एसईईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । यसका लागि दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ ।

यसअघि मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो ।
विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दु:ख पाउने गरेकाले यस पटक नतिजाअघि नै अधिकतम जाँच गरिएको परीक्षा नियन्त्रक रायमाझीले बताए ।

यसपटक कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।

एसईईको नतिजा results.ekantipur.com लगअन गरी हेर्न सकिने छ । यस्तै Result लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर राखी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।