ओलीका पछि कसले पठायो गुप्तचरी ? फोन ट्यापिङ प्रकरण के हो ?

२० साउन,काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पछि सरकारले गुप्तचर पठाएको आरोप लगाएपछि सरकारले यसको खण्डन गरेको छ । सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष ओलीको जासुसीका लागि गुप्तचर नखटाइएको जवाफ दिएको हो । बिहीबार परराष्ट्र मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा ओलीले आफूविरुद्ध जासुसीका लागि सरकारले चारजना गुप्तचर नै परिचालन गरेको बताएका थिए ।

ओलीको उक्त भनाइको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खण्डन गरेका हुन्।

’केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु’, कार्कीले भनेका छन्, ’यस्तो भ्रममा कोही पनि नपर्नु हुन अनुरोध गर्दछु।’ कार्कीले कुनै नागरिकको गोप्य रुपमा फोन ट्यापिङ नगरेको पनि बताएका छन्। ’सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत छ’, उनले भनेका छन्, ’यसको सम्मान र सम्वर्द्धन गर्न प्रतिवद्ध छ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु।’ ओलीले बिहीबार नागरिकको वैयक्तिक जीवनमा सरकारले हस्तक्षेप गरेको भन्दै प्रश्न उठाएका थिए। ‘नागरिकको वैयक्तिक जीवनमै हस्तक्षेप गर्ने? अहिले सरकारले जनताको फोन नै ट्यापिङ गरिरहेको छ। यस्तो गर्न मिल्छ?,’ उनले भनेका थिए, ‘हेर्नुस् मेरो घर अघिल्तिर चारजना गुप्तचर राखेको छ सरकारले। राज्य संयन्त्रले मेराविरुद्ध गुप्तचर नै परिचालन गरेको छ। यसरी ब्ल्याकमेलिङ गर्ने? ब्ल्याकमेलर सरकार होइन त यो?’