नारायणकाजीको गुनासो: मैले बोल्दा भन्दा ओलीले बोल्दा झन जोडले ताली किन पड्काईयो ?

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूले वामएकताकाे विषयमा बोल्दा भन्दा ओलीले एकताक विरुद्धमा बोल्दा धेरै जोडले ताली पड्काएको भन्दै दुख पोखेका छन् ।

उनले एकताको विरुद्धमा अभिव्यक्ति दिँदासमेत एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे समर्थनमा कार्यकर्ताहरूले चर्काे स्वरमा ताली बजाएकाे भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लामाे स्टाटस लेख्दै श्रेष्ठले आफूले वामएकताकाे पक्षमा भाषण दिँदा ताली बजाएका कार्यकर्ताले ओलीले वामएकतामा ठेस पुग्ने गरी अभिव्यक्ति दिँदा अझ चर्काे गरी ताली बजाइएकाे भन्दै आपत्ति जनाएका हुन् ।

शनिबार ‘नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो’ सम्बन्धी कार्यक्रममा ओली र श्रेष्ठ दुवै सहभागी थिए । उक्त कार्यक्रममा श्रेष्ठले कमजाेरी सच्याएर आत्मालाेचित हुँदै वामएकताकाे पक्षमा उभिनुपर्ने अभिव्यक्ति दिँदा ओलीले नेपालमा अर्काे वाम शक्ति कुन छ भन्दै प्रश्न गरेका थिए । साेही प्रसंगलाई श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत थप प्रष्ट पार्दै आजकाे आवश्यकता वाम तालमेल र एकता नै रहकाे बताएका छन् ।

‘हिजाेकाे कार्यक्रममा वामपन्थी शक्तिहरू बीचको तालमेल, मोर्चा र एकताको आवश्यकता रहेको मैले औँल्याएको थिएँ । त्यस क्रममा मैले सबै सम्बन्धित पार्टी र नेताहरूलाई देश, जनता र वाम आन्दोलनलाई केन्द्रबिन्दुमा राख्दै विनम्रतापूर्वक आत्मालोचना गरी त्यस दिशामा अघि बढ्ने अग्रसरता तथा पहलकदमीको निम्ति अनुरोध गरेको थिएँ’, श्रेष्ठ अगाडि लेख्छन्, ‘त्यही कार्यक्रममा पछि बोल्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘को छ अरु वामपन्थी पार्टी’ भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो ।

ओलीले प्रम हुँदा संविधानको प्रावधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयतामाथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन ।’

‘त्यसक्रमा मैले आम नेता, कार्यकर्ता र बुद्धिजीवीलाई आफ्नो पक्षकाे अन्धतापूर्वक समर्थन र वकालत गर्ने वकिल जस्तो मात्र नबनी आलोचनात्मक चेतयुक्त बनौँ र ठीकलाई ठीक बेठीकलाई बेठीक भन्ने साहस तथा संस्कृति प्रदर्शन गरौँ भन्ने अपील पनि गरेको थिएँ । मैले आत्मालोचक भई वाम तालमेल र एकता गरौँ भन्ने प्रस्ताव राख्दा र वकिल जस्तो मात्र नहुन उपरोक्त अपिल गर्दा समेत हलमा उपस्थित श्रोता सहभागीले कर्तल ध्वनीका साथ ताली बजाएर समर्थन गर्नु भएको थियो’, श्रेष्ठले अगाडि लेखेका छन्, ‘तिनै श्रोता सहभागीले ओलीले अहंकारको प्रदर्शन गर्दै वामएकतामा ठेस पुग्ने गरी बोल्दा पुन: अझ जोडले ताली बजाउनु भयो । यसले वाम तालमेल र एकतालाई सहयोग पुर्‍याँउछ त ?’

‘फेरि पनि म भन्छु, राजनीतिलाई व्यक्ति वा समूह स्वार्थकेन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो । त्यसका निम्ति सम्बन्धित सबैले गम्भीर आत्मालोचक भावसहित इमान्दार अग्रसरता देखाउनुपर्छ ।बेलैमा बुद्धि पुर्‍याऔँ, नत्र धेरै ढिलो भइसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बाँकी होला कि ! समयमै सोचौँ’, श्रेष्ठले भनेका छन् ।