयारीमा काम गर्ने हो। अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन। आगामी निर्वाचनमा हामीले हार्नै मिल्दैन। नेकपा एमालेका लागि त केही छैन। प्रतिपक्षमा बस्छ। प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ। देशको पक्षमा बोल्छ, आवाज उठाउँछ। राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ। आवाज उठाइरहन्छ। यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन। तर, एमालेले हार्दा देश हार्छ।’