के अन्तरिक्ष यात्रीले चुरोट पिउन पाउँछन् ?

मानिसहरू अन्तरिक्षमा बस्नु पृथ्वीमा बस्नु जस्तो सजिलो छैन । पृथ्वीमा सजिलैसँग गर्न सकिने अनेक कामहरू अन्तरिक्ष यान तथा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा गर्न पाइँदैन वा बन्देज लगाइएको हुन्छ ।

त्यसमध्ये एउटा कार्य चुरोट पिउनु पनि हो, जुन स्पेस स्टेशनमा प्रतिबन्धित हुन्छ । अन्तरिक्ष यात्रीहरूलाई इन्टरनेशनल स्पेस स्टेशनमा चुरोट पिउन सख्त मनाही छ ।

स्पेस स्टेशनमा मात्र होइन मर्करी, जेमिनी, अपोलो वा कुनै पनि अन्य अन्तरिक्षयानमा समेत कहिल्यै धूम्रपान गर्ने अनुमति थिएन ।

अन्तरिक्ष यात्रीहरू आफ्नो सामान्य जीवनमा धूम्रपान गर्न वा नगर्न सक्दछन् । तर अन्तरीक्षयान तथा स्पेस स्टेशनमा धूम्रपानको अनुमति छैन । वास्तवमा आगलागीको डरका कारण स्पेस स्टेशन तथा यानमा धूम्रपान गर्न दिइँदैन । यदि यान तथा स्टेशनमा आगलागी भयो भने त्यसले धनजनको क्षति मात्र होइन पूरै मिसन तथा वर्षौंको मेहेनतलाई खरानी बनाउँदछ ।

आगो बल्नका लागि सबैभन्दा महत्वपूर्ण चिज अक्सिजन हो, जुन स्पेस स्टेशनमा प्रचुर मात्रा तथा शुद्ध रुपमा रहेको हुन्छ । यस्तोमा यदि त्यहाँ आगो लाग्यो भने आगो निभाउन निकै कठिन हुन्छ ।

त्यस्तै चुरोटमा खतरनाक रसायनहरू जस्तै निकोटिन, कार्वन मोनोअक्साइड तथा टार जस्ता पदार्थहरू हुन्छन् जसले स्पेस स्टेशनका मेसिनलाई बिगार्न सक्दछन् ।

चुरोटको धुवाँले स्पेस स्टेशनको आयु पनि कम हुने जोखिम रहन्छ र स्टेशनमा रहेको बहुमुल्य अक्सिजन फिल्टरमा पनि असर गर्दछ । साथै धूम्रपान जस्ता खराब आनीबानीका कारण अन्तरिक्षमा कोहीपनि अन्तरिक्षयात्र बिरामी नपरोस् भन्ने स्पेस एजेन्सीहरूको चाहना हुन्छ ।

एजेन्सी