देउवाको ज्योतिषीको सल्लाह : चुनावमा लागि ४ मंसिर उत्तम

१७ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ को मिति उपयुक्त हुने सुझाव दिएका छन् ।

मंसिर पहिलो साता निर्वाचनको लागि उपयुक्त रहेको रिजालले अनलाइनखबरलाई बताए । ‘मंसिर १० पछि शुक्लपक्षको समय छ । त्यो बेला निर्वाचन गर्दा थोरै समस्या होला’, उनले भने, ‘मैले भनेकै दिन निर्वाचन हुन्छ नै भन्ने त होइन । मंसिरको पहिलो साता उपयुक्त छ । त्यसमा मंसिर ४ सबैभन्दा उत्तम दिन हुन्छ ।’

मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको रिजाल बताउँछन् । पुष्कर योग भएको दिनमा गरिएको कार्यले संयुक्त सरकारका दलहरुलाई बढी लाभ मिल्ने उनको भनाइ छ ।

‘अहिले दुई भन्दा बढी दल मिलेर नै सरकार चलाउने योग हो । गठबन्धन अघि बढाउन दुई पुष्कर योग भएको दिनमा निर्वाचन गर्नु राम्रो हुन्छ’, रिजालले भने । त्यसपछिका अन्य शुभ दिनमा मंसिर ८ र १० गते रहेको उनको भनाइ छ ।

असार २२ मा निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री देउवालाई मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएको थियो । सोही छलफलमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मंसिर ४ गते आइतबार मतदानका लागि उपयुक्त हुने धारणा राखेका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले प्रधानमन्त्रीको ज्योतिषीको सुझाव अनुसार नै मंसिर ४ गते निर्वाचनको प्रस्ताव गरेका हुन् । आयोगका पदाधिकारीसँगको छलफल अघि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित आफू निकट नेताहरुसँग छलफल गरिसकेका थिए । त्यस क्रममा निर्वाचनको साइतको विषयमा पनि छलफल भएको स्रोतको दावी छ ।

आयोगका पदाधिकारीसँगको छलफलका क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गृह सचिवकै धारणामा सहमति जनाएका थिए । मंसिर २ शुक्रबार मुस्लिम समुदायको नमाज पढ्ने दिन हुनाले दुई दिन पछि सार्न उपयुक्त हुने उनीहरुको सुझाव थियो । प्रधानमन्त्री देउवाले पनि मिति घोषणाका क्रममा एक÷दुई दिन यताउता भए अन्यथा नलिन आयोगका पदाधिकारीलाई आग्रह गरेका थिए ।

निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्नुमा प्रधानमन्त्री पत्नी आरजु राणा उपचारका क्रममा भारत रहनु तथा अर्थमन्त्रीको पुनर्बहालीलाई पर्खनु पनि कारण रहेको स्रोतको दाबी छ । आइतबार आरजु स्वदेश फर्केकी छन् भने जनार्दन शर्माले अर्थमन्त्रीमा पदबहाली पनि सोही दिन गरेका छन् ।

सरकारले सोमबार निर्वाचन मिति तोक्ने अपेक्षा गरिएको थियो । तर, मन्त्रिपरिषद्को नियमित बैठक बसेन । अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

प्रधानमन्त्री देउवाका विश्वासपात्र तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रेस युनियनको कार्यक्रममा बोल्दा मंसिर ४ निर्वाचन हुने बताइसकेका छन् ।

प्रधानमन्त्री देउवाले विगतमा पनि महत्वपूर्ण निर्णय रिजाललाई शुभ साइत हेराएर लिने गरेका छन् । २०७४ कात्तिक ३० गते धनगढीमा पत्रकारहरुसँगको कुराकानीमा देउवाले ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुने बताएको उल्लेख गरेका थिए ।

देउवाले प्रधानमन्त्रीको शपथ, प्रधानमन्त्रीको निवासमा सर्ने तथा विश्वासको मत लिने दिन र समय पनि ज्योतिषी रिजालले साइत हेरेर तय गरेका थिए । २०७८ को असार २९ मा शपथ लिन रिजालले अपरान्ह ३ ः ३७ देखि ५ः१७ को समय उत्तम रहेको सुझाव दिएका थिए ।

ज्योतिषी तथा वास्तुविद् रिजाल यो गठबन्धन २०८१ सालसम्म रहने दावी गरेका छन् ।