युवा अवस्थामै डिमेन्सिया : अस्तव्यस्त जीवनशैलीको असर

काठमाडौं । सामान्यतया वृद्ध उमेरमा अल्जाइमर रोगका कारणले डिमेन्सिया (बिर्सिने समस्या) हुने चिकित्सकको मान्यता छ । विशेषगरी ६५ वर्ष उमेर कटेका मानिसमा देखिने यो समस्या नेपालमा पछिल्लो समय त्योभन्दा कम उमेरका मानिसमा देखिने गरेको विज्ञ चिकित्सकले औंल्याएका छन् ।

देशभरिबाट रेफर हुने वीर अस्पतालको न्युरोलोजी विभागमा कम उमेरमै डिमेन्सियाको समस्या लिएर आउने बिरामी उल्लेखनीय संख्यामा रहेको विभागीय प्रमुख न्युरोलोजिस्ट डा. सुनिल कोइरालाको अनुभव छ ।

कति जनामा कम उमेरमै डिमेन्सिया देखापरेको छ भन्ने यकिन अध्ययन नभए पनि अस्पतालमा आउने बिरामीको स्थिति हेर्दा कम उमेरमा यो समस्या देखिने क्रम बढिरहेको कोइराला बताउँछन् ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

डा. कोइरालाका अनुसार विभागमा मासिक उपचारमा आउने औसत ७० जना डिमेन्सियाका बिरामीमध्ये तीन जना युवा उमेरका हुन्छन् । यो हिसाबले वार्षिक ३६ जना युवा उमेरमै डिमेन्सियाबाट पीडित हुन्छन् । कम उमेरमै डिमेन्सियाको समस्या हुने बिरामी चिकित्सकका लागि चासोको विषय बनेका छन् ।