लिम्पियाधुरासहितको नक्सा ल्याएपछि प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् ।

काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा उनले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको टिप्पणी गरेका हुन् ।

‘… त्यसलाई सुगौली सन्धिमा महाकाली पारीको भूभाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्बाबाट त्यो भूभाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि त्यतिबेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । मलाई प्रधानमन्त्रीबाट हट्नुपर्नेछ’ उनले भने, ‘नभन्दै हट्नुपर्‍यो पनि ।’

सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको ओलीले बताए ।

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि पनि प्रधानमन्त्रीबाट हट्नुपरेको बताए ।

‘प्रधानमन्त्रीबाट हटेकामा पीर होइन, देश कता जाँदैछ, त्यसमा पीर लागेको छ’ पूर्वप्रधानमन्त्री ओलीले भने ।