एमाले बाघ हाे, मुलुकका सबै दल महागठबन्धन गरेर आए पनि हराउन सक्दैनन् : विष्णु पाैडेल

काठमाडौं।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले हनुमानजस्तो पार्टी भएको गुनासो गरेका छन् । बिहीबार ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले जडिबुटी ल्याउन भनेर पठायो भने पहाड नै बोक्ने तर पहाड बोकेको थाहा नपाउने अवस्थामा पुगेको बताएका हुन् ।

‘एमाले हनुमानजस्तो भैसक्यो । जडिबुटी ल्याएर आउनुस् भन्दा पहाड बोकेर आउँछ । तर पहाड बोकेको थाहा पाउँदैन । त्यस्तो भएको छ एमाले’, पौडेलले कार्यकर्ताहरुलाई भने, ‘विचार, संगठन र जनमतको तागत एमालेले थाहा पाउनुपर्यो । कटुता, वैमनस्यता हटाउँदै गतिशील बनाउँदै बलियो र व्यवस्थित पार्टी निर्माण गर्नुपर्छ ।’ उनले गठबन्धन मात्रै होइन महागठबन्धन भयो भनेपनि परास्त गर्ने जनमत निर्माण गर्नसक्ने तागत एमालेसँग रहेको पनि बताए ।

उनले एमालेको तागत देखेर नै अत्तालिएर मुलुकका ५ प्रकारका अरु शक्तिमध्ये ३ प्रकारका शक्तिहरु एक ठाउँ आएर एमालेविरुद्ध लागेको बताए । ‘नेपालको सवैभन्दा बलियो राष्ट्रिय शक्ति भएकाले यसलाई एक्लै जित्न नसक्ने भएकाले मुलुकमा भएका ५ प्रकारका प्रवृतिहरुमध्ये ३ प्रकारका प्रवृति एक ठाउँमा उभिएका छन् । एकातिर एमाले अर्कोतिर गठबन्धन यो अहिलेको राष्ट्रिय राजनीतिको शक्ति सन्तुलन हो’, पौडेलको भनाइ छ ।

उनले एमालेका नेता कार्यकर्ता र सदस्यलाई आफ्नो ताकत बुझाउनुपर्ने भएको भन्दै गतिशील पार्टी बनाउन जरुरी रहेको बताए । उनले एमाले आउने निर्वाचनमा सवैभन्दा ठूलो पार्टीका रुपमा निर्वाचित हुने दावी समेत गरे ।

यो पनि पढ्नुहोस
स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।

माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ । स्थानीय निर्वाचनबाट पहिलो दल बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।

तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘ नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।

त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।

स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन । तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी राजनीतिक परिदृश्य कस्तो होला भनेर आंकलन शुरु हुनु अस्वभाविक होइन ।