छिटो जन्ती निकालेको भन्दै बेहुला विरुद्ध मुद्दा !

१९ असार, काठमाडौं । बिहेमा केही न केही अनौठो र रोचक घटना त भइ नै हाल्छ । भारतमा एउटा बिहेमा यस्तै घटना भएको छ । त्यहाँ बेहुला विरुद्ध उनकै साथीले मुद्दा हालेर ५० लाख भारु क्षतिपूर्ति माग गरेका छन् ।

बेहुला विरुद्ध आफ्नै साथीले क्षतिपूर्ति माग गरी मुद्दा हाल्नुका कारण पनि रोचक नै छ । समाचार अनुसार भारतको हरिद्वारमा उक्त घटना भएको हो । स्थानीय बहादुरवाद गाउँका रवि नामका युवाको बिहेको जन्ती निर्धारित समयभन्दा अगावै निस्किएपछि त्यसको झोँकमा उनका साथीले मुद्दा हाले र ५० लाख भारु क्षतिपूर्ति माग गरेका छन् ।

रविले आफ्नो बिहेको कार्ड बाँड्नका लागि उनका साथी चन्द्रशेखरलाई खटाएका थिए । चन्द्रशेखरले नै रविका अन्य साथीहरु तथा आफन्तहरुलाई जन्ती जानका लागि निम्तो गरिएका कार्ड बाँडे । बिहेको कार्डमा बेलुकी ५ बजे जन्ती निस्कने समय तोकिएको थियो ।

पाहुनाहरु पनि सोही समयमै बेहुलाको घरमा पुगे । तर बेहुला सहितको जन्ती त अगाडि नै निस्किसकेको रहेछ । त्यसपछि जन्ती जानका लागि पुगेका पाहुनाहरु रिसले आगो भए । उनीहरुले कार्ड बाँड्ने काममा खटिएका चन्द्रशेखरलाई तथानाम गाली गर्न थाले ।

उता बेहुला रविलाई यो कुराको जानकारी हुँदा समेत उनले माफी माग्नुको साटो जन्ती जान बोलाइएका पाहुनाहरुलाई उल्टै हप्काएर आ आफ्नो घर फर्किन भने ।

यो घटनाबाट बित्थामा गाली खाएर अपमानित हुन पुगेका चन्द्रशेखर स्तब्ध भए । बेहुलाकै कारण आफ्नो अपमान र मानहानी भएको र आफुलाई अपूरणीय क्षति पुगेको भन्दै उनले बेहुला रवि विरुद्ध मानहानीको मुद्दा हालेका छन् ।

चन्द्रशेखरले बेहुलासँग ५० लाख भारु क्षतिपूर्तिको माग पनि गरेका छन् । यसका लागि उनले एकजना वकिलको सहयोग लिएका छन् । अदालतमा उनले दायर गरेको मुद्दामा बेहुला रविलाई ३ दिनभित्र माफी मगाउन पनि माग गरिएको छ । एजेन्सीको सहयोगमा