सब्सिच्युट भएपछि रोनाल्डो किन स्टेडियमबाटै हिँडे ?

१६ साउन, काठमाडौं । सबैखाले शंकाहरुलाई चिर्दै सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आइतबार राभो भालेकानो विरुद्ध म्यानचेष्टर युनाइटेडका लागि खेले ।

ओल्ड ट्राफोर्डमा भएको उक्त खेल १-१ को बराबरीमा सकियो । नयाँ सिजन सुरु हुनुअघि युनाइटेडको प्रि सिजनमा यो नै अन्तिम खेल थियो । युनाइटेडले यसअघि एसिया भ्रमण गर्दा पारिवारिक कारणले गर्दा टिममा नरहेका रोनाल्डो गत साता युनाइटेड पुगेर टिमको प्रशिक्षणमा सहभागि भएका थिए ।

समर्थकहरुले उनलाई घरेलु मैदानमै खेलेको हेर्न पाए । तर केही दर्शकहरुले उनलाई स्टेडियम बाहिर पनि देख्न भ्याए ।

पहिलो रोजाईँमा रहेर खेलको सुरुवात गरेका रोनाल्डो दोस्रो हाफमा परिवर्तन भए । प्रशिक्षक एरिक टेन हागले रोनाल्डोको स्थानमा दोस्रो हाफको सुरुमै अमाद दियालोलाई मैदान प्रवेश गराए । परिवर्तन भए लगत्तै उनी स्टेडियमबाटै बाहिरिए ।

युनाइटेडको एसिया टुरमा समावेश नभएकोले पनि प्रशिक्षक टेन हागले उनलाई फिल्डमा पूरा समय खेल्न नदिएको अनुमान गरिएको मार्काले जनाएको छ ।

प्रायजसो प्रशिक्षकले नयाँ सिजनका लागि खेलाडीहरु तयार गर्न प्रि सिजनमा सबै खेलाडीलाई अवसर दिने गर्छन् ।

तर रोनाल्डो भने पुरा समय मैदानमा खेल्न नपाउँदा स्टेडियम नै छाडेर हिँडे । रोनाल्डोले खेलको फोटो पोष्ट गर्दै मैदानमा फर्कँदा खुशी भन्दै क्याप्सन लेखेका छन् । त्यसमा दर्शकहरुले नकरात्मक प्रतिक्रिया समेत दिएका छन् । उनले प्रशिक्षकसँग सोधेर मैदान छाडेका हुन् वा आक्रोशित भएर बाहिर गएका हुन् भन्ने प्रष्ट भइसकेको छैन ।